नेकपाको निर्णय : माओवादीसँग एकताको ढोका खुला, कार्की सरकार विदेशीको कठपुतली
सारांश
- विप्लव नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकारलाई विदेशी कठपुतली सरकारको आरोप लगाएको छ।
- पार्टीले संसदलाई ब्युँताए अर्को विद्रोह निम्तिने भन्दै सर्वपक्षीय सरकार बनाउनुपर्ने निर्णय गरेको छ।
- बैठकले नयाँ कम्युनिस्ट केन्द्र बनाउने र माओवादी लगायतका पार्टीसँग एकताको ढोका खुला राख्ने निर्णय गरेको छ।
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुशीला कार्कीको अन्तरिम सरकारलाई विदेशीले बनाइदिएको कठपुतली सरकार भएको निष्कर्ष निकालेको छ ।
असोज २५–३० सम्म कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले कार्की सरकार कठपुतलीको आरोप लगाएको हो ।
भदौ २३ र २४ गते विध्वंस हुनुमा आन्तरिक र बाहिरी दुई मुख्य कारण भएको पार्टीले विश्लेषण गरेको छ । महासचिव नेक्रविक्रम चन्द विप्लवले ‘विशेष परिस्थितिको विशेष कार्यभार’सम्बन्धी राजनीतिक प्रतिवेद पेस गरेका गरेका थिए । सरकारप्रतिको धारणा, जनसंघर्षका कार्यक्रम, राष्ट्रियता, नयाँ कम्युनिस्ट केन्द्रको गठन, पछिल्लो राजनीतिक परिस्थितिबारे विप्लवले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित गरेको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।
‘भ्रष्टाचारविरुद्ध जेनजी आन्दोलनभन्दा पहिले गरिरहेका शक्तिहरूलाई बाइपास गरी बनेको निर्दलीय सरकार हो । विदेशी कठपुतली सरकार हो । बाहिरी कारण अन्तर्राष्ट्रिय शक्ति संघर्षको बाछिटा छ । विभिन्न शक्ति केन्द्रहरूले आफू अनुकुलले कब्जा जमाउन खोजेका छन् । पश्चिमाहरूको आशीर्वादमा बनेको सरकार हो । आन्तरिक रुपमा सरकारमा रहेका दलहरूको विकृति, विसंगती, भ्रष्टाचार, अलोकतान्त्रिक चरित्र आन्तरिक कारण हो’, रातोपाटीसँग बैठकले गरेको निर्णय सुनाउँदै विरहीले भने ।
बैठकले असफल सिद्ध भएको संसदलाई ब्युँताए अर्को विद्रोह निम्तने भएकाले राजनीतिक दलको नेतृत्वमा देशभक्त, वामपन्थी र प्रगतिशिलहरू सहभागी हुनेगरी सर्वपक्षीय सरकार गर्नुपर्ने निर्णय गरेको छ ।
उनले भने, ‘असफल संसदलाई ब्युँताउने प्रयास गर्यो भने फेरि अर्को खालको असन्तुष्टि र विद्रोह निम्तिन्छ । समस्या दोहोरिन्छ । यसको निकासका लागि राजनीतिक पार्टीको नेतृत्वमा भ्रष्टाचारमा नमुछिएका व्यक्तिको नेतृत्वमा सर्वपक्षीय गठन गर्नुपर्छ । देशभक्त, वामपन्थी र प्रगतिशिल पार्टी सहभागी हुनुपर्छ । त्यसले संविधान संशोधन गरेर जनपक्षीय जनप्रतिनिधि छनोट गरी त्यसको आधारमा नयाँ संविधान बनाउनुपर्छ ।’
यस्तै बैठकले नयाँ कम्युनिस्ट केन्द्र बनाउने निर्णय गरेको छ । भ्रष्टाचारमा नमुछिएको राजनीतिक व्यक्तिको नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाउन खुला रहेको विरहीले बताए ।
‘नयाँ कम्युनिस्ट केन्द्र बनाउने निर्णय भएको छ । कम्युनिस्ट केन्द्रमा विभिन्न वामपन्थी र कम्युनिस्ट पार्टी सहभागी हुन्छ । नेकपाकै नेतृत्वमा पनि गठन हुनसक्छ । अथवा भ्रष्टाचारमा नमुछिएको, कलंकित नभएको अर्को कुनै राजनीतिक पार्टीका नेताको नेतृत्वमा पनि हुन सक्छ । यसबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी बसेर टुंग्याउने विषय हो’, उनले भने, ‘माओवादीसँगको एकता गर्ने सम्बन्धमा राजनीति, विचार, सिद्धान्त, कार्यदिशामा बहस भएको छैन । यो बहस जहिले हुन्छ, त्यतिबेला एकता हुन्छ । यद्यपि एकताको ढोका खुला छ । तर एकता गर्नुपर्ने पक्षमा निर्णय गरेको छ । माओवादी, एकीकृत समाजवादी र महिन्द्र यादवको पार्टीसँग कात्तिकमा एकता हुन्छ होला । हामीसँग एकताको हिसाबले कुनै छलफल भएको छैन ।’
यसैगरी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, माओवादीका सचिवालय सदस्य जनार्दन शर्मा लगायतसँग छुट्टै एलाइन्स हुने सम्भावना नभएको उनले जानकारी दिए । पार्टी नेतृत्वभन्दा उनीहरु अलि बढी क्रान्तिकारी हुन् कि भन्ने हाम्रो निष्कर्ष रहेको विरहीले बताए ।
जनसंघर्षका कार्यक्रम स्थायी समिति बैठकले टुंग्याउने निर्णय भएको पनि उनले बताए । उनले संघर्षका कार्यक्रम तिहारलगत्तै हुने जानकारी दिए । निर्वाचनमा भाग लिने सम्बन्धमा निर्वाचन आयोग तयार देखिए पनि सरकारले नै सुरक्षा दिन्छौँ नभनेकाले निर्वाचन नहुने निष्कर्ष निकालेको छ ।
‘यो हुने निर्वाचन नै होइन, विदेशीको कठपुतली सरकार भएको हुनाले दलका प्रतिनिधिलाई निर्वाचित हुन पनि दिँदैन । नहुने निर्वाचनको के कुरा गर्नु ?’, उनले भने । केन्द्रीय समितिले गरेका निर्णयहरू महासचिव विप्लवको उपस्थितिमा कात्तिक २ गते काठमाडौँमा सार्वजनिक गर्ने निर्णय पनि भएको विरहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण