बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

सेनाको प्रस्टीकरण : सिंहदरबार जोगाउने प्रयास नभएको होइन

लेथल हतियार प्रयोग गर्दा ठुलो मानवीय क्षति हुने विश्लेषण
शुक्रबार, ३१ असोज २०८२, १७ : ४९
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी हुँदा सेनाले रोक्न प्रयास नगरेको आरोपबारे जङ्गी अड्डाले प्रस्टीकरण दिएको छ।
  • सेनाका अनुसार, प्रदर्शनकारीहरूले चारैतिरबाट सिंहदरबार छिरेपछि ठूलो मानवीय क्षति हुने अवस्था आएको थियो।
  • सेनाले सिंहदरबारभित्रका महत्त्वपूर्ण तीन ठाउँहरू, जस्तै राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डाटा सेन्टर जोगाउन प्रयास गरेको थियो।

काठमाडौँ । जेनजी आन्दोलनमा सिंहदरबारमा आगजनी हुँदा त्यसलाई रोक्न सेनाले कुनै पहल नगरेको भनेर आलोचना भएपछि त्यसबारे जङ्गी अड्डाले प्रस्टीकरण दिएको छ । सिंहदरबार जोगाउन प्रयास नै नभएको तथ्य सेनाले अस्वीकार गरेको छ ।

भदौ २४ मा भएको प्रदर्शनमा न्यूनतम शक्ति प्रयोग गर्दा अराजक भिड नहटेको सेनाको युद्धकार्य विभागका प्रमुख ‘उपरथी’ अनुपजंग थापाले बताए । जङ्गी अड्डामा पत्रकारहरूसँग कुरा गर्दै थापाले भने– ‘सिंहदरबार जोगाउन ४६ राउन्ड हवाई फायर र आन्दोलनकारीलाई धकेलेर दुई पटक गेट बाहिर पठाएको अवस्था छ ।’

तर, आक्रोशित प्रदर्शनकारी चारैतिरबाट सिंहदरबार छिरेपछि कन्ट्रोल गर्न नसकिएको उपरथी थापाले बताए । चारैतिरबाट प्रदर्शनकारी छिरेपछि ठुलो मानवीय क्षति हुने अवस्था आएको सेनाको विश्लेषण छ । उपरथी थापा भन्छन्– ‘चारै दिशाबाट आक्रोशित जनशक्ति छिरेपछि ठुलो मानवीय क्षति हुने अवस्थामा बाहेक सिंहदरबार नजोगिने अवस्था देखियो ।’

लेथल हतियार प्रहार गर्दा धेरै मानवीय क्षति हुने विश्लेषण गरिएको उल्लेख गर्दै थापाले भने– ‘त्यसैले हामी मानवीय क्षति हुन नदिनेमा गयौँ ।’ राष्ट्रिय संरचनामा क्षति हुनु दुःखद भएको थापाले बताए ।

जेनजी प्रदर्शनमा सेनाले सिंहदरबार भित्रका महत्त्वपूर्ण ३ ठाउँलाई फोकस गरेको थियो । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, रक्षा मन्त्रालयमा भएका महत्त्वपूर्ण कागजात र अर्थ मन्त्रालयको एलएमबीआईएस डेटा सेन्टर जोगाउन फौजलाई केन्द्रित गरिएको उपरथी थापाले बताए । उनले भने– ‘अर्थ मन्त्रालयको डाटा सेन्टर जोगाउन हाम्रो सहायक रथी नै खटिनुभएको थियो ।’

ती तिनै वटा निकायलाई बल्लबल्ल जोगाइएको थापाले बताएका छन् । उनले भने– ‘हाम्रो सहायक रथी धुवाँको दाग सहित अर्थ मन्त्रालयबाट कार्यालय फर्केर आउनुभएको थियो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप