बर्दिबासको बारमा मुख्यमन्त्रीको शपथ गराउनु गणतन्त्रकै उपहास हो : उपेन्द्र यादव
सारांश
- मधेस प्रदेशमा मध्यरातमा मुख्यमन्त्री नियुक्त र शपथ गराइएको घटनालाई लिएर जसपा अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन्।
- यादवले नेकपा एमालेलाई यस घटनाको मुख्य जिम्मेवार ठहर्याएका छन् र यस कदमको विरुद्ध राजनीतिक, कानुनी र संसदीय संघर्ष गर्ने बताए।
- उनले प्रदेश प्रमुखलाई बर्खास्त गर्नुपर्ने र एमाले बाहेकका दलहरूसँग मिलेर नयाँ सरकार बनाउने सम्भावनाबारे छलफल भइरहेको जानकारी दिए।
विराटनगर । मधेस प्रदेशमा मध्यरातमा नयाँ मुख्यमन्त्री नियुक्त गर्दै शपथसमेत गराइएपछि राजनीतिक तरङ्ग पैदा भएको छ । प्रदेश राजधानी जनकपुरधाम बाहिर, बर्दिबासको एक होटेलमा गरिएको यो अपारदर्शी अभ्यासलाई लिएर विभिन्न राजनीतिक दलले तीव्र असन्तुष्टि जनाएका छन् ।
प्रस्तुत छ, यही घटनाक्रम र आगामी राजनीतिक दिशाबारे जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग रातोपाटीका लागि अर्जुन आचार्यले गरेको कुराकानीको सम्पादित अंशः
- मधेस प्रदेशमा मध्यरातमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई तपाईंले कसरी हेर्नुभएको छ ?
यो अत्यन्तै हाँस्यास्पद र दुर्भाग्यपूर्ण घटना हो । मध्यरातमा मुख्यमन्त्री नियुक्ति गर्ने, शपथ गराउने ! त्यो पनि प्रदेशको राजधानी जनकपुर छोडेर, जहाँ प्रदेश प्रमुखको कार्यालय र निवास छ, त्यो सबै छोडेर बर्दिबासको एउटा बारमा गएर यो सबै गर्नुले के संकेत गर्छ ? योभन्दा हाँस्यास्पद कुरा के हुन सक्छ ? संसारमा कहीँ नभएको जात्रा मधेसमा देखाइयो । यो लोकतन्त्र र गणतन्त्रकै उपहास हो ।
- यो घटना हुनुमा तपाईं कसलाई जिम्मेवार देख्नुहुन्छ ?
यसमा नेकपा एमाले पूर्ण रूपमा जिम्मेवार छ । अहिले देश बर्बाद हुनुको पछाडि नेकपा एमालेको यही हर्कत जिम्मेवार छ । उहाँहरूले अझै पनि चेतेको देखिँदैन । हामीले त अब त चेत्नुभयो होला भन्ने सोचेका थियौँ, तर उहाँहरू कहिल्यै नसुध्रिने देखियो । यो सम्पूर्ण घटनाको मुख्य योजनाकार र जिम्मेवार नेकपा एमाले नै हो ।
- अब तपाईंहरूको पार्टीले के गर्छ ? तपाईंहरूको आगामी कदम के हुन्छ ?
हामी यो अलोकतान्त्रिक कदमको विरुद्धमा उभिन्छौँ । हाम्रो पार्टी राजनीतिक, कानुनी र संसदीय संघर्षको बाटोबाट अगाडि बढ्छ । हामी जनतालाई साथमा लिएर यो गलत प्रवृत्तिको भण्डाफोर गर्छौं । जे हुनुपर्ने हो, त्यो पारदर्शी ढंगले हुनुपर्थ्यो, तर जुन चोर बाटोबाट काम गरियो, त्यो हामीलाई स्विकार्य छैन ।
- त्यसो भए एमालेबाहेकका अन्य दलहरूसँग मिलेर नयाँ सरकार बनाउने वा गठबन्धन गर्ने कुनै सम्भावना छ ? छलफल अगाडि बढेको हो ?
निश्चित रूपमा । यो असंवैधानिक र अराजनीतिक कार्य हो भन्नेमा सबै दलहरूबिच छलफल हुनु जरुरी छ । हामी यो विषयमा अन्य दलहरूसँग छलफल गरिरहेका छौँ । एमालेबाहेकको सरकार बन्न असम्भव छैन । यसतर्फ हाम्रो प्रयास र छलफल अगाडि बढिसकेको छ ।
- यसमा प्रदेश प्रमुखको भूमिकालाई लिएर पनि प्रश्न उठेको छ । उहाँले राजीनामा दिनुपर्छ भन्ने पनि आएको छ । यसबारेमा तपाईंहरूको धारणा के हो ?
प्रदेश प्रमुखले राजीनामा दिनेमात्र होइन, उहाँलाई त बर्खास्त गर्नुपर्छ । अहिलेको संघीय सरकारले उहाँलाई तुरुन्त बर्खास्त गर्नुपर्छ । संवैधानिक पदमा बसेको व्यक्तिले यस्तो गैरजिम्मेवार र अमर्यादित काम गर्न सुहाउँदैन ।
- तर संवैधानिक रूपमा त प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्त गर्ने अधिकार छ नि, होइन र ?
अधिकार छ भनेर चोर बाटो समात्ने ? अधिकारको प्रयोग त दिनदहाडै गर्नुपर्छ नि ! के यो दिउँसै बाजा बजाएर गर्न सकिँदैनथ्यो ? प्रदेशको राजधानीमा आफ्नै कार्यालयमा गर्न सकिँदैनथ्यो ? राति, होटेलको बारमा लुकेरछिपेर गर्नुले नै उहाँहरूको नियत र प्रक्रिया गलत थियो भन्ने स्पष्ट पार्छ ।
- यो घटनाक्रमले संघीयताको अभ्यास र मधेसको भविष्यमाथि नै प्रश्न उठाएको छ । अब मधेसको राजनीति कसरी अगाडि बढ्छ ?
मधेसको राजनीति लोकतान्त्रिक विधि र प्रक्रियाबाटै अगाडि बढ्छ । हामी यही संविधान अन्तर्गत रहेर आफ्ना अधिकारका लागि लड्छौँ । यस्ता घटनाले क्षणिक रूपमा प्रणालीलाई कमजोर बनाउन खोजे पनि हामी यसलाई सही बाटोमा ल्याउन संघर्ष गर्छौं ।
- अबको मुख्य प्राथमिकता के हो ? मुख्यमन्त्री को बन्छ ? तपाईंहरूको पार्टीबाहेक अरू कसैलाई मुख्यमन्त्री बनाउन पनि तपाईंहरू सहमत हुनुहुन्छ ?
मुख्यमन्त्री को बन्छ भन्ने कुरा गौण हो । त्यो पछिको कुरा भयो । अहिलेको मुख्य विषय भनेको विधि, प्रक्रिया र संवैधानिक प्रश्न हो । जुन असंवैधानिक र अलोकतान्त्रिक काम भएको छ, पहिले त्यसलाई सच्याउनुपर्छ । हाम्रो लडाइँ पदका लागि होइन, पद्धतिका लागि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण