आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

‘पुराना वामपन्थी पार्टीहरूमा देखिएको विघटनको अवस्था वैचारिक सङ्कटको परिणाम’

सोमबार, १७ कात्तिक २०८२, १३ : २८
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले जेनजी विद्रोहपछिको वामपन्थी पार्टीहरूको विघटन पुरानो कम्युनिस्ट आन्दोलनको वैचारिक संकटको परिणाम भएको निष्कर्ष निकालेको छ।
  • पार्टीले 'सर्वहाराकरण' को सट्टा 'कम्युनिस्टकरण' र 'सामुदायिकीकरण' को नीति तय गर्दै, सदस्यहरूको सम्पत्तिको कम्युनिस्टकरण गर्ने निर्णय गरेको छ।
  • पार्टीले जेनजी विद्रोहपछिको राजनीतिक अन्तर्विरोध प्रतिगमन वा यथास्थितिबाट हल नहुने र नयाँ विद्रोहको लागि आह्वान गरेको छ।

काठमाडौँ । विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले जेनजी विद्रोहपछि वामपन्थी पार्टीहरूमा विघटनको अवस्थामा पुग्नु पुरानो कम्युनिस्ट आन्दोलनमा रहेको वैचारिक सङ्कटको परिणाम भएको निष्कर्ष निकालेको छ ।

 कात्तिक १२ देखि १५ गतेसम्म काठमाडौँमा बसेको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो । इतिहासमा असफल भइसकेको पुराना कम्युनिस्ट पार्टी, व्यक्ति र समूहको  गठजोडले नयाँ युगलाई हाँक्न नसक्ने स्पष्ट पारेको छ ।

‘जेनजी विद्रोह’पछि वामपन्थी पार्टीहरूमा देखिएको विघटन, भागदौड र हायलकायलको अवस्था वास्तवमा पुरानो कम्युनिस्ट आन्दोलनमा रहेको वैचारिक सङ्कटको परिणाम हो । जुन कुरा हाम्रो पार्टीले स्थापनाकालदेखि नै स्पष्ट पार्दै आएको छ । त्यसैले इतिहासमा असफल पार्टी, व्यक्ति र समूहहरूको गठजोडद्वारा नयाँ युगलाई हाँक्न सक्ने शक्तिको जन्म सम्भव छैन’, विज्ञप्तिमा भनिएको छ ।

त्यसैले विभिन्न समूहहरूमा रहेका सच्चा कम्युनिस्ट र क्रान्तिकारीहरूलाई नयाँ युगको क्रान्तिका निम्ति वैचारिक स्पष्टतासहित ध्रुवीकरणको नयाँ यात्राको सङ्कल्प लिएर अघि बढ्न बैठकले विशेष अपिल गरेको छ ।

पार्टीले पुरानो कम्युनिस्ट आन्दोलनले निजी सम्पत्ति र स्वामित्वको विकल्पको रूपमा अघि बढाउँदै आएको ‘सर्वहाराकरण’को सट्टामा ‘कम्युनिस्टकरण’ र ‘सामुदायिकीकरण’को नीति तय गरेको थियो ।   बैठकले उक्त नीतिलाई पार्टीभित्र र समुदायमा लैजाने ठोस कार्यक्रम बनाएको छ । त्यसको निम्ति पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय पूर्णकालीन शिविर सदस्यहरूको निजी सम्पत्तिको कम्युनिस्टकरण र सामुदायिकीकरणको ठोस प्रक्रिया प्रारम्भ गरेको छ ।

यस्तै  ‘जेनजी विद्रोह’पछि उत्पन्न नेपाली समाजमा देखिएको राजनीतिक अन्तर्विरोध कुनै पनि खालको प्रतिगमन वा यथास्थितिबाट हल हुने सम्भावना नभएको निष्कर्ष निकालेको छ ।

‘ ‘जेनजी विद्रोह’ले धूलिसाथ पारिसकेको दलाल संसदीय पुँजीवाद र फगत संसदीय निर्वाचनको यथास्थितिवादी प्रपञ्चमा मात्रै देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ विद्रोहका निम्ति सच्चा देशभक्त, क्रान्तिकारी, प्रगतिशील र जेनजीहरूले अपिल र पहलकदमी लिनुपर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

पार्टीले आत्मनिर्भर उत्पादन प्रणालीसहित वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिसहित नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलनको नवीन कार्यदिशा तय गरेको र  केही समययता भइरहेको क्रियान्वयनको समीक्षा गर्दै आजसम्मको अनुभवलाई ज्ञानको रूपमा संश्लेषण गरेको बताएको छ । बैठकले ठोस परियोजनासहित समानान्तर अर्थतन्त्रको मार्गचित्रमा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको छ ।

साथै  सच्चा जेनजीहरूलाई ‘जेनजी विद्रोह’पछि वैदेशिक हस्तक्षेपहरूमार्फत भएका विभिन्न षड्यन्त्र र चलखेललाई चिन्दै ‘जेनजी विद्रोह’को मर्म र भावनालाई तार्किक निष्कर्षमा लैजान नेपाली समाजको रूपान्तरणको वैज्ञानिक विचार, संगठन र वैचारिक नेतृत्व निर्माणको प्रक्रियामा लामबद्ध हुन बैठकले विशेष अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप