बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

माओवादी जनयुद्धमा परिवारका तीन सदस्य गुमाएकी मञ्जुले जेनजी विद्रोहबारे गरिन् यस्तो टिप्पणी

आइतबार, ०९ कात्तिक २०८२, १३ : ००
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • माओवादी जनयुद्धमा परिवारले गुमाएका सदस्यको पीडा अझै ताजै रहेको कुरा मञ्जु सापकोटाले बताइन्।
  • जेनजी विद्रोह र जनयुद्धका मुद्दाहरू समान रहेको र नेताहरूको जीवनशैलीप्रति उनले असन्तुष्टि व्यक्त गरिन्।
  • उनले पार्टी नेतृत्वलाई विभाजनको खेल बन्द गर्न र सहिद परिवारको भावनाको सम्मान गर्न आग्रह गरिन्।

विराटनगर । नेपालको दश वर्षे माओवादी जनयुद्धमा हजारौँको ज्यान गयो । केही परिवार यस्ता पनि थिए, जसले क्रान्तिको वेदीमा आफ्नो सर्वस्व सुम्पिदिए । यस्तै एक अदम्य त्याग र बलिदानको कथा हो, संखुवासभाको माम्लिङ गाउँको सापकोटा परिवारको ।

पुण्यप्रसाद र मुना सापकोटाको सानो परिवार थियो– एक छोरा योगेन्द्र र तीन छोरी मञ्जु, सीता र यशोदा । दुई वर्षभन्दा कमको अन्तरालमा यो घरका तीन खम्बा ढले– बुबा पुण्य, छोरा योगेन्द्र र छोरी यशोदा ।

२०५८ साल माघ १० गते पाँचथरको गोपेटारमा जनमुक्ति सेनाले आक्रमण गर्‍यो । त्यहाँ घाइते भएकाहरूलाई तेह्रथुमको बगालेमा उपचारका लागि सेल्टर बनाइयो । त्यही सेल्टरमा २०५८ माघ १४ गते शाही सेनाले घेरा हाल्यो र २१ जनाको हत्या गर्‍यो । त्यही २१ जनामध्ये एक थिए योगेन्द्र सापकोटा ।

१७ वर्षीय छोरा योगेन्द्र ढलेको खबर सुनेकी मुनाले तीन महिना नबित्दै पतिको शोक झेल्नु पर्‍यो । २०५९ साल वैशाख ९ गते संखुवासभाको माङ्सिमामा पुण्यप्रसाद सापकोटा मारिए । घरको मूल खम्बा ढल्यो ।

श्रीमान् र छोराको देहावसानको एक वर्ष नाघेकोमात्रै थियो, २०६० साल पुस ७ गते संखुवासभा सिद्धपोखरीमा छोरी यशोदाको पनि सेनाले हत्या गर्‍यो । दुई वर्षको छोटो अवधिमा एउटी आमाले आफ्नो श्रीमान्, छोरा र छोरी गुमाइन् । मञ्जुले आफ्ना बुबा, दाजु र दिदी गुमाइन् । मुना सापकोटा अहिलेसम्म पनि प्रचण्डलाई भेट्न नपाएकोमा गुनासो गर्छिन् ।

अहिले फेरि देशमा जेनजी विद्रोह भयो । यसक्रममा पनि ७६ जनाको बलिदानी भयो । सहिद परिवारको संख्या थपियो । जनयुद्धमा मारिएका परिवारको दुःख, बेदना र पीडा अझै ताजै छन् । पुनः जेनजी विद्रोहले बलिदानका घाउहरू थपिदिएको छ । माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीको बलिदानी भयो । जेनजी विद्रोहमा ७६ जनाको बलिदानी भयो । जेनजी विद्रोहका सहिद परिवारलाई तीन–तीन जना सदस्य गुमाएको एउटा परिवारले दिने सन्देश के होला ? आज हामीले त्यस्तै परिवारकी एक योद्धा मञ्जु सापकोटासँग यी र यस्तै विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ ।

देशको वर्तमान अवस्था र बलिदानको गाथालाई समेटेर उनै मञ्जु सापकोटासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

  • जेनजी विद्रोहलाई तपाईं सहिद परिवारको हिसाबले कसरी हेर्नुहुन्छ ?

अहिलेको जेनजी आन्दोलनलाई हेर्दा, विगतलाई म आफैँलाई फर्केर हेर्छु । जतिखेर हामी जनयुद्धमा हिँड्यौँ, त्यतिखेर सायद हामी अहिलेका ‘जेनजी’ उमेर समूहकै थियौँ । लगभग १५–१६ वर्ष हाराहारीका मान्छे थियौँ । हामीले जुन विषयलाई उठाएर आन्दोलन गरिरहेका थियौँ र जुन विषयलाई लिएर हजारौँले बलिदान गर्नुभयो । त्यही विषय र त्यही मुद्दालाई लिएर जेनजी विद्रोह भयो । यो एक हिसाबले समय–सान्दर्भिक नै हो जस्तो लाग्छ  । आन्दोलन ध्वंसात्मक पनि भयो, तर त्यसलाई हेर्दाभन्दा पनि एजेन्डा के थियो भन्नेतिर हेर्दाचाहिँ त्यो सान्दर्भिक नै थियो । त्यसले जनयुद्धका मुद्दालाई स्थापित गराउन थप प्रेरणा दियोजस्तो मलाई लाग्छ ।

  • जेनजी आन्दोलनपछिको अवस्थालाई लिएर तपाईं आशावादी हुनुहुन्छ कि निराश ? आन्दोलनले एउटा निकास देला ?

सुरुमा आशा थियो, तर त्यसपछिको परिणाम हेर्दा अलि निराशाजनक नै महसुस गरेकी छु । आन्दोलन त भयो, तर त्यसको स्पष्ट मार्गचित्र र भिजन देखिएन । देशलाई कसरी अगाडि बढाउने भन्ने ठोस योजनाविनाको विद्रोहले अन्योलमात्रै सिर्जना गर्छ । जेनजी आन्दोलनको एजेन्डामा यही स्पष्टताको कमी देखियो, जसले गर्दा राजनीति झनै अन्योलग्रस्त बनेको जस्तो लाग्छ ।

  • यो आन्दोलनको परिस्थिति निर्माण हुनुमा तपाईं कसलाई दोषी देख्नुहुन्छ ? के यसमा तपाईंले रगत–पसिना बगाएको पार्टीको पनि भूमिका छ ?

अवश्य छ । हिजो जनयुद्धमा जुन एजेन्डा लिएर लडियो, सत्तामा पुगेपछि नेताहरूले त्यसलाई बिर्सिए । उहाँहरू व्यक्तिगत स्वार्थ, भ्रष्टाचार र गुटबन्दीमा लिप्त हुनुभयो । पुरानै नेतृत्वको निरन्तरता र उनीहरूको व्यक्तिवादी व्यवहारले युवाहरूमा चरम निराशा पैदा ग‍र्‍यो । राजनीतिक निकास दिनुपर्ने पार्टीहरू नै चुकेपछि सडकमा विद्रोह हुनु स्वाभाविक हो । हाम्रो पार्टी, जसका लागि मेरो बुबा, दाजु र दिदीले ज्यान दिनुभयो, त्यो पार्टी पनि यो दोषबाट मुक्त छैन । हिजो हामीले जुन आदर्श लिएर हिँडेका थियौँ, आज पार्टी त्यो आदर्शबाट नराम्रोसँग चुकेको छ ।

हामी सहिद परिवारलाई त केवल गार्जियनसिप चाहिएको थियो, थाल थापेर भिख मागेका होइनौँ । कम्तीमा हामी छौँ है, के गर्दैछ्यौ ? भनेर सोधिदिने एउटा अभिभावक चाहिएको थियो । त्यही सामान्य कुरामा पनि हाम्रो पार्टी चुक्यो ।

  • जेनजी विद्रोहमा सहिद बनेकाको परिवारलाई तपाई के सन्देश दिन चाहनुहुन्छ ?

हामीले हाम्रो परिवारबाट तीन सदस्य गुमायौँ । त्यो पीडा शब्दमा वर्णन गर्न सकिँदैन । ५८ सालमा दाजु र बुबाको सहादत भयो, ६० सालमा दिदीको । जतिखेर हामीलाई सहादतको खबर आयो, हामीसँग परम्पराअनुसार किरिया गर्ने खर्चसमेत थिएन । जोसँग आश्रित थियौँ, उसैलाई गुमाएपछि हाम्रो त हातमुख जोर्न समस्या भयो । अहिले जेनजी विद्रोहका सहिद परिवारले तुरुन्तै राहत र क्षतिपूर्ति पाए, तर हामीले त ६३ सालसम्म पर्खिनुपर्‍यो, त्यो पनि सानो राहतका लागि । आज २५–२६ वर्ष बितिसक्दा पनि हामी राज्यको नजरमा उपेक्षित छौँ । झन् दुःखको कुरा, बिहे गरेर गएपछि राज्यको कानुनले मलाई सहिद परिवारसमेत मान्दैन । मैले गार्जियन गुमाएकै कारण पढ्न पाइनँ, तर आज मलाई मेरो पहिचानबाटै वञ्चित गरिँदैछ । योभन्दा ठुलो अन्याय के हुन्छ ?

Manju ra muna
मुना र मञ्जु सापकोटा

 

जेनजी विद्रोहमा जसले आफ्नो सन्तान गुमाउनु भयो, उहाँहरूका छोराछोरी महान् छन् । उनीहरूको बलिदान व्यर्थ जानुहुँदैन । सन्तान गुमाउँदाको पीडा जसले भोगेको छ, उसैलाई थाहा हुन्छ । तर, एउटा चित्त बुझाउने ठाउँ के हो भने हाम्रा छोराछोरीले एउटा राम्रो उद्देश्यका लागि ज्यान दिएका हुन् । त्यो उद्देश्य पूरा गर्न हामी सबैले निरन्तर खबरदारी गर्नुपर्छ । उहाँहरूको आवाजलाई हामीले पनि उठाउनुपर्छ ।

  • तपाईं माओवादी नेतृत्वको जीवनशैली र कार्यशैलीलाई कसरी हेर्नुहुन्छ ? ओली, देउवा र प्रचण्ड एउटै हुन् भन्ने भाष्यलाई तपाईं कसरी लिनुहुन्छ ?

यो भाष्य बनाउनुमा हाम्रै नेताहरूको हात छ । हिजो प्रचण्डको लाइन र अरूको लाइन फरक थियो, तर आज उहाँहरूको जीवनशैली हेर्दा के फरक छ र ! जस्तो भएको छ । जसले सर्वहाराको कुरा गर्थे, आज उनीहरूको जीवनशैली सामन्तीको जस्तो छ । यस्तो देख्दा हाम्रो बलिदानको खिल्ली उडाएको जस्तो लाग्छ । यद्यपि राजनीतिक हिसाबले उहाँहरूलाई एउटै डालोमा हाल्नु गलत हो । प्रचण्डको पृष्ठभूमि र एजेन्डा फरक हो । तर, जब पार्टीभित्र टुटफुट हुन्छ, नेताहरू व्यक्तिगत स्वार्थका लागि अलग हुन्छन्, तब हामीजस्ता सहिद परिवारलाई सबैभन्दा धेरै दुख्छ । उहाँहरू व्यक्तिगत स्वार्थका लागि नै टुटेको जस्तो लाग्छ । सहिद परिवारको नाममा पनि हरेक पटक नाफा खाइराख्ने मान्छे पनि छन् । जसको आवाज माथि पुगेको छैन, त्यो मान्छे सधैँ तलै छ ।

  • अन्त्यमा, तपाईं आफ्नो पार्टी र त्यसको नेतृत्वलाई के भन्न चाहनुहुन्छ ?

अब टुटफुट र विभाजनको खेल बन्द गर्नुहोस् । यदि भोलि यसरी नै अगाडि बढ्ने हो भने हामी सहिद परिवारहरू, जसको आवाज सुनिएको छैन, चुप लागेर बस्ने छैनौँ । हाम्रो पनि एउटा टिम तयार गरेर खबरदारीका लागि अगाडि आउनेछौँ । अनि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पार्टी फुट्नुअघि, कुनै स्वार्थको खेल खेल्नुअघि, एकपटक हामीजस्ता परिवारलाई सोध्ने गर । जसको रगतमाथि टेकेर आज तपाईंहरू यो ठाउँमा हुनुहुन्छ, कम्तीमा उनीहरूको भावनाको सम्मान गर्न सिक्नुहोस् । नत्र इतिहासले तपाईंहरूलाई कहिल्यै माफी दिनेछैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप