बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अविरल वर्षाले काेशी प्रदेशका ४ सडकखण्ड अवरुद्ध, वैकल्पिक मार्ग छैन

शुक्रबार, १४ कात्तिक २०८२, १० : २७
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • लगातार वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ४ वटा सडकखण्ड अवरुद्ध भएका छन्।
  • बाढी र पहिरोका कारण सडकमा क्षति पुगेको छ, जसले गर्दा यातायात प्रभावित भएको छ।
  • अवरुद्ध सडक खुलाउने र वैकल्पिक मार्गको व्यवस्थापनका लागि प्रयास जारी छ।

विराटनगर । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण काेशी प्रदेशका  विभिन्न जिल्लामा ४ वटा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण सडकमा क्षति पुगेको र हालसम्म कुनै पनि अवरुद्ध सडक खुल्न नसकेको तथा वैकल्पिक मार्ग पनि उपलब्ध नभएको काेशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका-२ र धनकुटाको चौबिसे गाउँपालिका-४ को सिमानामा पर्ने नावाखोलामा आएको बाढीले तमोर-कोरिडोर सडकखण्ड अवरुद्ध भएको छ। नावाखोलामा पानीको बहाव अत्यधिक बढेकाले सडकमा क्षति पुगेको छ। नजिकको प्रहरी इकाई अप्रचो नावाखोलाले अवस्थाको निगरानी गरिरहेको छ।

ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका-६ र ७ को सिमानामा पर्ने भन्डारे खोलामा आएको बाढीले सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। खोलामा पानीको बहाव बढेकाले सडकमा क्षति पुगेको छ। यस क्षेत्रमा प्रहरी चौकी हर्कपुर परिचालन भएको छ।

इलाम जिल्लाको इलाम नगरपालिका-१ राजदुवालीस्थित मेची राजमार्गमा र इलाम नगरपालिका-१० शिल्पुरदेखि इलाम नगरपालिका-८ तिल्केनीसम्मको भित्री सडकखण्ड वर्षाका कारण अवरुद्ध भएका छन्। यस ठाउँमा जमिन चिरा परेर बाटो धसिएको छ।

जिल्ला प्रहरी कार्यालय इलाम (जिप्रका इलाम) ले स्थितिको अवलोकन गरिरहेको छ। धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिका-५ लुम्फुजुङस्थित रवि राके भेडेटार भित्री सडकखण्ड पनि वर्षाका कारण भासिएर अवरुद्ध भएको छ। यस क्षेत्रमा प्रचौ डाँडाबजार (प्रहरी चौकी डाँडाबजार) नजिकै छ।

हालसम्म कुनै पनि सडकखण्ड खुल्ने मिति तय भएको छैन भने यी सबै स्थानमा कुनै वैकल्पिक मार्ग उपलब्ध नभएकाले यात्रुहरूलाई असहज भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप