मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समय नमिलेका कारण किमसँग भेट सम्भव भएन : ट्रम्प

बुधबार, १२ कात्तिक २०८२, १७ : १७
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरिया भ्रमणमा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट नभएको बताए ।
  • ट्रम्पले यसअघि किमलाई भेट्ने इच्छा व्यक्त गरेका थिए, तर समय अभावका कारण भेट हुन सकेन ।
  • उत्तर कोरियाले क्रुज मिसाइल परीक्षण गरेको र दुई देशबीचको सम्बन्धमा थप चासो बढेको छ ।

दक्षिण कोरिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट सम्भव नभएको बताएका छन् । उनका अनुसार ‘समयले साथ नदिँदा’ दुवै नेताको भेटको तालिका मिल्न सकेन ।

ट्रम्पले यसअघि आफ्नो एसिया भ्रमणकै क्रममा किमलाई ‘भेट्न चाहने’ इच्छा व्यक्त गरेका थिए । यो ह्वाइट हाउसमा आफ्नो अघिल्लो कार्यकालपछि हुने सम्भावित पहिलो भेट हुने थियो । यद्यपि उत्तर कोरियाले सो निमन्त्रणालाई सार्वजनिक रूपमा पुष्टि गरेको छैन ।

दक्षिण कोरियामा ट्रम्पको आगमन हुनुअघि नै प्योङयाङले पश्चिमी तटबाट क्रुज मिसाइल परीक्षण गरेको घोषणा गरेको थियो । उत्तर कोरियाले यसलाई आफ्ना ‘शत्रुहरूलाई चेतावनी दिने सन्देश’ का रूपमा प्रस्तुत गरेको थियो ।

‘म किम जोङ उनलाई राम्ररी चिन्छु...हामीले केवल समय मिलाउन सकेनौँ’, ट्रम्पले सञ्चारकर्मीहरूसँग भने । उनले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँगको भेटमा कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्ने लक्ष्य राखिएको पनि बताए ।

राष्ट्रपति लीले ट्रम्पको पहलको प्रशंसा गर्दै भने, ‘किम जोङ उनलाई पठाइएको निमन्त्रणाले कोरियाली प्रायद्वीपमा न्यानो र शान्तिको वातावरण सिर्जना गरेको छ ।’ दक्षिण कोरिया अझै प्राविधिक रूपमा उत्तर कोरियासँग युद्धको अवस्थामै रहेको छ ।

ट्रम्पले यसअघि नै ‘निकट भविष्यमा’ किमसँग भेट्ने अपेक्षा व्यक्त गरेका थिए । उनले एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘कुनै समय, हामी उत्तर कोरियासँग संलग्न हुनेछौँ । मलाई लाग्छ, उनीहरू पनि चाहन्छन्, म पनि चाहन्छु ।’

स्मरणीय छ, ट्रम्प र किमबिच अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा तीन पटक उच्चस्तरीय शिखर बैठकहरू भएका थिए । सन् २०१९ मा दुई देशबिचको सीमारेखा डिमिलिट्राइज्ड जोन (डिएमजेड) स्थित पान्मुन्जोममा भएको अन्तिम भेट सर्वाधिक ऐतिहासिक मानिन्छ ।

त्यो भेटअघि ट्रम्पले ट्विटरमार्फत अचानक निमन्त्रणाको घोषणा गरेका थिए । त्यसपछि दुवै नेताले उत्तर र दक्षिणलाई विभाजन गर्ने कन्क्रिट स्ल्याबमाथि हात मिलाएका थिए । सो क्रममा ट्रम्प केही कदम प्योङयाङतर्फ अघि बढ्दै उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।

तर उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमको कति भाग त्याग्ने र त्यसको सट्टामा पाउने राहतका विषयमा सहमति हुन नसकेपछि ती वार्ताहरू अन्ततः असफल भए । त्यसपछि प्योङयाङले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति सम्पन्न राष्ट्र’ घोषणा गरेको थियो ।

ट्रम्प र किमबिचको पुनः सम्भावित भेटबारे कूटनीतिक वृत्तमा चासो बढिरहेको भए पनि हालको राजनीतिक र सुरक्षागत परिस्थिति अझै अनुकूल नभएको विश्लेषकहरूले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप