सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

डोल्पाका याक मुस्ताङमा

बुधबार, २६ कात्तिक २०८२, २१ : ४०
बुधबार, २६ कात्तिक २०८२

मुस्ताङ । हिउँद सुरु भएसँगै उपल्लो डोल्पाका याक धमाधम मुस्ताङ झारिएको छ । यहाँ ल्याइएका याक बिक्रीका लागि जोमसोमलगायत स्थानमा झारिएको हो ।

बर्सेनि कात्तिक र मङ्सिर महिनामा उपल्लो डोल्पाका विभिन्न स्थानमा पालिएका अग्ला कद भएका याक मुस्ताङमा बिक्री गर्न ल्याउने चलन छ । 

हिउँदयाममा तरकारीको अभाव हुने भएकाले मुस्ताङमा डोल्पाबाट ल्याएका याकको किनबेच चल्छ । तर, हिउँदयाममा तरकारी हुने पहिलो अवस्था भने अहिलेको सडकको अवस्थाले फेरिएको छ ।

मुस्ताङमा हिउँदयामका लागि मानिसले याक र भेडाच्याङ्ग्राको सुकुटी बनाउने परम्परागत संस्कृति नै हो । 

तर, भेडाच्याङ्ग्रा महँगो पर्ने भएको र याकको मासु स्वास्थ्यववर्द्धक र थप स्वादिलो हुने भएकाले मुस्ताङी अधिकांशले याककै सुकुटी पारेर झुण्ड्याउने प्रचलन रहेको छ । 

यसरी सुकुटी पारेर राखेको याकको सुकुटी हिउँदयाममा तरकारीको अभाव हुँदा विभिन्न तरकारीमा मिसाएर खाने गरिन्छ ।उपल्लो डोल्पा प्रसिद्ध याकचाैँरीपालनको केन्द्र नै मानिन्छ । त्यसो मुस्ताङमा पनि याक पाल्नेको सङ्ख्या उल्लेख छ । 

उच्च हिमाली क्षेत्र उपल्लो डोल्पामा प्रशस्त चरन क्षेत्र र याकचौँरीका लागि सन्तुलित हावापानी  भएकाले डोल्पाली याक जक्खड र अग्ला कदको हुन्छन् । 

उपल्लो डोल्पाको उच्चलेक, खर्क र बुगिनमा हिमाली भेगमा पाइने यार्सागुम्बा, निरमसी, जटामसी, पाचऔँलेलगायत जडीबुटी प्रशस्तै हुने र त्यहाँका याकले त्यस्ता जडीबुटी सेवन गर्ने भएकाले मुस्ताङकोभन्दा डोल्पाली याक अब्बल मानिन्छन् । 

मुस्ताङका याक होचो कद हुने भएकाले यहाँका याक पारखीहरुले डोल्पालीलाई याकलाई मन पराउने गरेको पाइएको हो ।

विगतका वर्ष झैँ यस वर्ष पनि डोल्पाबाट बिक्रीका लागि मुस्ताङमा याक ल्याइएको हो । मुस्ताङमा मङ्गलबारसम्म पाँच हुल याक झरिसकेका छन् । थप दुई हुल थपिने क्रममा रहेको जनाइएको छ । 

बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङका याक व्यापारी सितार गुरुङले १८ वटा याक उपल्लो डोल्पाबाट पैदल खेदाउँदै १२ दिन लगाएर जोमसोम ल्याई पुर्‍याएको जानकारी दिए ।

गुरुङले उपल्लो डोल्पाको पिसेर, छार्का, तिञ्जु र धोतरपलगायत गाउँबाट याक खरिद गरी मुस्ताङ ल्याउन गरेको बताए ।यस वर्ष कात्तिकको १० गते भारी हिमपात परेका कारण डोल्पाबाट मुस्ताङमा याक ल्याई पुर्‍याउन निकै समस्या भएको गुरुङको भनाइ छ ।

“मुस्ताङ–डोल्पा सडकमा निकै बाँक्लो हिउँ जमेको छ”, याक खेदाउँदै ल्याउन मुश्किल पर्‍यो, गुरुङले भने, “बाटोमै पकाउने र खाने गर्नुपर्छ, ल्याइएका याक हराउँछन् कि भन्ने डर हुन्छ ।” गुरुङले डोल्पाबाट होलसेल मूल्यमा एकमुष्ट खरिद गरी जोमसोम ल्याएको बताए ।

उपल्लो डोल्पाबाट ल्याएर जोमसोममा प्रतियाकलाई रु एक लाख ६५ हजार मूल्यमा बिक्री गर्ने गरेको बताए । 

विगत ६ वर्षदेखि निरन्तर याकको व्यापार गर्दै आइरहेका गुरुङले कोहीले अर्डर गर्ने र कोहीले अर्डर नगरे पनि याक हेरेर किनेर लैजाने गरेको बताए । डोल्पाबाट ल्याइएको एउटै जिउँदो याकको वजन २५० केजीभन्दा बढी हुने गुरुङको भनाइ छ ।

मुस्ताङीहरुले हिउँदयाममा याकको सुकुटी बनाएर खाने प्रचलन रहे पनि पछिल्लो समय पर्यटकले समेत याकको मासु खान रुचाउने गरेको पाइएको छ । 

डोल्पाबाट मुस्ताङ ल्याइएका धेरैजसो याक जोमसोम, मार्फा, स्याङ, टुकुचे, कोवाङ र लेतेलगायत स्थानमा सजिलै बिक्री हुने गरेको छ । 

याकको सुकुटी मुस्ताङीका लागि हिउँदयामको महत्वपूर्ण तरकारीका रूपमा लिने गरिन्छ । हिउँदयाममा याक सुकुटी पारेर झुन्ड्याउँदा नगन्हाउने भएकाले याक सुकुटी हिउँदयाममा मात्रै तयार पारिने प्रचलन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप