झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
सारांश
- विश्वकप फाइनलका क्रममा अचानक बत्ती जाँदा फुटबलप्रेमीहरू आक्रोशित भएका छन्।
- विद्युत प्राधिकरणले पथलैया-ढल्केवर १३२ केभी प्रसारण लाइनमा रुख ढलेका कारण समस्या आएको जनाएको छ।
- पछिल्लो दुई आर्थिक वर्षमा विद्युत ट्रिपिङको संख्या र अवधिमा करिब ४० प्रतिशतले कमी आएको तथ्यांक छ, तर व्यवहारमा उपभोक्ताले उस्तै सास्ती भोगिरहेका छन्।
काठमाडौँ । रातको करिब दुई बज्दै थियो। बाहिर झमझम पानी परिरहेको थियो, तर देशभरका घरभित्र भने महौल तातिएको थियो ।
अर्जेन्टिना र स्पेनबिचको फिफा विश्वकप २०२६ को फाइनल भिडन्तले नेपाली फुटबलप्रेमीहरूको मुटुको ढुकढुकी बढाएको थियो। कसैको हातमा रिमोट थियो, कसैको नजर मोबाइलको स्क्रिनमा। होटल, रेस्टुरेन्टदेखि हरेकका बैठक कोठाहरू रंगशालाजस्तै गुञ्जायमान थिए।
तर, खेलको रोमाञ्चकता उत्कर्षमा पुग्दै गर्दा अचानक झ्याप्प बत्ती गयो। निमेषभरमै सारा देश अन्धकारमा डुब्यो। टेलिभिजनका रङ्गीन पर्दाहरू काला भए।
त्यो बिजुलीको लाइन मात्र काटिएको थिएन, खेलको रोमाञ्चकता लिएर उत्साहित भएका र आफूले समर्थन गरेको टिमले गोल गर्न नसकेको चिन्तामा रहेका समर्थकहरू झ्याप्प बत्ती जाँदा आक्रोशित बने।
बत्ती गएको पाँच मिनेट पनि नहुँदै सामाजिक सञ्जालका भित्ताहरू आक्रोशले भरिए। कसैले ‘अँध्यारोको सरकार’ भन्दै सरापे, कसैले ऊर्जामन्त्रीको राजीनामा मागे। कसैले विगतलाई सम्झिए।
शक्तिशाली तथा लोकप्रिय सरकार हुँदा पनि खेलबाड भयो भन्दै सामाजिक सञ्जालका भित्ता भरिएका थिए। फुटबलको त्यो ऐतिहासिक क्षणमा भएको अवरोधले फुटबलप्रेमीलाई यसरी उद्वेलित बनायो कि प्राधिकरणका विरुद्ध गालीको वर्षा नै सुरु भयो।
केही बेरमा बत्ती आयो। हरेक घर, चोक, होटल र रेष्टुरेन्टमा गेमको मज्जा लिइरहेका खेलप्रेमीहरूले राहत महसुस गरे। तर, त्यो खुसी धेरै बेर टिकेन। पुनः बत्ती काटिएपछि थप सरकारलाई गालीको वर्षा फेरि सामाजिक सञ्जालमा वर्षिन थाल्यो।
केही समयको अन्तरालमा बत्ती आएपछि फुटबलप्रेमीहरू सामाजिक सञ्जालमा सरकारलाई गाली दिएर पुनः खेल हेर्न थाले।
विद्युत् प्राधिकरणले सोमबार बिहान मात्र राति १:४५ र २:३० बजे बत्ती जानुको कारणका विषयमा बोल्यो। करिब १:५४ बजेको समयमा पथलैया–ढल्केवर १३२ केभी प्रसारण लाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा ठुलो रुख ढल्दा समस्या आएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार त्यही रुखले प्रसारण लाइनमा रिङ ब्रेक गराएको थियो। प्रतिकूल मौसम र निरन्तरको वर्षाका कारण भएको यो एउटा अप्रत्याशित प्राकृतिक विपत्ति थियो, जसले काठमाडौँ उपत्यकासहित देशका धेरै भागमा अँध्यारो छाएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भन्यो, ‘हामीले विश्वकपको फाइनललाई विशेष ध्यानमा राखेर सबै सबस्टेसन र प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेका थियौँ। तर, रुख ढल्नु र प्रणालीमा अवरोध आउनु हाम्रा लागि पनि दुःखद रह्यो।’
घटना हुनासाथ वैकल्पिक व्यवस्था गरेर बिजुली सुचारु गर्न प्राधिकरणका प्राविधिकहरू वर्षाको प्रवाह नगरी खटिएका थिए। तर, त्यो बिचको केही मिनेटको अन्धकारले फुटबलप्रेमीहरूको मनमा गहिरो चोट पुर्याइसकेको थियो। प्राधिकरणले आफ्ना उपभोक्ता र खेलप्रेमीहरूसँग क्षमा मागेको छ।
तर, विश्वकपको फाइलन मात्रै नभएर लामो समयदेखि झ्याप्प–झ्याप्प बत्ती जाने समस्या रहँदै आएको छ। अझ गर्मी महिना लागेसँगै विशेषगरी काठमाडौँ उपत्यकासहित सहरी क्षेत्र, तराई र लुम्बिनी प्रदेशका जिल्लाहरूमा यस्तो समस्या धेरै देखिरहेको छ।
काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानहरूमा बिजुली झ्याप्प–झ्याप्प जाने ‘ट्रिपिङ’ समस्या बढेको छ। लोडसेडिङ हटेको लामो समय भएको छ, तर लोडसेडिङकै झल्को दिने गरी बिजुली झ्याप्प–झ्याप्प जाने ‘ट्रिपिङ’ समस्या देखिएको छ।
बिहान, दिउँसो र बेलुकाको समयमा काठमाडौँ उपत्यकासहित देशभर झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ। यसरी निरन्तर रूपमा बिहान, दिउँसो र बेलुकाको समयमा बत्ती आउने-जाने समस्याले उपभोक्ताहरू मारमा पर्न थालेका छन्।
देशमा विद्युत् उत्पादन पर्याप्त रहेको र लोडसेडिङ अन्त्य भएको दाबी छ। तर, विद्युत् उत्पादनमा वृद्धि भएको समयमा समेत लोडसेडिङकै झल्को दिने गरी बिजुली झ्याप्प–झ्याप्प जाने ‘ट्रिपिङ’ समस्या भएसँगै उपभोक्ताहरूले गुनासो गर्न थालेका छन्।
तराई मधेस प्रदेश र अन्य बारा, बाँके, कैलाली, रूपन्देहीलगायत तराईका विभिन्न जिल्लाबाट दिनमा पटक–पटक विद्युत् जाने, राति लामो समयसम्म आपूर्ति अवरुद्ध हुने तथा कतिपय स्थानमा अत्यन्त न्यून भोल्टेजका कारण पङ्खासमेत चलाउन नपाएको गुनासो उपभोक्ताले गरेका छन्।
दिनमै ४/५ पल्टसम्म बत्ती गएपछि कतिपयले फेरि लोडसेडिङ सुरु भएको भन्दै सामाजिक सञ्जालहरूमा लेखिरहेका छन्। यो विषय ऊर्जामन्त्री र प्राधिकरणले समेत स्वीकार गर्दै आएका छन्।
विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले उत्पादन बढे पनि वितरण प्रणालीको पूर्वाधारमा रहेका केही कमजोरीका कारण उपभोक्ताले यस्तो समस्या भोग्नुपरेको बताउँछन्। उनका अनुसार पछिल्लो समय बिजुली झ्याप्प–झ्याप्प जानुको मुख्य कारण वितरण प्रणालीको भार रहेको छ।
विशेषगरी तराईका जिल्लाहरूमा गर्मी बढेसँगै सिँचाइका लागि पम्प र मोटरहरूको प्रयोग अत्यधिक हुँदा ट्रान्सफर्मरमा भार बढेको छ। कतिपय अवस्थामा ट्रान्सफर्मरको एउटा फेजमा मात्र बढी लोड पर्दा ट्रिपिङ हुने समस्या देखिएको उनको भनाइ छ।
उनका अनुसार ग्रामीण क्षेत्रमा ११ केभीका प्रसारण लाइनहरू १०–१२ किलोमिटरभन्दा लामो हुँदा भोल्टेजको समस्या र अवरोध हुने गरेको छ। अझै पनि कतिपय ठाउँमा काठका पोलहरू र साना क्षमताका तारहरू प्रयोग भइरहेका छन्।
श्रेष्ठले गएरातिको समस्या प्राविधिक भन्दा पनि प्राकृतिक प्रकोप रहेको बताए। उनका अनुसार बाढीपहिरो, रुख ढल्ने जस्ता कारण कतिपय जलविद्युत् गृहहरू बन्द हुनु र प्रसारण लाइनमा क्षति पुग्नुले पनि प्रणालीमा असर पारेको हो।
कामु कार्यकारी निर्देशक श्रेष्ठले प्राधिकरणले अहिले ठुलो लगानी मार्फत वितरण प्रणाली सुदृढ गर्ने तयारी गरेको बताए। उनले विभिन्न सब–स्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै यस्ता समस्या समाधान हुने बताए।
प्राधिकरणको प्राथमिकता अब बिजुली पुर्याउनु मात्र नभई गुणस्तरीय र भरपर्दो सेवा दिनु रहेको उनले बताए।

तर, पछिल्लो समय लोडसेडिङकै झल्को दिने गरी बत्ती जान थालेपछि ऊर्जामन्त्रीसमेत तनावमा छन्। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरण र प्राधिकरण मातहतका निकायलाई समस्या तत्काल समाधान गर्न निर्देशन दिने काम गरिरहेका छन्।
मन्त्री श्रेष्ठले विभिन्न सार्वजनिक फोरम र संसद्मा उभिएर झ्याप्प–झ्याप्प बत्ती जाने विषयमा सेवाग्राहीलाई सहज, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु विद्युत् प्राधिकरण र सरकारको पहिलो प्राथमिकता र दायित्व भएको बताउँदै आएका छन्। तर, समस्या समाधान भने भएको छैन।
विश्वकपजस्तो उत्सवमा समेत बत्ती जाँदा ऊर्जामन्त्री श्रेष्ठले गाली खानुपर्ने अवस्था आएको छ। उनले पटक–पटक बत्ती जाने समस्याको प्रभावकारी समाधान सुनिश्चित गर्न कार्यदल गठनसमेत गरेका छन्। उनले विद्युत् सेवा प्रवाहमा लापरबाही, ढिलासुस्ती वा अनियमितता कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताउँदै आएका छन्।
- ट्रिपिङ ४० प्रतिशतले घट्यो, तर सास्ती उस्तै
विद्युत् प्राधिकरणले पछिल्लो समय विद्युत् उत्पादनमा मात्र नभई प्रणाली सुधार भएको दाबी गर्दै आएको छ। तर, झ्याप्प–झ्याप्प बत्ती जाने सास्ती भने जनताले उस्तै रूपमा भोगिरहेका छन्।
प्राधिकरणका अनुसार पछिल्लो दुई आर्थिक वर्षको तुलनामा गत वर्ष विद्युत् लाइन ट्रिपिङ घटेको तथ्याङ्क छ। विद्युत् प्रणालीमा आउने प्राविधिक गडबडी अर्थात् लाइन ट्रिपिङको दरमा उल्लेख्य गिरावट आएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/८३ (असार १४ गतेसम्म) मा विद्युत् ट्रिपिङको सङ्ख्या र अवधि दुवैमा झन्डै ४० प्रतिशतले कमी आएको प्राधिकरणले जनाएको छ। लाइन ट्रिपिङको दरमा उल्लेख्य गिरावट आउँदा उपभोक्ताले पाउने विद्युत् सेवा थप भरपर्दो र गुणस्तरीय बन्दै गएको दाबी प्राधिकरणको छ।
प्राधिकरणले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा वर्षभरि जम्मा ७१ पटक प्रणालीमा ट्रिपिङ भएको थियो। जसका कारण कुल ८ घण्टा ११ मिनेट विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको थियो।
तर, गत आर्थिक वर्ष २०८२/८३ को असार १४ गतेसम्मको विवरण हेर्दा ट्रिपिङको सङ्ख्या घटेर ४२ मा झरेको छ। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब ४०.८४ प्रतिशतको सुधार भएको देखिन्छ।
त्यस्तै, ट्रिपिङको कुल अवधिमा पनि ठुलो सुधार देखिएको छ। अघिल्लो वर्ष ८ घण्टा ११ मिनेट रहेको अवरुद्ध समय गत वर्ष घटेर ५ घण्टा ५ मिनेटमा सीमित भएको छ।
यो तथ्याङ्कले प्रणालीमा हुने प्राविधिक अवरोधलाई व्यवस्थापन गर्न प्राधिकरण सफल हुँदै गएको देखाउँछ। तर, व्यावहारिक रूपमा भने त्यस्तो देखिएको छैन। प्रणालीमा हुने प्राविधिक अवरोधले सधैँ उपभोक्ताले समस्या भोग्दै आएका छन्।
- महिनागत विश्लेषण: कहाँ भयो सुधार ?
प्राधिकरणले दिएको तथ्याङ्कअनुसार विशेष गरी जाडो र गर्मीको उच्च माग हुने समयमा ट्रिपिङको प्रकृति फरक देखिएको छ। विद्युत्मा उच्च भारको समय जेठ र असार महिना हो। आर्थिक वर्ष २०८१/८२ को जेठ र असार महिनामा प्रणालीमा सबैभन्दा बढी दबाब देखिएको थियो।
यी दुई महिनामा क्रमशः १४–१४ पटक ट्रिपिङ भएको थियो। तर, २०८२/८३ मा यो सङ्ख्या घटेर जेठमा ८ र असार (१४ गतेसम्म) ७ पटकमा खुम्चिएको छ। जेठ महिनाको ट्रिपिङ अवधि १ घण्टा २४ मिनेटबाट घटेर १ घण्टा १५ मिनेटमा झरेको छ।
_WaB8RtuGNH.png)
- शून्य ट्रिपिङका महिनाहरू
गत वर्ष मङ्सिर, पुस र चैत महिनामा एक पटक पनि ट्रिपिङ नभएको प्राधिकरणले जनाएको छ। यसलाई प्राधिकरणले ठुलो सफलता मानेको छ। अघिल्लो वर्ष मङ्सिरमा २ पटक, पुसमा ३ पटक र चैतमा ६ पटक ट्रिपिङ भएको थियो।
हिउँदको समयमा जब विद्युत् खपत बढी हुन्छ, यस्तो समयमा ट्रिपिङ शून्यमा झर्नुले वितरण प्रणालीको सुदृढीकरण प्रभावकारी भएको देखिने प्राधिकरणले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असोज महिनामा १० पटक ट्रिपिङ हुँदा १ घण्टा ४८ मिनेट लाइन काटिएको थियो। तर, गत वर्ष सोही महिनामा ट्रिपिङ सङ्ख्या ७ मा झरेको छ भने अवधि पनि ४१ मिनेटमा सीमित भएको छ।
- विगतको भयावह अवस्था र वर्तमानको परिवर्तन
विगत एक दशकको अवधिमा नेपालमा ट्रिपिङ र लोडसेडिङ पर्यायवाची जस्तै थिए। २०७३ सालअघि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। लोडसेडिङ अन्त्य भएपछिका प्रारम्भिक वर्षहरूमा पनि प्रणाली पुरानो र कमजोर भएका कारण 'अघोषित लोडसेडिङ' भन्दै ट्रिपिङको समस्याले उपभोक्तालाई निकै सास्ती दिएको थियो।
विगतका वर्षहरूमा सामान्य हावाहुरी चल्दा वा पानी पर्दा पनि ट्रिपिङ हुने समस्या आम थियो। पाँच–सात वर्षअघि वर्षभरिमा ट्रिपिङका घटनाहरू सयौँको सङ्ख्यामा हुने गर्थे। प्रणालीमा सुधार नहुँदा ट्रान्सफर्मर पड्कने, फ्युज जाने र सबस्टेसनमै समस्या आउने कारणले औद्योगिक क्षेत्रले ठुलो नोक्सानी बेहोर्नुपर्थ्यो।
तर, पछिल्लो दुई वर्षको तथ्याङ्कले देखाउँछ कि प्राधिकरणले 'क्वान्टिटी' (परिमाण) बाट 'क्वालिटी' (गुणस्तर) तर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ। ८ घण्टाबाट ५ घण्टामा झरेको ट्रिपिङ अवधिले विद्युतीय उपकरणको सुरक्षा र औद्योगिक उत्पादकत्वमा सकारात्मक प्रभाव पारेको छ।
विद्युत् ट्रिपिङ बत्ती निभ्नु मात्र होइन, यसले अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्छ। एकपटक ट्रिपिङ हुँदा ठुला उद्योगका मेसिनहरू रोकिन्छन्, जसलाई पुनः सञ्चालन गर्न घण्टौँ लाग्न सक्छ। यसले उत्पादन लागत बढाउँछ। घरायसी उपभोक्ताका लागि पनि ट्रिपिङ घट्दा टेलिभिजन, फ्रिज, कम्प्युटरजस्ता संवेदनशील विद्युतीय उपकरणहरू बिग्रने जोखिम न्यून हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण