बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

तिहारमा विद्युतको कमी हुँदैन, जति मन लाग्छ बत्ती बाल्नुस् :  प्राधिकरण

आइतबार, ०२ कात्तिक २०८२, ११ : ३५
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • नेपाल विद्युत प्राधिकरणले यस वर्षको तिहारमा लोडसेडिङ नहुने जनाएको छ, उपभोक्तालाई ढुक्क रहन आग्रह गरेको छ।
  • उद्योग बन्द हुने भएकाले घरायसी प्रयोजनका लागि बिजुली सहजै उपलब्ध हुने र दैनिक २०० देखि ३०० मेगावाट बिजुली बचत हुनेछ।
  • प्राधिकरणले प्राविधिक गडबडी हुन नदिन कर्मचारीलाई सतर्क रहन निर्देशन दिएको छ, विशेष टोली तयारी अवस्थामा राखिनेछ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा लोडसेडिङ नहुने र ढुक्कसँग जति पनि बत्ती बालेर चाड मनाउन सकिने बताएको छ । उज्यालोको पर्व तिहारमा बिजुली आपूर्तिको कुनै समस्या नहुनेमा विश्वस्त रहन प्राधिकरणले आम उपभोक्तालाई आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार तिहारको समयमा उद्योगधन्दाहरू बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठुलो मात्रामा बिजुली बचत हुन्छ । जसलाई घरायसी प्रयोजनका लागि सहजै उपलब्ध हुन्छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार तिहारमा विद्युत् आपूर्तिमा समस्या हुँदैन । उनले भने– ‘पहिले तिहारको लक्ष्मी पूजामा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ । अहिले विद्युत् खेर जाने अवस्था छ, त्यसैले जति पनि प्रयोग गर्न सक्नुहुन्छ ।’

उनले प्राविधिक समस्याबाहेक अन्य कारणले बत्ती नजानेमा ढुक्क हुन आग्रह गरे । तिहारमा उद्योगहरू बन्द हुँदा दैनिक करिब २०० देखि ३०० मेगावाट विद्युत् बचत हुनेछ । उक्त बिजुली सिधै घरायसी उपभोक्तालाई उपलब्ध गराइनेछ, जसले गर्दा बत्तीको माग बढे पनि आपूर्तिमा कुनै कमी हुनेछैन ।

प्राधिकरणले विद्युत् आपूर्तिमा कुनै पनि किसिमको प्राविधिक गडबडी आउन नदिन कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । कुनै स्थानमा फल्ट भएमा तत्काल समाधान गर्न विशेष टोलीहरू तयारी अवस्थामा राखिनेछ ।

कति हुन्छ तिहारमा विद्युत् माग ?

विगतका वर्षहरूमा तिहारको समयमा, विशेषगरी लक्ष्मी पूजाको दिन, विद्युतको माग बढेर अधिकतम १६ सय मेगावाटसम्म पुग्ने गरेको थियो । यस वर्ष पनि सोही हाराहारीमा माग रहने प्राधिकरणको अनुमान छ । सामान्यतया तिहारमा साँझ ६ बजेदेखि ९ बजेसम्मको समयमा विद्युत् खपत ३० देखि ४० प्रतिशतसम्म बढ्ने गर्छ ।

प्राधिकरणले विद्युत् प्रणालीलाई विश्वसनीय बनाउन नयाँ प्रसारण लाइन विस्तार, सबस्टेसनको स्तरोन्नती र पूर्वाधार थप्ने कामलाई निरन्तरता दिएकोले पनि यस वर्ष आपूर्ति थप भरपर्दो हुने विश्वास दिलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप