नेपाली कम्युनिस्ट पार्टीमा ३५ सदस्यीय सचिवालय बनाउने तयारी
सारांश
- १० वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउने भएको छ।
- एकता घोषणा सभाले पुष्पकमल दाहाल प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक चयन गर्यो।
- झलनाथ खनालको नेतृत्वमा उच्चस्तरीय कार्यदल बन्ने र भीम रावल कात्तिक २७ गतेसम्म एकता प्रक्रियामा आउने सम्भावना छ।
काठमाडौँ । कात्तिक १९ गते १० वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउने भएको छ । काठमाडौँमा भएको एकता घोषणा सभाले संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाललाई निर्वाचित गरेको थियो ।
निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामै रहेकाले केही दिनमै कार्यदल बनाएर समायोजन प्रक्रिया अगाडि बढाउने नेता हरिबोल गजुरेलले जानकारी दिए । शनिबार पेरिसडाँडामा बसेको पार्टी एकता कार्यदलसहित शीर्ष नेताहरूको बैठकले उच्च तहकै नेतृत्वमा कार्यदल बनाएर जाने समझदारी भएको गजुरेलले बताए । उनका अनुसार नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल बन्न सक्ने सम्भावना रहेको छ ।
‘केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गृहकार्य चलिरहेको छ । एउटा उच्चस्तरीय समायोजन कार्यदल बनाउने तयारी भइरहेको छ । सबै पार्टीबाट समेटेर १०/१५ जनाको कार्यदल बनाउने भन्ने छ । तर निष्कर्षमा पुगेको छैन’, उनले भने ।
दैनिक कार्य सम्पादनका लागि ३५ जना आसपासको सचिवालय बनाउने तयारी भएको उनले जानकारी दिए । पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका पदाधिकारी रहनेछन् । एकता प्रक्रियामा आएका अन्य दलका पदाधिकारीलाई के गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको गजुरेलले बताए ।
एकता अगाडि प्रदेश, जिल्ला, पालिका र वडा तहसम्मै एक दलको संयोजक भएमा अर्को दलले सहसंयोजक रहने समझदारी भएको नेताहरूले बताएका थिए । एकतापछि कति जनाको केन्द्रीय समिति बनाउने भन्नेमा पनि कुनै निष्कर्षमा नपुगेको उनले बताए ।
यता वार्ता टोली सदस्य समेत रहेका नेता प्रकाश ज्वालाले हिजोसम्म दल दर्ता प्रक्रियामै रहेकाले समायोजन प्रक्रियामा प्रवेश नै नगरेको जिकिर गरे । अहिलेसम्म वार्ता टोलीबाट नै सबै प्रक्रिया अगाडि बढाइरहेको उनले बताए । तल्लो तहसम्म एकता र समायोजनका लागि एक उच्चस्तरीय कार्यदल बनाउने विषयमा छलफल भइरहेपनि निष्कर्षमा नपुगेको ज्वालाले बताए ।
उनले भने, ‘हिजोसम्म निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामै अल्झिएकाले व्यवस्थापनको विषयमा छलफल हुन सकेको छैन । केन्द्रदेखि स्थानीय तहसम्म समायोजन र व्यवस्थापन कसरी गर्ने भन्नेमा भोलिसम्म केही टुंगो लाग्ला ।’
केन्द्रीय समितिको संख्या करिब दुई हजार नजिक रहने नेताहरूले बताएका छन् । त्यही अनुसारको पोलिटब्युरो, स्थायी समिति बनाउने सम्बन्धमा छलफल भइरहेको उनीहरूको भनाइ छ । केन्द्रमा ३५ सदस्यीय कोर टिम, एक सय हाराहारीको स्थायी समिति वा कुनै समिति बन्न सक्ने ज्वालाले बताए ।
यस्तै एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल कात्तिक २७ गतेसम्म एकता प्रक्रियामा आउने नेताहरूले बताएका छन् । मातृभूमि जागरण अभियानका संयोजक समेत रहेका रावललाई आफ्ना सहयोगीसँग छलफल गर्न दुई/तीन दिनको समय दिएकाले आन्तरिक छलफलमा रहेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि एकतामा आउन सकारात्मक रहेको ज्वालाले बताए ।
‘पार्टी एकतामा आउनका लागि जसपा पनि सकारात्मक देखिएको छ । केन्द्रीय समिति बैठकबाट निर्णय गर्छौँ भनेका छन् । सायद केही दिनमै निर्णय आउला’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण