रास्वपाको ध्यान निर्वाचनमा, अन्तरविरोधबारे के भयो छलफल ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिहरूलाई तीव्रता दिने भएको छ।
- पार्टीले मतदाता नामावली अद्यावधिक गराउन अभियान चलाउने निर्णय गरेको छ, जसले निर्वाचनको तयारीलाई जोड दिन्छ।
- सचिवालय बैठकमा समसामयिक राजनीतिको समीक्षा र पार्टीभित्रको असन्तुष्टि समाधानबारे छलफल भएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने भएको छ ।
आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले मतदाता नामावली अद्यावधिक गराउन पार्टीको तर्फबाट अभियान नै चलाउने निर्णय गरेकाे सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।
बैठकमा कात्तिक २१ र २२ गते बस्ने केन्द्रीय समितिको विस्तारित भेलाको तयारी, मतदाता नामावली अद्यावधिक, समसामयिक राजनीतिको समीक्षा लगायत विषयमा छलफल भएको आचार्यले बताए ।
‘रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचन केन्द्रीय हुनेबारे छलफल भएको छ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि अभियान नै चलाउन जानुपर्नेमा जोड दिएको छ’, उनले भने ।
यस्तै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरण बनाउने पहिलो काम सरकारको भएको आचार्यले स्पष्ट पारे ।
राष्ट्रपतिसँग भएको सर्वदलीय बैठकमा समेत पार्टीको तर्फबाट स्पष्ट धारणा राखेको भन्दै उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दलहरूको पनि उत्तिकै दायित्व भएको बताए ।
उनले भने–‘निर्वाचन सम्बन्धमा मुख्यतः सरकारले नै वातावरण बनाउने हो । सबैलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ । सबै राजनीतिक दलहरूले पनि सहयोगी भूमिका खेल्नुपर्छ । तोकिएकै समयमा निर्वाचन भएन भने नयाँ–नयाँ समस्या आउँछ । देश झन् सङ्कटमा फस्न सक्छ ।’
निर्वाचनमा उम्मेदवारी दिने समानुपातिक र प्रत्यक्ष उम्मेदवार छनोट मापदण्ड कसरी पारदर्शी, सर्वस्वीकार्य बनाउने भन्ने विषयमा छलफल प्रारम्भ भएको तर कुनै निष्कर्षमा नपुगेको उनको भनाइ छ ।
यस्तै पछिल्लो समय पार्टीभित्र देखिएको असन्तुष्टि हल गर्ने सम्बन्धमा संयन्त्रमार्फत विधि बनाएर जान सकिने बताए ।
लोकतान्त्रिक पार्टीभित्र आ–आफ्ना मत राख्नु स्वाभाविक भएको उनले जिकिर गरे । डा. तोसिमाले राखेका अभिव्यक्ति पार्टी र नेतृत्वलाई कमजोर बनाउन नभई बलियो बनाउने विषयमै केन्द्रित रहेको आचार्यको भनाइ छ ।
‘लोकतान्त्रिक पार्टी भएको हुनाले आ–आफ्ना मत राख्न सबैलाई अधिकार छ । तोसिमाजीले नेतृत्वको विकल्पबारे कहीँ कतै अभिव्यक्ति दिनुभएको जस्तो मलाई लाग्दैन’, उनले भने, ‘पार्टीको कहाँ कमजोरी भयो ? कसरी बलियो बनाउने भन्ने विषयमा उहाँ मात्र होइन सबै पार्टी सदस्यलाई अधिकार छ । आ–आफ्ना असन्तुष्टि विधिमार्फत सबैले पार्टी बैठकमा राख्न पाउँछन् । राष्ट्रिय भेला अगाडि नै पार्टीभित्र देखिएका अन्तरविरोध हल गर्न संयन्त्र बनाउनेबारे छलफल भइरहेको छ ।’
सचिवालय बैठक जारी नै भएकाले मङ्गलबार बस्ने बैठकले कार्यवाहाक सभापति डोलप्रसाद अर्यालले पेस गरेको एजेन्डाबारे ठोस निर्णय आउने आचार्यले जानकारी दिए । सचिवालय विस्तारप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य कार्कीले सचिवालय सदस्य बन्न अस्वीकार गरेकी थिइन् ।
यसैगरी फागुनमा सरकारले निर्वाचन घोषणा गरेकाले महाधिवेशन मिति प्रभावित हुन सक्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण