बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति दल

फुटले थिलथिलो उपेन्द्रको पार्टी : ‘पुरानो घर’ फर्किन गरेको आह्वान मान्लान् ?

आइतबार, २३ कात्तिक २०८२, १६ : ००
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेर गएका नेता कार्यकर्तालाई पुरानै घरमा फर्किन आह्वान गरेका छन्।
  • पार्टी स्थापनादेखि नै फुटको सिकार बनेको जसपा नेपालमा नेता तथा कार्यकर्ता अन्य पार्टीमा सक्रिय छन्।
  • अध्यक्ष यादवको आह्वानलाई कतिपयले राजनीतिक 'कट सी'का रूपमा लिएका छन् भने कसैले नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन्।

काठमाडौँ । कात्तिक २० गते जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच नमानी ‘पुरानै घर’मा फर्किन आह्वान गरे । केन्द्रीय समिति बैठकलाई सम्बोधनका क्रममा उनले गरेको आह्वान जसपा नेपाल मात्रै नभएर मधेसी जनअधिकार फोरम नेपाल हुँदादेखि छुट्टिएर गएकाहरुलाई पनि हो भन्ने देखिन्छ ।

पार्टी स्थापनादेखि नै उपेन्द्र यादव नेतृत्वको पार्टी पटक-पटक फुटको सिकार बन्दै गएको छ । देशमा जेनजी आन्दोलनपछि पुराना पार्टीहरु रक्षात्मक बनेको अवस्था छ । यसैबीच यादवले पनि आफूसँग छुटेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । 

२०६३ सालको मधेस आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका हुन् उपेन्द्र यादव । त्यसपछि उनले गैरसरकारी संस्थाको रुपमा रहेको मधेसी जनअधिकार फोरम नेपाललाई नै पार्टीको रुपमा स्थापना गरे । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ५२ सिट जित्दै फोरम नेपाल देशको चौथो ठुलो पार्टी बन्यो । 

तर पार्टी सरकारमा जान थालेपछि फोरम नेपालले फुटको शृंखला थप्दै लग्यो । सुरुमा भाग्यनाथ गुप्ता फोरम नेपालबाट अलग भए । त्यसपछि अमर यादवको समूह पनि अलग भयो । कानुनी रुपमा पार्टी नै विभाजन भने विजयकुमार गच्छदारले गरे । फोरम नेपाल विभाजन गरी उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरे । त्यसपछि फेरि जयप्रकाश प्रसाद गुप्ताले पार्टी विभाजन गरी मधेसी जनअधिकार फोरम गणतान्त्रिक बनाए । 

मधेसी जनअधिकार फोरम नेपाल पछि एमालेबाट छुट्टिएका अशोक राई समूहको पार्टी संघीय समाजवादी पार्टीसँग एकीकृत भयो र पार्टीको नाम राखिएको संघीय समाजवादी फोरम नेपाल । यो पार्टीमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पनि एकीकृत भयो । पछि महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायत नेताहरुका पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी बनाइयो । तर त्यो पार्टी पनि सग्लो रहन सकेन ।

महन्थ ठाकुरको नेतृत्वमा पार्टी विभाजन भई लोकतान्त्रिक समाजवादी पार्टी बन्यो । डा. बाबुराम भट्टराईको समूह पनि अलग भएर नेपाल समाजवादी पार्टी बनाए । डेढ वर्षअघि अशोक राईले जनता समाजवादी पार्टी नेपाललाई विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका छन् । 

यसरी पटक-पटक विभाजन भएपछि थुप्रै नेता कार्यकर्ता उपेन्द्रको साथ छोडेर अरु नै पार्टीमा सक्रिय छन् । कुनै समय विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, जेपी गुप्ता, रेणु यादव, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, रामेश्वर राय यादव, अनिलकुमार झा, सरिता गिरी, महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव, रामनरेश राय यादव, प्रदीप यादव, इस्तियाक राई, भरतविमल यादव, महादेव साह, उपेन्द्र झा, बीपी यादव, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, प्रमोद साह, उमाशंकर अरगरिया, दानबहादुर चौधरी, उमाशंकर अरगरिया, अशोक राइ, मोहम्मद रिजवान अन्सारी, रञ्जु ठाकुर, राजेन्द्र श्रेष्ठलगायत थुप्रै नेताले उपेन्द्र यादवको नेतृत्व स्विकारेर साथ दिएका थिए । 

तर अहिले यी कुनै पनि नेता उपेन्द्रको साथमा छैनन् । अहिले बदलिएको परिस्थितिमा सबैलाई पुरानो पार्टीमा फर्किन उपेन्द्रले आह्वान गर्दा कति प्रभावकारी होला ? 

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएर तराई मधेश फोरम गठन गरेका अमर यादव भन्छन्, ‘उपेन्द्रजीले गर्नुभएको आह्वानमा कुनै सत्यता छैन । उहाँले एउटा राजनीतिक ‘कट सी’ का लागि बोल्नुभएको हो । केपी ओली र प्रचण्डले पनि बेलाबेला यस्तो भाषा बोल्नु हुन्छ ।’ उपेन्द्रको आह्वानले कोही पनि पार्टीमा नफर्किने यादवको दाबी छ । 

बदलिएको परिस्थितिमा नयाँ ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता देखिएकाले अध्यक्ष यादवले पार्टी छाडेर गएकाहरुलाई फर्किन आग्रह गरेको जसपा नेपालका महासचिव रामकुमार शर्मा बताउँछन् । शर्मा पनि कुनै बेला उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाठ अलग भएका थिए । उनी लोसपा, माओवादी केन्द्र हुँदै पुनः उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फर्केका हुन् । 

‘पहिचानको मुद्दा र देशमा देखिएका विद्यमान मुद्दामा संघर्ष गर्न उपेन्द्र यादवबाट मात्र सम्भव देखिएकाले सबै नेता तथा कार्यकर्ताहरु गोलबन्द हुनुको विकल्प छैन,’ उनी भन्छन् । 

विगतमा पार्टी नेतृत्व र अन्य नेताहरुबाट भएका कमीकमजोरीलाई सुधारेर अघि बढ्नुपर्ने यादव बताउँछन् । ‘एउटै कम्युनिस्ट पार्टीबाट अलग-अलग रहेका दलहरु मिल्न सक्छन् भने मधेस केन्द्रित दलहरु, पहिचानवादी शक्तिहरु पनि एकीकृत हुन नसक्ने कुरा हुँदैन,’ उनी भन्छन् । 

जसपा नेपालबाट अलग भएर बनेको जसपाका महासचिव इस्तियाक राई उपेन्द्र यादवको आह्वान सकारात्मक भएपनि पुरानो घरमा भन्दा नयाँ घरमा भित्रिन उपयुक्त हुने बताउँछन् । 

‘उपेन्द्रजी हाम्रो नेता हुनुहुन्छ, उहाँलाई हामी नेता मान्छौं । उहाँ नयाँ घर (जसपा)मा आउनुभयो भने उहाँलाई अध्यक्ष मानेर जान्छौं,’ महासचिव राई भन्छन्, ‘उहाँले पुरानो घरमा फर्किन भन्नुभएको छ, मैले पुरानो घरभन्दा नयाँ घर बलियो हुन्छ, त्यो घरमा भित्रिँदा राम्रो हुन्छ ।‘
पार्टी विभाजन गरेर गएका र छाडेर गएका कतिपय नेताहरुसँग उपेन्द्र यादवले अनौपचारिक छलफल गरिसकेका छन् । जिल्ला र स्थानीय स्तरका केही नेता कार्यकर्ता फर्किन थालेको जसपा नेपालको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप