वेग विपरीत उभिएका ‘बा’
सारांश
- भ्रष्टाचार र सामाजिक सञ्जाल नियन्त्रणको विरोधमा जेनजी आन्दोलन सुरु भयो, जसमा केपी शर्मा ओली प्रधानमन्त्री थिए।
- आन्दोलनमा गोली चल्दा २२ युवाको मृत्यु भयो र हिंसात्मक घटनापछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए।
- ओलीले जेनजी आन्दोलनलाई अस्वीकार गर्दै आगामी निर्वाचनको विपक्षमा उभिएका छन्।
काठमाडौँ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम अनि सामाजिक सञ्जाल नियन्त्रणको विरोधमा भदौ २३ गते नवयुवा पुस्ता (जेनजी)ले आन्दोलन सुरु गर्दा मुलुकको कार्यकारी प्रधानमन्त्री थिए– एमाले अध्यक्ष केपी शर्मा ओली । उनकै नेतृत्वको सरकार रहेका वेला भदौ २३ गते अपराह्न युवा पुस्ताको आन्दोलनमा गोली चल्दा काठमाडौँ र कोशीमा गरी २२ जना युवाको ज्यान गयो । फलस्वरूप २४ गते आक्रोशसहित आन्दोलन देशभरि फैलियो ।
आन्दोलनका क्रममा आगजनी, तोडफोड, लुटपाटमात्र भएन, कतिपय व्यक्तिमाथि आक्रमणका घटनासमेत भए । त्यही आन्दोलनका क्रममा ७८ जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भइसकेको छ । २४ गतेको आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए । लगत्तै केही समय मुलुक संवैधानिक, राजनीतिक र कानुनी शून्यताको अवस्थामा पुग्यो ।
पछि स्थिति केही सामान्य भएसँगै ओली १० दिनसम्म नेपाली सेनाको सुरक्षा घेरामा बसेर बाहिर निस्किए । त्यस यता ओलीले जेनजी आन्दोलनका नाममा घुसपैठ भएको र आन्दोलनका नाममा अराजकता मच्चाइएको टिप्पणी गर्दै परिवर्तित अवस्थालाई ‘प्रतिगमन’को संज्ञा दिइरहेका छन् ।
_rUjAC1zYFS.jpg)
त्यही बिचमा सुशीला कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ कालागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकियो । नयाँ सरकार गठन र निर्वाचनको मिति तोकिए पनि नागरिकले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति पाउन सकेका छैनन् ।
जेनजी आन्दोलन र त्यसपछिको परिवर्तित राजनीतिक अवस्थालाई प्रायजसो राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरूले आंशिक स्विकार्दै आगामी फागुन महिनामा हुने प्रतिनिधि सभा निर्वाचनमार्फत मुलुकलाई सही ट्र्याकमा फर्काउनुपर्ने मत जाहेर गरिरहेका वेला ओली भने ठिक विपरीत कित्तामा उभिन पुगेका छन् । पछिल्लो परिवर्तनलाई पूरै अस्वीकार गर्ने एकमात्र नेता ओली र उनकै नेतृत्वको पार्टी नेकपा एमालेजस्तो देखिएको छ । जेनजी विद्रोहको बलमा गठित अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई त ओलीले असंवैधानिक मात्रै भनेका छैनन्, प्रतिगामीको संज्ञासमेत दिएका छन् ।
ओलीले पार्टीभित्रकै विरोधका बिच आफूलाई मात्र होइन, सिङ्गो एमालेलाई जेनजी आन्दोलनको विपक्षमा उभ्याउने प्रयास गरेका छन् । त्यसका लागि भदौ २९ देखि ३१ सम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकमार्फत ओलीले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा जनमत तयार गर्ने र पूरै पार्टी परिचालन गर्ने प्रमुख एजेण्डाका रूपमा पारित गराएका छन् । केन्द्रीय कमिटी बैठकअघि गुण्डुमा बसेको एमाले सचिवालय बैठकदेखि कात्तिक १ गते पार्टी कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रम होस् वा कात्तिक २ गते पार्टी निकट प्रेस चौतारी नेपालले ओलीसँग राखेको संवादमै किन नहोस्, जेनजी विद्रोहबारे आफ्नो अडान उनले कहीँकतै फेर्ने सङ्केत गरेनन् ।
_09iGyshP1I.jpg)
प्रेस चौतारीद्वारा आयोजित ‘ओलीसँग सम्पादकको संवाद’मा भदौ २३ र २४ को घटनाक्रम र त्यसपछि ओलीले लिएको रणनीतिका बारेमा जबाफ पाउने अपेक्षासहितका सम्पादकहरूले उनीसामु प्रश्न तेर्स्याए । त्यस क्रममा सम्पादकहरूले ओलीलाई घटनाबारे पछुतो लागेको छ कि छैन ? अलिकति भए पनि आत्मालोचना किन गर्नुहुन्न ? परिवर्तन किन स्विकार्नु हुन्न ? निर्वाचनको वातावरण छैन भनेको एमालेले के गर्दा वातावरण बन्छ ? एमालेको प्रतिशोधी व्यवहारले मुलुक थप द्वन्द्वमा त जाने होइन ? संविधान र गणतन्त्रको रक्षाका लागि कि तपाईंको अस्तित्व रक्षाका लागि परिवर्तनको विरोध गरेको ? सम्पादकहरूले यस्ता अनेक प्रश्न गरेका थिए ।
जेनजी आन्दोलनलाई ३ भागमा हेर्नुपर्ने बताएका ओलीले माइतीघरदेखि बानेश्वरसम्मको आन्दोलनको एउटा चरण र संसद् भवनमा छेकेर विद्यार्थी लगिएपछिको घटनालाई दोस्रो चरणमा हेर्नुपर्ने बताए ।
ओलीले यी सबै प्रश्नको प्रस्ट जबाफ दिएनन् । बरु उनले प्रतिरक्षा शैलीमा आफू र आफ्नो नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै देखिनसहने शक्तिहरूले सरकारविरुद्ध जेनजी आन्दोलनका नाममा आतङ्क मच्चाएको पुरानै कुरा दोहोर्याउँदै भदौ २३ गते दिउँसोपछि जेनजीको हातबाट आन्दोलन खोसिएको दाबी गरे ।
‘भदौ २३ र २४ गतेको आन्दोलनलाई मैले ३ पार्टमा हेर्छु । जेनजीलाई भ्रममा पारियो र विरोध प्रदर्शनका लागि तयार भए । बानेश्वरको प्रहरी ब्यारिकेट तोडिएसँगै जेनजीहरू आन्दोलनबाट फिर्ता भएका थिए,’ ओलीले आन्दोलनको पृष्ठभूमि केलाउँदै प्रश्नको जबाफ दिने प्रयास गरे ।
ब्यारिकेट तोड्न टीओबी लेखिएका भटभटे मोटरसाइकलवाला समूह बानेश्वर क्षेत्रमा आएपछि वास्तविक जेनजीहरू घर फर्किएको ओलीको दाबी थियो । ‘नयाँ बानेश्वरको ब्यारिकेट तोड्न भटभटे मोटरसाइकलवाला टिम आए । टीओबी लगायतका त्यस्ता मान्छेले ब्यारिकेट तोड्ने काम सुरू गरेपछि जेनजी फर्किए, केहीलाई तिनै तत्त्वले घेरेर, छेकेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लगे । उनीहरूलाई रोक्ने तयारी भएन,’ ओलीले घटनाको बेलिबिस्तार लगाए ।
_tthPyLXXJE.jpg)
जेनजी आन्दोलनलाई ३ भागमा हेर्नुपर्ने बताएका ओलीले माइतीघरदेखि बानेश्वरसम्मको आन्दोलनको एउटा चरण र संसद् भवनमा छेकेर विद्यार्थी लगिएपछिको घटनालाई दोस्रो चरणमा हेर्नुपर्ने बताए ।
‘गोली चलेपछि तत्काल गृहमन्त्रीलाई सोधेँ– गोली चलेको सुनेँ, किन गोली चल्यो ? रबरको गोली चलेको रहेछ भन्ने जबाफ दिनुभयो । एकछिनमा विद्यार्थी मरे भनेपछि म अत्यन्त दुखित भएँ,’ ओलीले भने, ‘दोस्रो च्याप्टर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि भयो, २४ गतेको विध्वंश, आगजनी र लुटपाटको तयारी थियो । आवेश उत्तेजनाको वातावरण बनाउनु थियो ।’
‘यो सरकारले चुनाव नै गराउँदैन, हुँदै नहुने चुनाव एमालेले कसरी अस्वीकार गर्यो ? बहिस्कार कसरी हुन्छ ?’ उनले प्रतिप्रश्न गरे ।
देश र जनताको हितमा वफादार रहेको बताएका ओलीले भदौ २४ को घटनालाई तेस्रो भागमा लिनुपर्ने भन्दै त्यसयता देश अनिश्चयमा गएको विश्लेषण सुनाए । ‘अस्थिरता र अनिश्चयताले देशलाई पछाडि धकेलेको छ । मेरो बफदारिता कसैलाई मन परे पनि, नपरे पनि यस देश, जनताप्रति मेरो बफदारिता छ । त्यसकारण मैले भनेका मूल्य–मान्यता मेरा निष्ठाका विषय हुन् । मन पर्नु/नपर्नु व्यक्तिगत रोजाइका कुरा हुन्,’ उनको भनाइ थियो ।
प्रतिनिधि सभा निर्वाचन र एमालेको सहभागिताबारे सोधिएको प्रश्नमा ओलीले सटिक जबाफ दिँदै भने, ‘यो सरकारले चुनाव नै गराउँदैन, हुँदै नहुने चुनाव एमालेले कसरी अस्वीकार गर्यो ? बहिस्कार कसरी हुन्छ ?’ उनले प्रतिप्रश्न गरे ।
ओलीले सुशीला कार्की नेतृत्वको सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन नजाने पनि प्रस्ट पारे । उनले भने, ‘कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन । यो हुन सक्दैन ।’ उनले आफू लोकतन्त्रका लागि विश्वास राख्ने व्यक्ति भएकाले लोकतन्त्रको रक्षाका लागि निरन्तर लागिरहने दृढता व्यक्त गरे ।
_jdbE7fKzLu.jpg)
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ‘दुई दिनको तमासा’ संज्ञा दिएका ओलीले आफूलाई त्यस्तो तमासाले कुनै असर नपार्ने प्रतिक्रिया दिए । ‘यो दुई दिनको तमासा हो । म किन अँध्यारो मुख लगाउनु ?’ उनले थपे, ‘१४ वर्षको उमेरदेखि म देश बनाउन हिँडेको मान्छे हुँ । मैले गोलघरमा बसेको छु । मलाई केही कुराले दुःख दिँदैन, न मलाई दुःखको अनुभूति हुन्छ ।’
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन ओली आफँैले सिफारिस गरेको भन्ने माओवादी अध्यक्ष प्रचण्डलाई समेत उनले प्रमाण ल्याउन चुनौती दिए । उनले राष्ट्रपति, प्रधानसेनापति र आफूबिच कुराकानी हुँदा आफूले संविधानभित्रैबाट निकास खोज्न सुझाव दिएको दाबी गरे ।
ओलीले पार्टीमामात्रै होइन, देशकै लागि अझै आफ्नो आवश्यकता रहेको र यस्तै हुँदै गए आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने बताए ।
‘एक जनाले सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्ने केपी ओली हो, मसँग प्रमाण छ भन्दै हुँकार गरेको देखेँ, केही प्रमाण छैन, छ भने देखाए हुन्छ’ ओलीले प्रचण्डको नाम नलिइकनै भने, ‘कसैको सिफारिसविना राष्ट्रपतिले केयर टेकर गभर्मेन्टको प्रधानमन्त्री राष्ट्रपतिले नियुक्त गर्न सक्नुहुन्न । विनासिफारिस केही गर्नु सेरेमोनियल राष्ट्रपतिका लागि वाञ्छनीय हुन्न । मैले सिफारिस गरिदिनु वाञ्छनीय भएर सिफारिस गरेको हुँ ।’
ओलीलाई केही सम्पादकले एमालेभित्रको नेतृत्व परिवर्तनको प्रश्न पनि गरेका थिए । त्यस्तो प्रश्न गर्नेलाई ओलीले पार्टीमामात्रै होइन, देशकै लागि अझै आफ्नो आवश्यकता रहेको र यस्तै हुँदै गए आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने बताए । ‘जनताले यो कुरा सहँदैन नि त । यो किन सहने ? ओलीले भने, ‘तपाईंहरूले अहिले त अलि मेलो पाउनुभएको छैन, तर तपाईंहरूले सम्पादकीय लेखेर भन्नुहुन्छ– ल्याऔँ केपी ओलीलाई ।’
_p9dCXoENXS.jpg)
- आन्दोलनको वेग एकातिर ओली अर्कातिर
अध्यक्ष ओली प्रायः आफ्नो अडानबाट टसमस हुँदैनन् । उनको यही शैलीका कारण हुनसक्छ, नेपाली राजनीति वृत्तमा ओलीलाई कतिपयले दम्भी, अहङ्कारी र हठीका रूपमा सम्बोधन गर्ने गरेका छन् ।
समकालीन राजनीतिमा रहेका शीर्ष नेताहरूमध्ये राष्ट्रियताको सवालमा दह्रो र अलि खरो अडान राख्न सक्ने नेताका रूपमा समेत पहिचान बनाएका ओली समय–समयमा विवादित र अत्यधिक आलोचित हुने गरेका छन् । माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोण होस् वा मधेस आन्दोलन, ओलीले आफूलाई विपरीत ध्रुवमा उभ्याउँदै आएका थिए । अर्कोतर्फ भूकम्पका वेला भारतीय पक्षले नेपालमा लगाएको नाकाबन्दी वा चुच्चे नक्साको सवालमा ओलीको कदमलाई धेरैले राष्ट्रवादी कोणबाट चित्रण गर्छन् । त्यसैले होला, उनलाई कतिपय एमाले कार्यकर्ताले वेला–वेला ‘आई लव यू केपी बा’ समेत भनेर जयजयकार गर्ने गरेका छन् ।
२ पटक संसद् विघटन गर्ने ओलीको उक्त कदमविरुद्ध सबै दल एकातिर लागेर आन्दोलन गर्दादेखि सर्वोच्च अदालतले ओलीको संसद् विघटन उल्ट्याउँदा समेत आफ्नो कदम ठिक थियो भन्ने ओली प्रायः एकातिर र अरू अर्कोतिर हुँदै आएका छन् । ओलीको यस्तो कदमलाई राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल ‘राजनीतिक महत्त्वाकाङ्क्षा र जडता’ को संज्ञा दिन्छन् ।
भदौमा ओलीकै कारण जेनजी विद्रोह भएको पोखरेलको जिकिर छ । ‘ओलीले जुन दिन जेनजीलाई ठगी खाने भाँडो हो भने, त्यहीँबाट अवस्था आक्रामक बन्न पुगेको हो,’ उनले भने ।
ओलीका विगतका र अहिलेको कार्यशैली, सोच र निर्णयलाई फरक फरक ढंगले विश्लेषण गर्नुपर्ने पोखरेलको भनाइ छ । ‘पछिल्ला वर्षहरूमा ओलीको जुन व्यक्तित्व निर्माण हुँदै गयो र उनी जहाँ पुगे, त्यसबाट उनलाई के लाग्छ भने नेगेटिभबाटै यहाँसम्म आइपुगेँ,’ उनले भने, ‘त्यसैले उनी एन्टी करेन्ट भएको हुनसक्छ ।’
आफूलाई प्रतिरक्षा गर्न आक्रामकता नै प्रतिरक्षाको सर्वोत्तम उपाय (अफेन्स इज द बेस्ट पोलिसी अफ डिफेन्स)को नीति ओलीमा रहेको आफूले पाएको पोखरेलको भनाइ छ ।
भदौमा ओलीकै कारण जेनजी विद्रोह भएको पोखरेलको जिकिर छ । ‘ओलीले जुन दिन जेनजीलाई ठगी खाने भाँडो हो भने, त्यहीँबाट अवस्था आक्रामक बन्न पुगेको हो,’ उनले भने ।
‘यदि २२ गते उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्छु भनेको भए सायद आन्दोलन हुँदैन थियो’, पोखरेलले भने, ‘त्यसैले उनमा एन्टी करेन्ट र जडता देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण