आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मार्ग खुलेको १२ वर्षपछि यातायात सञ्चालनमा

बुधबार, ०५ कात्तिक २०८२, १३ : ५९
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • राहुघाटदेखि मौवाफाँट जोड्ने सडक १२ वर्षपछि यातायातका लागि सञ्चालनमा आएको छ।
  • सडक मर्मत र स्तरोन्नतिपछि जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन्, जसले यात्रा समय घटाएको छ।
  • सहरी विकास मन्त्रालयको सहयोगमा सडक निर्माण भएको हो, जसले रघुगङ्गा गाउँपालिकाका वडालाई सदरमुकामसँग जोड्छ।

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पालिकाको केन्द्र मौवाफाँट जोड्ने छोटो दुरिको सडक ट्रयाक (मार्ग) खुलेको १२ वर्षपछि यातायात सञ्चालनमा आएको छ ।

 भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट देखि गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने यो सडकको विसं २०७० मा मार्ग खुलेको थियो । 
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राहुघाट–मौवाफाँट सडक मर्मत र स्तरोन्नती गरेपछि हलुका सवारी साधन सञ्चालन हुन थालेका बताए ।

‘झण्डै १२ वर्षअघि ट्रयाक खुले पनि मर्मत र स्तरोन्नतीको अभावमा यो सडक प्रयोगमा आउन सकेको थिएन’, उनले भने, ‘तीन दशमलब पाँच किलोमिटर दुरीको यो सडकमा जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् ।’

हाल प्रयोग भइरहेको घुमाउनेताल–पिप्ले–मौवाफाँटको वैकल्पिक यो सडक आधाभन्दा बढी छोटो दुरिको छ । करिब ३० मिनेटको यात्रा अवधि १० मिनेटमा छोटिएको छ । यो सडकले रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटका साथै ४, ७ र ८ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ । 

सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ मा रु ४० लाखको लागतमा राहुघाटदेखि दशमुरे मौवाफाँट जोड्ने यो सडकमा मर्मत गरेको हो ।

श्रमजिवी निर्माण सेवाले ठेक्का लिएको यो सडक मार्फत विभिन्न ठाउँमा ग्याबिन जाली र मेसिनरी पर्खाल बनाएर फराकिलो पार्नुका साथै अप्ठ्यारो ठाउँमा ढलान भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप