कार्वनफुटप्रिन्ट र उत्सर्जित शङ्का
सारांश
- एक व्यक्ति एलीसँग कार शेयर गरी लण्डन गए, जहाँ वातावरण सेमिनारमा भाग लिए।
- घरमा श्रीमती रिसाएको र सहकर्मीले कुरा नगरेकोले वातावरण संरक्षण गाह्रो भएको अनुभव गरे।
- फोहोर पानी प्रशोधन केन्द्र र कार्वन उत्सर्जनबारेको चिन्ता र श्रीमतीसँगको सम्बन्धबारे कथा छ।
मिर्मिरे बिहानीमा एली कार लिएर आइन् । हामी लाग्दै गरेको आजको गन्तव्यस्थानको बाटैमा पर्छ मेरो घर । गत शुक्रबार हामीले बनाएका थियौँ सँगै जाने योजना । मेरो झोला कारको पछाडि सिटमा फालेर म अगाडि बसेँ ।
‘गुड मर्निङ एली ! कस्ती छौ ? सप्ताहान्त कस्तो बित्यो ?’ मैले कारको सिटबेल्ट लगाउँदै सोधेँ ।
‘चिसो मौसमका कारणले कतै गइनँ । कुकुर डुलाउन बिहान बेलुका डावर नदीको किनारतिर निस्केँ । माफ गर, मेरो कार अलि फोहोर होला है ! के गर्ने कारमा कुकुर राखेर हिँडाउनुपर्छ ।’ कारलाई हाईवेतिर हुइँया हुइँक्याउँदै मलाई पनि प्रश्न गरिन्, ‘तिमी नि ?’
‘म पनि कतै गइनँ । हार्बर हुँदै सामुद्रिक तटैतट मर्निङ वाक गरेँ । सामुद्रिक छालको सुमधुर सङ्गीतमा मनै लोभ्याउने धुन सुन्न सारै मज्जा लाग्छ तर सफा र स्निग्ध समुद्री किनारामा प्लाष्टिक फोहोरहरु देख्दा भने एकदम नमज्जा लाग्छ ।’ हुईं... हुईं... गर्दै गुडेका गाडीहरूका दृश्यतिर आँखा घुमाउँदै मैले भनेँ ।
‘हो नि, त्यो एक पवित्र स्थान हो भन्ने थाहा पाउँदा पाउँदै पनि मान्छेले खाना खाएर खाने कुराका खोलहरू, पानीका बोतलहरू फालिरहन्छन् । यो एक अनियन्त्रित विश्व विकृतिको रूपमा लिन सकिन्छ ।’ मेरो एकोहोरिइरहेको ध्यान भङ्ग गर्दै उनले भनिन् ।
गाडीहरू लेन फेर्दै उछिनपाछिन गरिरहेका छन् ।
सायद सबैलाई हामीजस्तै आफ्नो स्थानमा पुग्न हतार छ । थाहै छैन पछाडिको एक्जस्ट पाइपबाट वातावरणको घाँटी निमोठ्ने कार्वनडाइअक्साइड जस्ता दूषित ग्यास उत्सर्जन भएको छ भनेर ।
यो कस्तो मूलबाटो हो जहाँबाट हजारौँ मानिस प्रतिघण्टा आवतजावत गर्छन् । तर नमस्कार, कहाँबाट आउनुभएको ? कहाँ जाने हो ? भनी सोध्ने फुर्सद छैन कसैलाई । यो हल्लैहल्लाको मूलबाटो । तर एकान्तमा यो दिनरात लम्पसार परिरहेको छ । झ्यालको सिसा झारेँ एकैछिन फ्रेस हावा लिन । बाहिर खोला सुसाएको जस्तै सुसाइरहेको थियो हाइवे ।
‘त्यसरी मर्निङवाक गर्दा रहेछौ र त यो उमेरमा पनि जवान देखिन्छौ ।’ उनले मिररमा आफूलाई हेर्दै सद्भावका शब्दहरू बर्साइन् ।
गमक्क परेर धन्यवाद दिँदै मैले भनेँ, ‘एउटा कुरा सोधूँ तिमीलाई ?’
‘भन न के हो ?’ उनले जिज्ञासा देखाइन् ।
मैले भनेँ, ‘भो भन्दिनँ, कतै तिमी रिसाउने हौ कि ?’
हाम्रा बातहरू जतिजति बढ्दै जान्थे उतिउति यात्राको दुरी पनि घट्दै थियो ।
सधैँ आफैँले कार चलाएर हिँड्न अल्छी लाग्छ । संसारमा कसैलाई हिँड्दा हिँड्दा दुःख छ भने कसैलाई कारमा चढ्दा पनि दुःख नै छ । यस्तै होला है विकसित राष्ट्रको सहरिया जीवन ! आज एलीले मलाई आफ्नो कारमा हालेर हिँडाउँदा धेरै आनन्द आएको छ । त्यसैमा एलीजस्ती सुन्दरी युवतीले हाँकेको गाडीमा बस्न पाउँदा के चाहियो र ! गोरेनी युवतीहरू छालैले राम्रा देखिन्छन् ! गालाको डिम्पल र ब्ल्यान्ड केसले झनै राम्री देखिन्थिन् एली !
‘अगाडि राम्रोसँग हेरेर चलाऊ । हतार नगर । समयमै पुगिन्छ ।’ उनीतिर पुलुक्क हेरेर सावधान गराउँदै भनेँ ।
उनी भने मलाई देखाउन थियो कि के हो खोइ ? निक्कै स्पिडमा हाँक्दै थिइन् । स्पिड लिमिट सत्तरी तर असी माइल प्रतिघण्टामा कार अगाडि बढ्दै थियो । बसका ड्राइभरले आफ्नो नजिकै राम्री तरुनी बसेका छन् भने खुबै हाँक्नुपर्छ नि, बस्, त्यस्तै गरी ।
आधा बाटो काटिसकेका थियौँ होला आकाश खनिन थाल्यो कारको स्क्रिनमा । लाग्थ्यो हामीलाई रोमान्टिक बनाउन कसैले पानीको पाइपले कारमाथि छर्कँदै छ ।
‘डरायौ ? तिमी निर्धक्कै बन । तिमी यताउता भइहाल्यौ भने म सम्हालिहाल्छु नि ।’ उनले कारको रुझेको अनुहार वाइपरले पुछ्दै सान्त्वना दिँदै भनिन् ।
समयमै लण्डन पुग्यौँ । आ–आफ्ना नाम रिसेप्सनमा दर्दा गरायौँ । आफ्नो नाम अङ्कित ब्याज भिरेर एउटै लाइनको कुर्चीमा वल्तिर–पल्तिर बस्यौँ ।
‘फोहोर पानी प्रशोधन केन्द्र र यसले पार्न सक्ने वातावरणीय प्रभाव’ शीर्षक थियो पारि भित्तामा प्रदर्शन गरिएको पावरपोइन्टको ।
घरबाट टेक्स्ट आयो, ‘बिहानै हिँड्नुभएछ आज त, म बिस्तरामै हुँदै । तपाईंको कार त यहीँ छाड्नु भएछ ।’ एक्कासि मैले कल्पना गरिरहेको सङ्लो पानी घरको शङ्कालु टेक्स्टले धमिलो देखेँ ।
मैले टेक्स्ट फर्काएँ, ‘हो, हामीले कार शेयर गर्यौँ । एलीले मलाई ड्राइभ गरेर ल्याइन् । म अहिले एउटा वातावरणीय सेमिनारका लागि लण्डन आएको छु ।’
‘ए त्यसो पो ! खुबै मज्जा भएछ है ? बाई !’ उताबाट फ्याट्ट रिप्लाई आयो । सम्झेँ, उहिल्यै मेरा बा कतै टाढा गएर महिनौँ घर फर्कन नसक्दा मेरी आमा कसरी बसेहोलिन् ? त्यो बेला बाबाको हातमा मोबाइल भएको भए आमाले पनि यस्तै भन्थिन् कि ?
केहीबेर फोनमा आँखा घुमाइराखेँ, उताबाट अरू कुनै रिप्लाई आएन ।
परार एक बहुराष्ट्रिय कम्पनीद्वारा सञ्चालित प्रशोधन केन्द्रको मेशिन बिग्रिन जाँदा फोहोरमैलाको ढल बिनाट्रिटमेन्ट पानीमा मिसियो । फोहोर पानी नदीमा पस्दा माछाजति सोत्तर परे । मरिनामा राखिएका डुङ्गाहरुलाई प्रदूषणले ठुलो असर पारेको थियो । यहाँ वातावरणलाई प्रदूषण गर्नु अपराध हो भन्ने कानुनी विषयलाई एन्भाएरोमेन्ट एजेन्सीले अनुसन्धान गरेर उक्त कम्पनीलाई अदालतमा उभ्याएको थियो ।
मुद्दा जितेर बिस मिलियन पाउन्ड पनि जरिवाना तिराउने सफलता मिलेको थियो । त्यो मुद्दा कसरी तयार पारियो, केके सिकियो, तिनै कुराहरू शेयर गर्नु सेमिनारको औचित्य थियो ।
मोबाइलमा फेरि अर्को टेक्स्टको घन्टी बज्यो, ‘कति बजे आइन्छ त ? सदाकै नर्मल टाइममा होला नि ?‘
‘अँ, छ बज्नु अगाडि आइपुग्छु ।‘, मैले टेक्स्ट रिप्लाई गरेँ ।
हामी कार्यक्रम सकिएपछि आज्ञाकारी भएर कतै अलमल नगरी घरतिर फर्क्यौँ । गोधूलि साँझमा एलीले मलाई मेरो घरअगाडि ल्याइपुर्याइन् ।
‘एकैछिन भित्र बसौँ । कफी पिएर जाउली ।‘, झर्नेबेला मैले अफर गरेँ ।
‘ठिकै छ, अबेर भयो, तिम्रो परिवारलाई डिस्टर्व होला, धन्यवाद । बरु, बिहान के भन्छु भन्थ्यौ नि, त्यो कुरा भन न, के हो ?’ उनले भनिन् ।
‘भो पछि भनुँला । ऐले भन्ने उचित वातावरण बनेन ।’, भनेर मैले टारिदिएँ ।
बिहान अफिसमै भेट्ने भनी बाई गर्दै उनी हुइँकिन् ।
मैले ढोकाको बेल बजाएँ । साँझको आठ बजिसकेछ । लामो ट्राफिक जाममा परियो हाईवेमा । दुर्घटनाले बाटो बन्द नभएको भए अघि नै आइपुग्ने नि । चाबी निकालेर ढोका खोलेँ ।
उनको काम आज चार बजे सिद्धिनुपर्ने ! ‘कहाँ गइछन् !’ भन्दै फोन गरेँ, लागेन । किचनमा पसेँ, सुनसान थियो । माथि शयन कक्षमा उक्लेँ । ढकढक गरेँ, खुलेन । निलम... निलम... भनी चिच्याएँ ।
एकैछिनपछि कसैले घरको मूलद्वार ढक–ढक गर्यो । चाइनिज टेकअवे ल्याएको गोरो केटो रहेछ ।
ए तिमी ? कति हो ?
एघार पाउन्ड पचास पेन्स, कृपया ।
यी, लौ ।
धन्यवाद !
भोक लागेको थियो । स्पेयर रिफ र नुडल खाएँ । अनि टिभी हेर्दाहेर्दै सोफामै निदाएछु ।
अर्को दिनको बिहानीमा घडीको अलारामले निद्रा खोलिदियो । म जुरुक्क उठेँ । थकितजस्तै महसुस भएको पाएँ । उनको ढोका अझै बन्द थियो । म एक कप कफी पिएर हिजोकै सुटमा अफिस लागेँ । अफिस लाग्नुभन्दा अघि एउटा नोट लेखेर टेबुलमा छाडेँ ।
‘निलम,
म के साधनको प्रयोग गर्छु मेरो कार्वनफुटप्रिन्ट त्यसमा निर्भर गर्छ । तिमीलाई थाहै छ, कार्वनडाइअक्साइडको वायुमण्डलमा उत्सर्जनका कारण नै जलवायु परिवर्तनको असर हो । हाम्रो अफिसको पोलिसी तिमीलाई विदितै छ, पहिला हिँडेर जानु या साइकल चलाएर । यी दुईबाट पुग्न असम्भव छ भने कि रेल कि बस समात्नू । यी पनि सम्भव हुँदैन भने मात्रै अन्त्यमा कार प्रयोग गर्नू । अन्य सहकर्मी पनि एउटै ठाउँमा जाँदै छन् भने कार शेयर गरेर जानू ।
यसै पोलिसीलाई पालना गर्ने क्रममा म एलीसँगै लण्डन गएको हुँ । हामीले हिजो कार शेयर गर्दा झन्डै २४ किलो कार्बन उत्सर्जन हुनबाट जोगाएका छौँ । जसरी तिमी मेरो जीवनसङ्गी बनेकी छौ । मलाई लाग्छ, तिमी मजस्तै वातावरण मैत्री पनि छ्यौ ।
तर याद गर, कार्वनफुटप्रिन्ट घटाएर वातावरण जोगाउन खोज्दा घरबार नजोगिने भयो भने म अब यस्तो कहिल्यै गर्ने छैन ! हुन्छ, भरे भेटौँला ।
– उही तिम्रो, हब्बी’
कार्यालयमा एली कफीका लागि केटलमा पानी बसाल्दै थिइन् । म टुप्लुक्क पुगेँ ।
‘मलाई पनि हो, कफी ?’
‘हिजो के कुरा भन्छु भन्थ्यौ, भन न, प्लिज ।’
‘तिमीले कुकुरहरु पालेकी रहिछौ । यहाँ फुटपाथ र पार्कतिर कुकुरको गु टेक्दै हिँड्नुपर्छ । उता नेपालका बाटाहरुमा मान्छेका गु किच्दै हिँड्नुपर्छ । तिमीले त उठाउँछ्यौ होला नि तिम्रो कुकुरको गु र हाल्छ्यौ होला ढ्वाङमा ?‘
आफ्ना सन्तानभन्दा पनि बढी कुकुरलाई माया गर्ने एलीले आफैँलाई मात्रै कफी बनाइन् । उनी दिनभर बोलिनन् ।
कार्वनफुटप्रिन्ट घटाउन खोज्दा उता स्वास्नीको ईश्र्या बढ्ने, यता सहकर्मी रिसाउने !
गाह्रो विषय हो वातावरण संरक्षण !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण