शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बगहीमा नेपाल-भारतको साझा छठघाट

शुक्रबार, ०७ कात्तिक २०८२, १३ : ३७
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल-भारतको साझा घाट निर्माण गरिएको छ।
  • यो घाट मटिहानी र तुलसियाही, मधवापुर र रामपुरका नागरिक मिलेर बनाएका हुन्।
  • छठ पर्वको अवसरमा दुवै देशका हजारौं श्रद्धालुले यहाँ अर्घ्य दिनेछन्।

महोत्तरी । महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल–भारतको साझा घाट निर्माण गरिएको छ । बिगही नदीछेउमा करिब दुई किलोमिटर लामो आकर्षक घाट निर्माण गरिएको हो । 

नेपालतर्फ मटिहानी नगरपालिकाका वडा नं ६, ७ र ८ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ को तुलसियाही तथा भारततर्फ मधवापुर र रामपुर बजारका बर्तालुका लागि छटघाट निर्माण गरिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । 

दुई देश र दुई राष्ट्रियता भए पनि समान धर्म, संस्कृति, चाडपर्व, बिहेवारी र सुखदुःख आदानप्रदानको उन्नत प्रचलनले दुवै देशका नागरिकले साझा छठ घाट निर्माण गर्दै आएका उनले बताए । ‘माझमा दशगजाले दुई देश छुट्याएको छ ।

‘हाम्रा वेषभूषा, भाषा, संस्कृति र चाडवाड समान छन् । हामीबिच सांस्कृतिक चाडपर्व एकआपसमा मिलेर मनाउने संस्कृति स्थापित छ, यो घाट यसैको उदाहरण हो’, नगर प्रमुख मण्डलले भने ।

शनिबार यसपालिको महापर्व छठ ‘नहाय–खाय’ विधिबाट सुरु हुँदैछ । लोक आस्थाको यस पर्वमा आइतबार ‘खरना’, सोमबार ‘सझुकाघाट’ र मङ्गलबार बिहान ‘पारन’ (भोरका घाट)विधि गरेर सम्पन्न गरिने छ । यसैका लागि नेपाल भारतको यो साझा घाट सजाउन नेपाल तर्फका मटिहानी र तुलसियाही एवं भारत तर्फका मधवापुर र रामपुरका नागरिक जुटेका छन् । 

सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी) को उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर व्रतालुले अर्घ्य (अर्घ) दिनेछन् ।

यस घाटमा दुवै देशका गरी दुई हजारभन्दा बढी व्रतालुले अर्घ दिने र छठ घाट हेर्न १० हजारभन्दा बढी श्रद्धालु उपस्थित हुने अनुमान रहेको मटिहानी–७ का वडाध्यक्ष जितनारायण माझीले बताए ।

सझुकाघाटमा अर्घ्यको समयदेखि भोलिपल्ट बिहान भोरकाघाटको  दिँदासम्म व्रतालु र परिवारजन घाटमै छठी गीत गाउँदै जाग्राम बस्ने गर्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप