शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्नपूर्ण  गाउँपालिकामा १५६ योजना छनौट

बिहीबार, २७ कात्तिक २०८२, १२ : १३
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा १६ करोड २७ लाख ८३ हजार बजेटका योजना छनौट गरेको छ।
  • पालिकाले सडक स्तरोन्नति, खेल मैदान, र पर्यटन पूर्वाधार लगायतका योजनाहरू कार्यान्वयन गर्दैछ ।
  • गाउँपालिकाले यस वर्ष २ करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ।

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन गर्ने एक सय ५६  योजना छनौट गरेको छ । रु.१६ करोड २७ लाख ८३ हजार बजेट बिनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का आव्हान र सम्झौताको प्रक्रिया अघि बढाएको हो । 

पालिका स्तरका २४ सहित १५६ वटा योजना मध्य हालसम्म तीन योजनाको सम्झौता, एकको अन्तिम भुक्तानी, ४४ को सर्वेक्षण, ३० को लागत अनुमान तयार र सात को ठेक्का आव्हान भएको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए ।

आगामी पुष महिनाभित्र सम्झौता र आगामी वैशाख महिनासम्म अन्तिम भुक्तानी गर्ने लक्ष्यअनुसार योजना कार्यान्वयनमा जुटेको उनले बताए ।  गाउँपालिकाले प्राथमिकता दिएका सडक तर्फ भिरकाटे–दोवा, पोखरेबगर–चित्रे, तातोपानी–भुरुङ, बिच्छान–लिस्ने, घार खेल मैदान र रातोपानी कुण्ड संरक्षण योजनाको ठेक्का आव्हान भएको छ । 

सडक स्तरोन्नति, पदमार्ग, पर्यटन पूर्वाधार, सामुदायिक भवन, खानेपानी, सिचाई, खेलमैदान, पहिरो तथा नदी नियन्त्रण सम्बन्धी योजनाहरु धेरै छन् । यसअघिका वर्षमा ठेक्का सम्झौता भएका प्रभा र पाउद्धार माविको भवन, रुप्से झरना पूर्वाधार, सेकार्कु तातोपानी निर्माण र खिवाङ–घराम्दी सडक योजनालाई यस वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

जग्गा प्राप्ति सम्बन्धी प्रक्रिया पुरा गरेर चालु आर्थिक वर्षदेखिनै प्रशासकीय भवन निर्माण शुरु गर्न जुटेको उनले बताए । वडा न. ७ को कार्यालय भवन बनाउन महभिरमा जग्गा प्राप्ति भइसकेकोले निर्माण प्रक्रिया अघि बढाउने अध्यक्ष पुनले बताए ।

यसैगरी यस वर्ष रु.दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले पहिलो चौमासिकमा रु. एक करोड ३७ लाख पाँच हजार राजस्व संकलन गरेको छ । पर्यटकीय स्थलहरु पुनहिल, भुरुङ्ग– तातोपानी, पाउद्वार तातोपानी र रातोपानी तातोपानी कुण्डलाई आय ठेक्कामा लगाएर रु। करोड १५ लाख २१ हजार ८० आम्दानी भएको छ ।

 गाउँपालिकाले पर्यटकीय स्थलहरुको सञ्चालन, प्रवेश शुल्क, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आव।मा उक्त आम्दानी गरेको उपाध्यक्ष दिवा तिलीजा पुनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप