शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

०७५ सालको नेकपा सचिवालयको बहुमत एकै ठाउँ

बुधबार, २६ कात्तिक २०८२, १४ : ५५
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • तत्कालीन नेकपाको सचिवालयका ९ मध्ये ५ नेता हालै बनेको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्।
  • २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो, तर सर्वोच्चले एकता खारेज गरेपछि पार्टीहरू विभाजित भए।
  • पार्टी विभाजनपछि नेताहरू विभिन्न पार्टीमा लागे, र हालै एकीकृत समाजवादी र माओवादीसहितका अन्य पार्टीहरू मिलेर नयाँ पार्टी बनेको छ।

काठमाडौँ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालको सचिवालयमा रहेका नौ शीर्ष नेतामध्ये बहुमत सदस्य अर्थात पाँच जना नेता हालै बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’मा आबद्ध हुन पुगेका छन् ।

२०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा शीर्ष नौ जना नेता रहेको सचिवालय गठन गरिएको थियो । नेकपा कालमा महत्त्वपूर्ण निर्णयहरू त्यही ९ जनाको सचिवालयले नै गर्दै आएको थियो ।

जसमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल रहेका थिए भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल रहेका थिए । त्यसबेलाको नेकपामा आएको विवादसँगै सर्वोच्च अदालतले नेकपाको वैधानिकतामाथि प्रश्न उठाएर एकतालाई मान्यता नदिएपछि पुन एमाले र माओवादीकै हैसियतमा दुवै पार्टी चलेका थिए ।

पछि एमाले विभाजन भएर नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्दा नेपालसँगै अर्का नेता खनाल पनि नेपालसँगै लागेका थिए । नेकपा विभाजन भएर अलग तीन पार्टी बन्दा त्यसबेलाको सचिवालयमा रहेका नेताहरू पनि बाँडिएका थिए ।

पार्टी विभाजन भएसँगै नेताहरू अलगअलग कित्तामा पुगिएका थिए । वामदेव गौतमले नेकपा एकता अभियान नामको पार्टी नै गठन गरेका थिए भने नेपाल र खनाल एकीकृत समाजवादीतिर लागेका थिए । उता ओली, ईश्वर र विष्णु एमालेमै रहे । माओवादीका प्रचण्ड र नारायणकाजी माओवादीतिर लाग्दा पूर्व माओवादी नेता रामबहादुर थापा भने एमालेतिर लागेका थिए ।

कात्तिक १९ गते एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी र माओवादीसहितका अन्य पार्टीहरू एकीकृत भएसँगै तत्कालीन नेकपाको ९ सदस्यीय सचिवालयको बहुमत सदस्य नवगठित नेपाली कम्युनिस्ट पार्टीमा आइपुगेका छन् । गौतम नेपाली कम्युनिस्ट पार्टी बन्नुअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

गत बुधवार काठमाडौँमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपालले भने, ‘एमाले र माओवादीबिच एकीकरण गरेर नेकपा हामीले गठन गरेका थियौँ । त्यतिखेरका सबै प्रमुख नेता यही उपस्थित हुनुहुन्छ ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप