मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
साहित्य

भगाइहरू

शनिबार, ०८ कात्तिक २०८२, १४ : ००
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • एक व्यक्ति विवाहको मण्डपबाट भागेर कर्णाली पुग्छ, जसले उसलाई आफ्नै जीवन र निर्णयमाथि प्रश्न उठाउन बाध्य पार्छ।
  • विवाहको दिनको कोलाहल र आफन्तजनको दबाबले उनलाई विद्रोही बनाउँछ, तर उनलाई प्रेमको अभावको पीडा हुन्छ।
  • अपरिचित व्यक्तिसँगको कुराकानी र चुरोटको प्रेमले उनलाई आफ्नो जीवनको दिशा र गन्तव्य खोज्न प्रेरित गर्छ।

“यहाँको माछा खूब स्वादिलो हुन्छ ।” 

म सिद्धार्थ होटलको छतमा भएको कटेजझैँ बनाइएको स्यानो ठाउँमा चुरोट तानेर अनावश्यक तर्कना गर्न लीन थिएँ ।

एउटा अपरिचित स्वर मेरो कानमा ठोक्किन्छ । म ऊतिर एउटा अरुचिको दृष्टिले हेर्छु अनि यसै मन नपरी–नपरी भन्दिन्छु— “ए !”

बस् यत्ति नै बोलेको हो । उसले त्यसैलाई आधार मानेर थप बोल्ने बहाना पायो । भन्यो– “यहाँ माछा खानै भनेर कहाँ–कहाँदेखि मान्छे आउँछन् ।”

“तर म चुरोट खाइरहेछु ।” मैले ऊतिर हाँस्दै हेरेर यसो भन्दिएँ ।

“हा हा हा हा !!” ऊ सिद्धार्थ होटल पूरै थर्कने गरी हाँसिदियो । तर मलार्ई भने रिस उठ्यो । ऊसले फेरि बोल्ने बहानामै सोध्यो– “के तपाइँ एक्लै हो ?”

मलार्ई रिस उठ्न छाडिसकेको थिएन । हातमा सल्किरहेको चुरोट देखाउँदै भनेँ– “यी ! चुरोट छ नि !”

ऊ यसपल्ट अघिको भन्दा अलिक मसिनो आवाजमा हाँस्यो र भन्यो– “लाग्छ, तपाईँ चुरोटलाई धेरै प्रेम गर्नुहुन्छ ।”

मैले तुरुन्तै उत्तर दिएँ– “होइन, चुरोटले मलार्ई धेरै प्रेम गर्छ । ऊ आफूसितै मलार्ई पनि बालिरहन चाहन्छ । र सायद म पनि ।”

ऊ अब एकछिन केही बोलेन । एकछिनपछि भन्यो– “एकछिन कर्णालीको पुलसम्म निस्कनुहुन्छ कि ?”

साँझ झमक्क परिसकेको थियो । चराहरू चिरबिर–चिरबिर कराइरहेका थिए । चिसापानीमा दिउँसो भन्दा केही चहलपहल बढिरहेको जस्तो देखिन्थ्यो । हावामा मास्तिरको जङ्गलबाट आएको मीठो गन्ध थियो । यस्तोमा कर्णालीको पुलमा बसेर चीसो हावाको मज्जा लिनुमा छुट्टै आनन्द छ । तर मलार्ई त्यस मान्छेसित जानु थिएन र उसका अनावश्यक प्रश्नहरूको उत्तर मन नलागी–नलागी दिनु थिएन । यसर्थ भनेँ– “तपाईँ जानुभए हुन्छ, म केहीबेरमा आउनेछु ।” 

धन्न उसले पर्खन्छु भनेन, र तत्काल उठेर हिँड्दै भन्यो– “पक्का है त !”  

तर एउटा फरक छ, विवाहको मण्डपबाट भाग्ने केटी र मबीच । यो सोच्ता यसै दिक्क लाग्छ । कमसे कम त्यो मण्डपबाट भाग्ने केटीले आफ्नो प्रेमी भेट्टाइरहेकी हुन्थी ।

म पुनः आफ्नै स्थितिसित गाँसिन चाहेँ । त्यस रात चिसापानीको वास हुँदै थियो । भोलिको रात कहाँ बित्छ कुनै ठेगान छैन । यो यसै भइदियो । बिल्कुलै नसोचेको ।

आफूलाई नै पत्याउन गाह्रो परिरहेको छ कि म काठमाडौंबाट भागेर यति टाढा आइपुगेको छु । त्यो पनि आफ्नै बिहाको मण्डपबाट । केटीहरू भागेको प्रशस्त सुनेको थिएँ तर केटो भागेको सुन्नु होइन भोग्नु नै परिरहेको छ । लाग्छ म एउटा ऐतिहासिक पात्र भइरहेछु, मलार्ई दुनियाँले चिन्नेछन्— आफ्नै बिहाको मण्डपबाट भाग्ने केटो ! यो सम्झेर काठमाडौंबाट हिँडेदेखि सयौँपल्ट हाँसिसकेँ आफैँप्रति । त्यो अघिको मान्छेलाई सुनाइदिए कति हाँस्तो हो, चिसापानी नै थर्काउँदो हो ! 

तर एउटा फरक छ, विवाहको मण्डपबाट भाग्ने केटी र मबीच । यो सोच्ता यसै दिक्क लाग्छ । कमसे कम त्यो मण्डपबाट भाग्ने केटीले आफ्नो प्रेमी भेट्टाइरहेकी हुन्थी । आफ्नो परिवारलाई धुरुधुरु रुवाए पनि कमसे कम आफू त जीवनभरिको लागि हाँस्न पाउँथी । तर हाय ! म त यति लाचारीका साथ भागेँ, न परिवारलाई हँसाउने गरी भाग्न पाएँ । न आफू हाँस्न पाउने गरी भाग्न पाएँ । हँसाउने भएँ त केवल जोरीपारी वा शत्रुहरू । कुन सनकमा कुन उन्मादमा भागेँ ? किन भागेँ ? के पाउन भागेँ ? कसका लागि भागेँ ? यी सब प्रश्नहरूको सीधासीधा उत्तर छैनन् । म बिल्कुलै एउटा सनकमा भागेँ । सायद आफैसित भागेँ । आफूभित्रको पूर्वाग्रहका लागि भागेँ । या खोइ मसित कुनै व्याख्या र परिभाषा नै छैन यो भगाइको । न म यो कर्णालीको परिवेशमा आफ्नो भगाइलाई ‘ठीक कदम’ भनेर विश्लेषण गर्न समर्थ भइरहेछु । न यी सबका बाबजुद मेरो मनमा शान्ति नै छ । 

म भागेँ बिल्कुलै औचित्यहीन र अर्थहीन पारामा । मेरो भगाइले हात पर्दैछ त केवल शून्य । होइन शून्य पनि धेरै भो । शून्य अर्थात् नोक्सानविहीन । म त त्यो स्थितिमा पनि कहाँ छु र ? मेरो हातमा त नोक्सानै–नोक्सान छ । मैले धेरैथोक गुमाइसकेँ । कुनै लाभ छैन । 

तर यी सबका बाबजुद म पछुतो नै गर्ने स्थितिमा पनि पुगेको भने होइन । पछुतो हुने गरी भागेकै होइन । पछुतो हुने गरी नभागेको भइसकेपछि पछुताउनु किन ? हो, यसर्थ भनिरहेछु म पछुताएको छैन । तर क्षणिक सनक र उन्मादद्वारा परिवेष्ठित भने भएकै हो । भाग्नु र नभाग्नुको द्वन्द्वमा पनि धेरै लामो समयसम्म फसेकै हो । 

आमाबुवालाई बुहारी चाहिएको थियो । बहिनीलाई भाउजू र हजुरआमाको जीवनको सबभन्दा ठूलो अभीप्सा, पनाति पनातिनीको मुख हेर्न नपाई मर्ने हुँ कि भन्ने थियो ।

त्यसदिन बिहानदेखिको कोलाहलले मस्तिष्क नै ठेगानमा थिएन । झन् त्यहाँमाथि बेहुला भनेपछि घरमा आउने प्रत्येक व्यक्ति मसितै आएर अनावश्यक सोधपुछ वा बोल्ने काम गरिरहेका थिए । कोही आएर मेरो सर्टको कलर मिलाइदिरहेको थियो । कोही ढाका टोपी अलिक बाङ्गो भो भनिरहेको थियो । कोही चश्मा नलाएको भएपनि हुन्थ्यो भनिरहेको थियो भने कोही बेहुला भएपछि चश्मा नलगाई हुन्न भनिरहेको थियो । बाहिर आँगनमा ब्यान्ड बाजाको एक गु्रप बिहानैदेखि कानका जाली फुट्ने गरी बाजा बजाइरहेका थिए । तल–माथि रातो साडी लगाएका आइमाईहरूको ओहोरदोहोरको दृश्यले आँखै तिरमिर्‍याइरहेको थियो । हरेक निम्तालुसित मन नलागी–नलागी बोल्दिनुपर्ने । मन नलागी–नलागी हाँसिदिनुपर्ने । साना केटाकेटीहरू अलिक परबाट मतिर लुकीलुकी हेर्दै साउती मारिरहेका थिए । म आफूलाई जोकरभन्दा कम महसुस गरिरहेको थिइनँ । 

अनि मुख्य कुरा त्यो बिहे म आफ्नो लागि गरिरहेको थिइनँ । 

आमाबुवालाई बुहारी चाहिएको थियो । बहिनीलाई भाउजू र हजुरआमाको जीवनको सबभन्दा ठूलो अभीप्सा, पनाति पनातिनीको मुख हेर्न नपाई मर्ने हुँ कि भन्ने थियो । अनि मैले यी सबै आफन्तजनको अभीष्ट पूरा गर्न यौटी अपरिचित स्वास्नीमान्छेलाई सिन्दुरपोते भिराएर उनीहरूका अघिल्तिर आजका मितिबाट यो मेरी स्वास्नी भई भन्दिनुपर्ने थियो । तर कसैले मलाई सोधेनन् के मलार्ई पनि स्वास्नी चाहिएकै हो त ? म त्यस अपरिचित युवतीलाई स्वास्नीको रूपमा हेर्न सक्छु या सक्तिनँ भन्ने प्रश्न अहँ कतै उठेन । हो एउटा निश्चित सम्झौताअनुसार म त्यस युवतीलाई आमाकी बुहारी, बहिनीकी भाउजू तथा हजुरआमाकी नातिनीबुहारीको रूपमा हेर्ने अठोट गरिसकेको थिएँ । तर मेरी आफ्नै स्वास्नीको दर्जा ? उफ् कसरी दिउँ त्यस युवतीलाई ? जोसित म दुई शब्द पनि मुस्किलले बोलेको छैन । 

यो स्वास्नी शब्दले पनि मलार्ई के–के कल्पना गराएन ? जब दस–बाह्र वर्षको उमेर थियो मेरो, पल्लो घरमा भाडामा बस्ने एकजना स्कुल मास्टरले बिहे गरेर नयाँ दुलही भित्र्याएका थिए । म आन्टी भन्थेँ तिनलाई । उनी रातो रङको सारी लगाउँथिन् । निधारमा ठूलो टीका लगाउँथिन् । गलामा हरियो पोतेको झुप्पामा सुनको तिलहरी चौबीसै घण्टा झुन्डिरहेको हुन्थ्यो । अनि कम्मरमा एउटा साँचोको झुप्पो हुनेगथ्र्यो । म कल्पना गर्थेँ स्वास्नी यस्ती हुनुपर्छ । धेरै वर्षसम्म मेरो मस्तिष्कमा ती आन्टीको प्रतिबिम्ब आएर टक्क अडिन्थ्यो, जब मेरा कानले स्वास्नी भन्ने शब्द सुन्ने गथ्र्यो । बिस्तारै जवानीमा पाइला टेक्ने क्रममा ती आन्टीको प्रतिबिम्ब पनि धमिलिँदै जान थाल्यो । उनीहरू डेरा सरिसकेका थिए । मेरो मस्तिष्कमा स्वास्नी भन्ने शब्दको दायरा र काल्पनिक प्रतिबिम्ब केही विस्तार भएको थियो । तर निश्चय एउटा खाली ठाउँ थियो त्यो काल्पनिक प्रतिबिम्बलाई जीवन्तता दिने । विगत तीन वर्षदेखि त्यो प्रतिबिम्ब मेरो मस्तिष्कबाट पनि ओर्लेर उसको प्रतिबिम्बसित गएर एकाकार भइदियो । ऊ अर्थात् त्यो व्यक्ति जसका कारणले म भागेको छु आफ्नै विवाहको मण्डपबाट ।

अँ म भनिरहेको थिएँ... यसर्थ उसको प्रतिबिम्बको स्मरणले मलार्ई आफ्नै बिहेको जग्गेबाट भगाउन कर लगायो, र म भागेँ । मलार्ई थाहा छ ऊ मलार्ई प्रेम गर्नु त परै जाओस् सक्तो घृणा गर्छे ।

रात पर्न–पर्न आँटेको थियो । अब मलार्ई त्यो सिद्धार्थ होटलको छत र दुई औँलाबीचको चुरोटभन्दा पनि कर्णालीको पुल र त्यहाँबाट बग्ने हावाको मोहले तान्यो, जसका लागि त्यो अघिको मान्छेको बकवास सुन्ने जोखिम पनि उठाउन मन लाग्यो । हान्निएँ कर्णाली पुलतर्फ । पुलमा मान्छेहरूको सङ््ख्या धेरै नै थियो । अघिको त्यो मान्छे वरपर कतै देखिएन । पुलको डन्डी समातेर म कर्णालीको बहाव हेर्न थालेँ । मास्तिर आकाश छ, सूर्यको प्रकाशविनाको गाढा नीलो आकाश । गाढा कालो हुनबाट चाहिँ अलिकति जोगिएको । अनि तल डरलाग्दो, विस्फारित कर्णाली । चिसो हावा चलिरहेको छ । गृष्म सकिएर भर्खर वर्षात् शुरु भएको अवस्थामा दिनभरिको चर्को घामपश्चात् चल्ने बेलुकीको त्यो हावाको स्पर्श पाउँदा बितेको दिनभरिको गर्मी पत्याउनै गाह्रो पर्छ । बेलाबेलामा हर्न बजाउँदै टायर र पेट्रोलको गन्ध हावामा छर्दै तुफान हुइँकिदै आउने गाडीहरू भने त्यो रमणीयताको आस्वादनमा बाधकझैँ प्रतीत भइरहेको थियो । 

अँ म भनिरहेको थिएँ... यसर्थ उसको प्रतिबिम्बको स्मरणले मलार्ई आफ्नै बिहेको जग्गेबाट भगाउन कर लगायो, र म भागेँ । मलार्ई थाहा छ ऊ मलार्ई प्रेम गर्नु त परै जाओस् सक्तो घृणा गर्छे । हो, म आफूलाई घृणा गर्ने स्त्रीको केवल कल्पनाको लखेटाइले खेदिएँ । उसलाई थाहासम्म नहुँदो हो कि उसलाई मरिहत्ते प्रेम गर्ने मानिस आफ्नै बिहाको मण्डपबाट भागेको छ । हो, म भागेको छु उसकै कारणले तर उसका लागि होइन । न म उसलाई कतै खोज्दै हिँडेको छु । म त सकभर भाग्न चाहन्थेँ ऊबाट । उसका सम्पूर्ण यादहरूबाट । तर जति भाग्न खोजे पनि म कदम–कदममा, दिन–दिनमा, चोक–चोक र गल्ली–गल्लीमा उसको स्मृतिसँग, सम्पूर्ण ऊसित सादृश्य राख्ने तत्वहरूबाट लखेटिइरहेँ । उसको प्रतिबिम्बले मेरो मस्तिष्कलाई यस्तरी छोपिदिएको थियो म जहाँ पनि उसलाई देख्ने भइसकेको थिएँ । देखे–चिनेका मध्ये अधिकांश महिला कुनै न कुनै कोणबाट उसको मुहार वा शरीरसित मिल्दिएको हुन्थ्यो । यो यहाँसम्म भैदिएको थियो कि जुन दिन म आफ्नै विवाहका लागि भनेर केटी हेर्न गइरहेको थिएँ त्यो केटी कताकता ऊ जस्तै बनेर बसेकी थिई । त्यो केटी उसको जस्तै गरी चस्मा लगाएर ठिङ्ग उभिएकी थिई । पातली थिई । उसैको जस्तो कुर्ता लगाएकी, सानो मुख उसैको जस्तो । तर सत्य बोल्ने हो भने ऊभन्दा चाहिँ धेरै राम्री । हो, ऊ भन्दा केही अग्ली, केही गोरी, हाँस्दा उसको जस्तो गालामा दस ठाउँ मुजा पर्दैनथ्यो । तर पनि कताकता ऊ जस्तै । अनि त म झन् झस्किन लागेँ । यसै औडाहा भएर आयो । कहाँ गएर उसको भूतलाई मिल्काऊँ ? कुन तत्वमा छ उसको विस्मृति ? यसै छटपटी हुन्थ्यो, उसको स्मृति लुतोझैँ, कतै फाल्न पाए हुन्थ्यो झैँ लागिरहन्थ्यो । 

बिहेको दिन बिहान उठ्दा यसै दिक्क लागिरहेको थियो । डाँको छोडेर रुनु जस्तो भइरहेको थियो । कसैलाई तानेर सारा सत्य ओकलुँ जस्तोे । आमा बिहानै मेरो कोठा ढक्ढकाउँदै मलार्ई ब्युझाउँन आउनुभएको थियो । मैले ढोका खोलेँ । 

आमाले भन्नुभयो– “आज पनि अबेर सम्म सुत्छस् ? बेहुला हुँदै छस् बज्या, नुहाइधुवाइ गर् जा !”

मलार्ई तत्कालै आमालाई गम्लङ्ग अँगालो हालेर रुनु जस्तो भएको थियो । एकपल्ट रुन्चे स्वरमा– “आमा” भनेँ । 

“के ?” आमाले प्रश्न गर्नुभयो । भन्न भन्न खोज्दै पनि थिएँ, पछाडिबाट बहिनीले आमालाई बाले खोजेको जानकारी दिई, आमा जानुभयो ।

कसलाई सुनाउँझैँ, कहाँ पोखिऊँझैँ, उकुसमुकुस भइरहेको थियो । एकपल्ट लाग्यो, यो सब बालाई सुनाउनु उचित होला । लोग्नेमान्छेले लोग्नेमान्छेको समस्या राम्ररी बुझ्छन् ।

कोठाभित्र अब बहिनीमात्र थिई । “दाइलाई आज मै सिँगार्छु ।” ऊ हँसिली थिई । मैले एकपल्ट बहिनी भन्दै भावपूर्ण भएर उसलाई नै अँगालो हालेँ । ऊ छक्क परी । जिन्दगीमा कहिल्यै मायालु भावले नबोलेको दाइले त्यसरी एकाएक भावुक भएर अङ्कमाल गर्दा ऊ के छक्क नपर्ली ! 

उसले तुरुन्तै सोधी– “के भो दाइ ?” 

म केही बोलिनँ, वा भनौँ न बोल्नै सकिनँ वा चाहिनँ । अनि केहीबेरमा ऊ आफैँ बोली– “बिहेको दिन यस्तो भावुक त केटी मान्छे भएको देखेकी थिएँ दाइ ।” उसले यो केही व्यङ्ग्यमिश्रित स्वरमा भनेकी थिई । त्यसले त्यहाँ बितिरहेको स्थिति त सहज भयो तर मेरो मन भने असहजको असहज नै थियो । 

कसलाई सुनाउँझैँ, कहाँ पोखिऊँझैँ, उकुसमुकुस भइरहेको थियो । एकपल्ट लाग्यो, यो सब बालाई सुनाउनु उचित होला । लोग्नेमान्छेले लोग्नेमान्छेको समस्या राम्ररी बुझ्छन् । स्वास्नीमान्छेले स्वास्नीमान्छेको समस्या राम्ररी बुझेझैँ । तर यो कुनै रज्वस्वला वा सुत्केरी समस्या त थिएन । हाँसो लाग्छ एकपल्ट । के म बालाई यो भनूँ कि मेरो जोसँग बिहे हुन गइरहेको थियो ऊसँग म बिहे गर्न चाहन्नँ र म त्यस केटीसँग प्रेम गर्छु जो मलाई चरम घृणाबाहेक केही गर्दिन । र, यो भनूँ कि यो बिहे आफूलाई घृणा गर्ने त्यस केटीका निम्ति रद्द गरिपाऊँ । हा, कस्तो नचाहिने कुरा ! कुनै कोणबाट जायज नलाग्ने । यी सब कुरा ममताकी खानी मानिने आमालाई त भन्न सकिनँ भने कठोरताका परिचायक मानिने बाका अघिल्तिर कठै के भन्न सकुँला र ? झन् त्यहाँमाथि प्रेमसम्बन्धी कुरा परिवारभित्र छिराएर म लज्जित हुन्न चाहन्नथेँ । प्रेम, त्यो पनि असफलताको चरमोत्कर्षमा पुगेको प्रेम । 

अब यस्तो परिस्थितिमा मेरो सङ्कुचित मस्तिष्कका सम्पूर्ण पर्दाहरू हटाएर सत्य बोल्न कसरी सकूँ ? तर मैले यी सबका बाबजुद पनि आफूलाई उघार्ने यत्न गरेकै हो । म बिहान उठेदेखि नै त्यस दिनभरिसम्म कसै न कसैलाई भन्ने ताकमा थिएँ । ठीक छ बा, आमा वा बहिनीलाई भन्न सकिनँ/पाइनँ । त्यहाँ प्रशस्त नातेदारहरू पनि थिए जोसँग हाम्रो परिवारको कुनै कुरा लुक्ने गरेको थिएन । काका, फुपू, सानिमा, ठूलीआमा, मामा र तिनीहरूका छोराछोरी थुप्रै थिए । कोही न कोहीलाई भन्छु भन्ने थियो । तर त्यस दिन दिनभरि न म कुनै भीडबाट क्षणभरका लागि भए पनि वञ्चित रहन सकेँ न आफैले आफूलाई भीडमुक्त गराउन सकेँ । चाहेको भए सक्थेँ होला तर कुनै तारतम्य मिलेन । परिवेश र चाहना दुवैको । त्यो सबै भावनाको मोचन यसरी भयानक कदममा रूपान्तरण होला भन्ने मैले अनुमान पनि गर्न सकेको थिइनँ । 

कार बेहुलीको घर गएर रोकियो । धुमधामसित स्वागत भयो त्यहाँ । रङ्गीन मेचहरू अनि वरपर र माथि बेरिएको रङ्गीन पाल अनि केही पर एउटा स्यानो चुटुक्क परेको जग्गे ।

जन्ती प्रस्थान गरिसकेको थियो । म कारमा सुट, टाई र दुबोको मालासहित छेउछाउमा बहिनी र अरू आफन्तहरूद्वारा परिवेष्ठित थिएँ । यसै गुम्सिएको जस्तो भान भइरहेको थियो । म झ्यालपट्टि नै थिएँ । झ्यालका सिसाहरू खुल्ला थिए । हावा छिरिरहेको भए तापनि मेरो शरीरबाट चिटचिट पसिना आइरहेको थियो । हातखुट्टा उचाल्दा थरर काँपिरहेका थिए । मुटु उम्लिरहेको थियो भुलुक्क–भुलुक्क । यसै छटपट–छटपट भइरहेको थियो । भित्रैबाट ज्वरो फुट्लाजस्तो । रातभरि निद्रा पनि परेको थिएन । अाँखा मिचिरहेको थिएँ । मुख च्याप्पच्याप्प सुकिरहेको थियो । बहिनीसित पानी छ कि भनेर सोधेँ तर उसले नभएको बताई । बेलाबेलामा यसै भाउन्न भएर आउँथ्यो, रिँगटा छुटिरहेको थियो । 

कार बेहुलीको घर गएर रोकियो । धुमधामसित स्वागत भयो त्यहाँ । रङ्गीन मेचहरू अनि वरपर र माथि बेरिएको रङ्गीन पाल अनि केही पर एउटा स्यानो चुटुक्क परेको जग्गे । अनि राम्रा–राम्रा पोसाकमा ठाँटिएर आएका निम्तालुहरू अनि तिनीहरूको शरीरबाट आइरहेको अत्तरको कडा बास्ना । निश्चय पनि यो सब राम्रो लाग्नुपर्ने हो तर म यी सबमा थिचिएको अनुभव गरिरहेको थिएँ । एउटा भयानक पहाडले किच्न आँटेकोजस्तो अनुभव । म सक्तो चाँडो भाग्न चाहन्छु त्यो किचाइबाट । समग्रमा म जिउन चाहन्छु । 

लामो–लामो सास फेर्न चाहन्छु स्वच्छन्द हावाको समीप पुगेर । उफ् ! यो छटपटी, यो बेचैनी शब्दातीत छन्, केवल महसुस मात्र गर्न सकिन्छ । म बताउन सक्तिनँ । यस्तो लागिरहेको थियो मानौँ म पौडिन नजान्ने मानिसलाई कसैले गहिरो पानीमा हुत्याइदिएको छ । र, म भर्‍याक–भर्‍याक गर्दै व्रmमशः डुब्ने तरखरमा छु । शरीर पसिनाले निथु्रक्क छ । घाँटीमा दुबोको माला फाँसीको फन्दाझैँ लागिरहेको थियो । पिसाब लाग्ला–लाग्ला जस्तो भएको थियो । जग्गेमा पण्डित मन्त्र पढिरहेको थियो । म छेउमा थिएँ । बेहुलीको घरको झ्यालबाट थुप्रै केटीहरू चिहाइरहेका थिए । सबैको दृष्टि मैतिर थियो । यसै लाज, भय अनि अनौठा र अजीव अनुभूतिहरू एकसाथ आइरहेका थिए । 

छेउमा एकजना दाइ थिए । उनलाई बोलाएर सुटुक्क पिसाब लागेको बताएँ । उनले सबैतिर बुझबाझ पारेर ट्वाइलेट कहाँ भएको पत्तो लगाएर आए । ट्वाइलेटभित्र छिर्ने बेलामा दुबोको माला र कोट बाहिरै खोलेर पसेँ । पिसाब फेर्दा धेरै नै पोलेको महसुस भयो । ट्वाइलेटमा केही लामै समय बिताएँ ।

यसपालि मलार्ई उसको विरुद्धमा केही बोल्न मन लागेन । भनेँ— “हुन्छ ।” 

बाहिरपट्टि निस्कँदा केही चकमन्न झैँ थियो । यसो पल्याक–पुलुक हेरेँ । आश्चर्य लाग्यो बिहेघरमा त्यस्तरी चकमन्न किन भएको थियो । त्यसको मलार्ई कुनै पर्वाह नै भएन । जान्न बुझ्न खोजे आफैँ फन्दामा पर्न सक्थेँ । तर बिहेघर त्यति चाँडो आश्चर्यजनक चकमन्न परिवेशमा कसरी रूपान्तरण भयो भन्नेमा भने म भित्रभित्रै अल्मलिरहेँ । एउटा नजानिदो त्रास आफसे आफ पलाएको थियो । तर यी सबका बाजुद कसैको केही वास्तै नगरी म भागेँ । नजिकैको बस स्टेन्ड गएर नयाँ बसपार्क जाने बस समातेँ । कोट र दुबोको माला जहाँ थियो त्यहीँ छोडिदिएँ । अनि थाहा छैन कुन्नि कुन प्रेरणाले यहाँ आइपुगेँ । 

“सरलाई मैले कत्ति खोजेँ” त्यो अघिको झर्को लगाउने मान्छे कानमै आएर लामखुट्टेझैँ कराइरहेको थियो । तल कर्णाली निरन्तर जोर–जोरसित बगेको आवाज कम थिएन त्यसरी कानलाई दुःख दिन ।

“म कहाँ भागेको छु र ? खोज्नै हत्ते पर्नेगरी !” मैले उसलाई यसो भन्दा मनमनै सक्तो हाँसो उठिरहेको थियो । 

“होटलतिर लाग्ने होइन ?” उसले भन्यो ।

यसपालि मलार्ई उसको विरुद्धमा केही बोल्न मन लागेन । भनेँ— “हुन्छ ।” 

एउटा चुरोट झिकेर सल्काएँ । सिद्धार्थ होटलले हामीलाई कुरिरहेको हुँदो हो । लाग्यो कहाँ कहाँबाट भागूँ, कस—कसबाट भागूँ र कहिलेसम्म भागूँ ! अनि यी भगाइका शृङ्खलाहरूको अवसान कहाँ छ ? कहाँ हो मेरो गन्तव्य ? यो सब म आफैँसित भागेको हुँ, मलार्ई थाहा छ । तर पनि बुझ पचाएर भागिरहेको छु । 

होटल पुगियो । खानासाना खाइवरी सुत्ने तरखरमा थिएँ । सुत्ने बेलामा यो सोच्तै सुतेँ अब यहाँबाट भागेर भोलि कहाँ जाने ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुबिन भट्टराई
सुबिन भट्टराई
लेखकबाट थप