बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागलुङमा थपिए ६३१ मतदाता

मङ्गलबार, २५ कात्तिक २०८२, ०३ : ४२
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन्, निर्वाचन कार्यालयले नामावली सङ्कलन गरिरहेको छ।
  • निर्वाचन आयोगको निर्देशन अनुसार अनलाइन र कार्यालयबाट त्रुटि सच्याउने काम भइरहेको छ।
  • कार्यालयले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने जनाएको छ।

बागलुङ ।  बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार बागलुङमा मतदाता नामावली सङ्कलन भइरहेको छ । आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङ तयारीमा जुटेको छ । 

कार्यालयले मतदाता नामावली सङ्कलन, ठाउँसरी र त्रुटि सच्चाउने कार्य कार्यालयबाट दैनिक रूपमा गरिरहेको छ । निर्वाचन आयोगको निर्देशनअनुसार असोज ९ गतेपछि अनलाइन र कार्यालय दुवै स्थानबाट ठाउँसरी र त्रुटि सच्चाउने काम भइरहेको छ भने कार्यालयबाट नयाँ मतदाता नामावली सङ्कलनको काम भइरहेको छ । 

निर्वाचनको मिति घोषणा भएको असोजको ९ गतेपछि अहिलेसम्म बागलुङ जिल्लामा ६३१ मतदाता नामावली सङ्कलन गरिएको ३१६ जनाको ठाउँसरी गरिएको र ५१ जनाको त्रुटि सच्चाइएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयलाई कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम गर्नु भनी आएको परिपत्रअनुसार दैनिक नयाँ मतदाता नामावली दर्ता र अद्यावधिकको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख तथा निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए। उनले नयाँ नामावली दर्ता, ठाउँसारी र त्रुटि सच्चाउने काम जिल्ला निर्वाचन कार्यालय बागलुङबाट भइरहेको बताए । 

उनले नेपालका जुनसुकै निर्वाचन कार्यालयबाट नामावली सङ्कलनको काम गर्न सकिने बताउँदै बागलुङ जिल्ला ठेगाना भएकाले यही निर्वाचन कार्यालय आउनुपर्छ भन्ने नरहेको बताए । 

उनले ठाउँसरीका लागि भने बसाइसराइ दर्ता प्रमाणपत्र अथवा विवाह दर्ताको प्रमाण अनिवार्य रहेको बताए । यस्तै नागरिकता नम्बर सच्चाउने, नाम, बाबु आमाको नाम तथा निर्वाचन स्थललगायत त्रुटिसमेत सच्चाउने कार्य भइरहेको बताए ।

नयाँ नामावली दर्ताका लागि अनलाइन फारम भरेर जैविक विवरण बुझाउन भने कार्यालयमै आउनुपर्ने रिजालको भनाइ छ । अहिले जिल्लाको इलाका प्रशासन कार्यालय र स्थानीय तहबाट नामावली दर्ता तथा अद्यावधिकको काम नभएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता र ठाउँ सरी गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ । 

पालिका र इलाकामा नामावली दर्ताको सम्भावना हाललाई नभएको आयोगको भनाइ छ । जनशक्ति, बजेट तथा निर्वाचन तालिकाअनुसार जिल्ला निर्वाचन कार्यालयबाट मात्रै नामावली सङ्कलनको व्यवस्था मिलाइएको छ । बागलुङमा पछिल्लो अद्यावधिक मतदाता नामावली अनुसार बागलुङमा एक लाख ७९ हजार १७३ मतदाता रहेका छन् । जसमध्ये महिला ९७ हजार ३४ जना र पुरुष ९२ हजार १३९ जना रहेका छन् । 

जिल्लामा १०६ मतदान स्थल रहेका छन् भने मतदाताको सङ्ख्याका आधारमा केन्द्र व्यवस्थापन गरिनेछ । कात्तिक ३० गतेसम्म जिल्लामा मतदाताको सङ्ख्या केही मात्रमा बढ्ने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप