शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजस्व सङ्कलन

पहिलो त्रैमासिकमा भैरहवा र नेपालगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यको नजिक

सोमबार, १० कात्तिक २०८२, १० : ०१
सोमबार, १० कात्तिक २०८२

सारांश

  • जेनजी आन्दोलनका कारण भन्सार कार्यालयमा तोडफोड भए तापनि राजस्व असुलीमा खासै नकारात्मक असर देखिएन।
  • भैरहवा र नेपालगञ्ज भन्सार कार्यालयले गत वर्षको सोही अवधिको तुलनामा राजस्व असुलीमा सुधार गरेका छन्।
  • आन्दोलनका कारण यात्रु प्रतीक्षालय र प्रशासनिक शाखाहरूमा क्षति पुगे पनि राजस्व सङ्कलन सन्तोषजनक रह्यो।
00:00 / NaN:NaN
Audio By AI

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका दुई ठुला भन्सार कार्यालयमा तोडफोड भए पनि राजस्व असुलीमा खासै नकारात्मक प्रभाव परेको छैन । 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भैरहवा भन्सार कार्यालय रुपन्देही र नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा समेत तोडफोड भएको थियो । यी दुवै भन्सार कार्यालयले पछिल्लो तीन महिनामा गरेको राजस्व सङ्कलन लक्ष्यको नजिक रहेको देखिन्छ ।

दुवै भन्सार कार्यालयले गत वर्षको सोही अवधिको तुलनामा राजस्व असुलीमा केही सुधार गरेका छन् । जबकि जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट भन्सार कार्यालयको यात्रु प्रतीक्षालय, प्रशासनिक शाखा, मुद्दा शाखामा क्षति भएपछि कामकाजमा अप्ठ्यारो भएको थियो ।

भैरहवा भन्सार कार्यालय रुपन्देहीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ अर्ब ७५ करोड ६३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका निमित्त प्रमुख सन्तोष कुमार न्यौपानेका अनुसार पहिलो त्रैमासिक अवधिका लागि यो भन्सार कार्यालयले २८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो ।

11111111

भैरहवा भन्सार कार्यालयले साउन महिनामा ८ अर्ब ८४ करोड ८ लाख ४९ हजार राजस्व सङ्कलनको लक्ष्य राखेकोमा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार रुपैयाँ सङ्कलन गरेको छ । प्रतिशतको हिसाबले यो रकम लक्ष्यको १०२ दशमलव ०५ प्रतिशत हो । गत वर्षको साउन महिनामा भैरहवा भन्सार कार्यालयबाट लक्ष्यको ८३ दशमलव ५४ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

यस्तै, भदौ महिनामा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ९ अर्ब ४३ करोड ९२ लाख २४ हजार रुपैयाँ असुल गरेको तथ्याङ्क छ । प्रतिशतको हिसाबले यो लक्ष्यको ९७ दशमलव २५ प्रतिशत हो । जबकि गत वर्षको भदौमा यो कार्यालयबाट लक्ष्यको ९० दशमलव ५ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

असोजमा १० अर्ब १ करोड ७४ लाख १ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ८ अर्ब ७८ करोड १६ लाख ८६ हजार रुपैयाँ असुल भएको छ । यो लक्ष्यको ९२ दशमलव ७१ प्रतिशत हो । गत वर्ष असोजमा महिना भने १०० दशमलव ३९ प्रतिशत सङ्कलन भएको छ । कार्यालयका निमित्त प्रमुख न्यौपानेले गत वर्ष असोजमा जम्मा २७ अर्ब ४६ करोड ८३ लाख ४२ हजार लक्ष्य रहेकोमा २५ अर्ब ७ करोड ४ लाख ९९ हजार सङ्कलन भएको जानकारी दिए ।

यस्तै नेपालगन्ज भन्सार कार्यालयले साउन महिनामा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा १ अर्ब ३८ करोड ३६ लाख ८४ हजार रुपैयाँ असुल गरेको छ । प्रतिशतको हिसाबले यो लक्ष्यको ७४ दशमलव १४ प्रतिशत हो । गत वर्ष साउन महिनामा यो भन्सार कार्यालयले लक्ष्यको ७३ दशमलव ३७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

यस्तै भदौ महिनामा १ अर्ब ९३ करोड ६४ लाख ५७ हजार रुपैयाँ सङ्कलनको लक्ष्य तोकिएकोमा १ अर्ब ३५ करोड १० लाख ९ हजार रुपैयाँ असुल गरेको छ । यो लक्ष्यको ६९ दशमलव ७७ प्रतिशत हो । गत वर्ष भदौमा यो भन्सार कार्यालयले लक्ष्यको ६६ दशमलव ६२ प्रतिशत सङ्कलन गरेको थियो ।

यस्तै असोज महिनामा १ अर्ब ९८ करोड ३१ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा १ अर्ब ७४ करोड १७ लाख सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ, जो लक्ष्यको ८७ दशमलव ८३ प्रतिशत हो । गत वर्ष असोज महिनामा यो भन्सार कार्यालयबाट लक्ष्यको ६६ दशमलव ९१ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले जेनजी आन्दोलनको क्रममा यात्रु प्रतीक्षालय, मुद्दा शाखा लगायतमा क्षति भए पनि राजस्व असुलीको स्थिति सन्तोषजनक रहेको बताए । ‘आयात र निर्यात दुवैमा आन्दोलनले असर पारेको छैन,’ उनले भने, ‘कार्यालय तोडफोड भए पनि हामीले दुई–तीन दिनमै सेवा सुचारु गरेका थियौँ ।’

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष होमराज भुसालले आन्दोलनका क्रममा सरकारी तथा निजी क्षेत्र तोडफोड भए पनि बजार, खासगरी भारतबाट आउने बस्तुहरूको माग उस्तै रहेकाले भन्सार कार्यालयहरू राजस्व सङ्कलनको लक्ष्य नजिक पुगेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप