विप्लव, घनश्याम र जनार्दनको तयारी : चुनावी सहकार्यदेखि एकतासम्म
सारांश
- तीन वामपन्थी शक्तिहरूले आगामी निर्वाचनमा सहकार्य र एकताका लागि छलफल थालेका छन्।
- विभिन्न वामपन्थी नेताहरूले राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकारको रक्षाका लागि सहकार्यको आवश्यकता औंल्याए।
- बाबुराम भट्टराईले नयाँ वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउन पहल गरिरहेका छन्, तर सहमति जुट्न सकेको छैन।
काठमाडौँ । राष्ट्रियता र आगामी निर्वाचनमा सहकार्य गरेर जाने विषयमा तीनवटा वामपन्थी शक्ति घनिभूत छलफलमा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, पुनर्गठित नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका अभियन्ता जनार्दन शर्माबिच एकता, सहकार्य र मोर्चाबन्दी बनाएर जाने विषयमा गम्भीर छलफलमा जुटेका हुन् ।
जेनजी विद्रोहपछि देशमा विकसित राजनीतिक घटनाक्रमले राष्ट्रियता, लोकतन्त्र र जनताका हकअधिकार खतरामा परेको निष्कर्ष निकाल्दै उनीहरूले प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग संवाद र सहकार्यको पहललाई तीव्रता दिएका हुन् ।
बुधबार विप्लव, भुसाल र शर्माबिच आगामी फागुन २१ मा हुने निर्वाचनमा सहकार्य गरेर जाने विषयमा छलफल भएको छ । विचार मिल्नेसँग एकता र अरु प्रगतिशील देशभक्त शक्तिसँग मोर्चाबन्दी गरेर जानेबारे छलफल केन्द्रित भएको नेता सुदन किरातीले बताए ।
‘विचार मिल्नेसँग एकता, नमिल्नेसँग मोर्चाबन्दी गर्नेगरी हामी अगाडि बढेका छौँ । त्यसका लागि वामपन्थी, देशभक्त, नयाँ वैकल्पिक सबैसँग सहकार्य गरेर जानेगरी ढोका खुला राखेका छौँ । अब देशव्यापी पुनर्गठन अभियान घोषणा गरेर जान्छौँ,’ उनले भने ।

देशमा पुराना राजनीतिक दलहरू, तीनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्ने र आफ्नो वर्चस्व जोगाउन तल्लीन रहेको आरोप लगाएको छ । त्यस्तो अवस्थामा पुरानै बाटो हिडेर नयाँ गन्तव्यमा पुग्न नसकिने निष्कर्ष निकालेका छन् । तर विचार मिल्नेसँग एकता, सहकार्य र ध्रुवीकरणको विषयमा स्पष्ट खाका बनिनसकेको नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले बताए । राष्ट्रियता र साझा चुनावी रणनीति बनाउने विषयमा प्रारम्भिक छलफल भएको विरहीले जिकिर गरे । विचार, सिद्धान्त, राष्ट्रियता र जनतन्त्रको विषयमा भुसाल र शर्माले स्पष्ट खाका नै ल्याउन नसकेको उनको बुझाइ छ ।
‘विचार, सिद्धान्त, राष्ट्रियता र जनतन्त्रको विषयमा घनश्याम र जनार्दनको स्पष्ट दस्तावेज आउनुपर्छ । राष्ट्रियताको विषयमा उहाँहरूको दृष्टिकोण के हो ? हामीलाई हेर्ने र अन्य राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोण के हो ? समाजवादमा पुग्ने कसरी हो, त्यो स्पष्ट हुनुपर्छ । तर उहाँहरूले अहिलेसम्म राजनीतिक दस्तावेज नै प्रस्तुत गर्नुभएको छैन’, उनले भने ।
भुसालले पार्टीको राष्ट्रिय भेलापछि पेस गर्छु भनेको र शर्माबाट स्पष्ट जवाफ नआएको विरहीले बताए ।
‘घनश्यामजीले पार्टीको राष्ट्रिय भेलापछि पार्टीको दृष्टिकोण पेस गर्छु भन्नुभएको छ । जनार्दनजीले प्रगतिशिल वामपन्थी अबको बाटो हुने भन्नुभएको छ,’ उनले भने, ‘त्यो सकारात्मक हो, तर अहिलेसम्म स्पष्ट दस्तावेज ल्याउनुभएको छैन । त्यत्तिकै कुन आधारमा सहकार्य हुन्छ ?’

राष्ट्रिय एजेन्डा, चुनावी मोर्चामा उनीहरूसँगै जान सकिने भएपनि एकताको विषय निकै टाढा भएको भयो विरहीले स्पष्ट पारे । यद्यपि प्रगतिशील वामपन्थी अलाइन्स बनाएर जाने विषयमा छलफल जारी राख्ने सहमति भएको उनको भनाइ छ ।
प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमार्फत ‘नैतिकहीन अहंकारी’ नेताहरूलाई फाल्न आह्वान गरेको छ ।
‘देश र विदेशमा रहेका वामपन्थी प्रगतिशील अभियानमा जोडिन समेत आग्रह गर्दछौँ । जुनसुकै मूल्यमा निर्वाचनलाई सफल पारौँ । जनताको एकताको बलमा अहङ्कारी र असफल नेताहरूलाई सदाका निम्ति बिदा गरौँ’, विज्ञप्तिमा भनिएको छ ।
प्रगतिशील राष्ट्रिय अभियानले ७ बुँदे धारणा सार्वजनिक गरेको छ । जेनजी विद्रोहबाट स्थापित मुद्दाहरूलाई यथाशीघ्र पूरा गर्न/गराउन चौतर्फी सक्रिय रहन र सुदृढ राष्ट्र, सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेन्डा सहित राजनीतिक पुनर्संरचना पूरा गर्ने प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । प्रगतिशील राष्ट्रिय अभियानले पूर्वमन्त्री सुदन किराती सहित ३१ सदस्यीय संयोजन समिति बनाएको छ ।
यता एकीकृत समाजवादीका महासचिव भुसालले तीन नेताबिच चुनावी अलाइन्स बनाएर जाने विषयमा छलफल भएको बताएका छन् । विकसित परिस्थिति र आगामी सहकार्यको विषयमा छलफललाई निरन्तरता दिने उनले बताए ।
‘विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रह्यो । हामीले विगतमा पनि सहकार्य गर्दै आएका थियौं । आगामी निर्वाचनमा सहकार्य गरेर जाने विषयमा पनि छलफल जारी राख्ने सहमति भएको छ’, उनले भनेका थिए ।
विप्लव, भुसाल र शर्माबिच विगत एक वर्षदेखि नै चरणबद्ध रुपमा छलफल हुँदै आएको थियो । कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच एकता घोषणा भएपछि भुसाल र शर्मा अलग बाटो लागेका थिए । पार्टीबाट अलग भएपछि पहिलोपटक कात्तिक २१ गते भुसाल र शर्माले विप्लवसँग छलफल गरेका थिए । तीन नेताले प्रतिबद्ध कम्युनिस्टहरू, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत मोर्चाबन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको निष्कर्ष निकालेका थिए । ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न तीन नेताले संकल्प गरेका थिए । सबै कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यका लागि उनीहरूले आह्वान गरेका थिए ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भुसाल नेतृत्वको एकीकृत समाजवादी, प्रगतिशील राष्ट्रिय जागरण अभियानका नेता जनार्दन शार्मसँग सहकार्य र एउटै कम्युनिस्ट केन्द्र बनाउने विषयमा सहमति भएको जिकिर गरे । यीबाहेक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल लगायतका दलहरूसँग मोर्चाबन्दीको प्रयास जारी रहेको स्पष्ट पारे ।
‘घनश्यामजी र जनार्दनजीसँग सहकार्य र एउटै कम्युनिस्ट केन्द्र बनाउने विषयमा सहमति भएको छ । जेनजी विद्रोहपछि देश अहिले गम्भीर संकटमा परेकाले अन्य देशभक्त र प्रगतिशील वामपन्थी शक्तिसँग हाम्रो मोर्चाबन्दीको प्रयास जारी छ । नेपाली कम्युनिस्ट पार्टी निर्वाचनमा केन्द्रित भएकाले अहिले सहकार्य हुँदैन’, विश्वकर्माले भने ।
बाबुरामको छुट्टै पहल
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी, एकीकृत समाजवादीबाट विद्रोह गरेका नेता लगायत नयाँ वैकल्पिक शक्तिहरूको बृहत गठबन्धन बनाउने पहल थालेका छन् । कात्तिक २० गते भट्टराईको पहलमा प्रगतिशील अभियानका नेता शर्मा, किराती, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी), नेसपा (नयाँ शक्ति)की संयोजक दुर्गा सोब, विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा लगायतका नेताहरूसँग छलफल गरेका थिए ।
भट्टराईले नयाँ वैकल्पिक शक्ति एकजुट नभए निर्वाचनबाट पुरानै भ्रष्ट राजीतिक दलहरू आउनसक्नेतर्फ सचेत गराएका थिए ।
‘जेनजी विद्रोहपछि पुराना भ्रष्ट शक्तिहरू रुपान्तरित हुनुभन्दा अझै हुङ्कार गर्न थालेका छन् । भ्रष्ट दलहरूलाई निर्वाचनबाट नै पराजित गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्छ’, उनले भनेका थिए ।
जेनजी विद्रोहपछि असोजको पहिलो साता नेसपा (नयाँ शक्ति)को अध्यक्ष पद त्यागेका उनले पुराना राजनीतिक दलबाट विद्रोह गरी आएका नेताहरू, नयाँ वैकल्पिक पार्टीका नेताहरूलाई एक ठाउँमा ल्याउने गरी भूमिका खेल्ने बताएका थिए । तर नयाँ वैकल्पिक शक्तिहरूबिचमै सहमति हुन नसकेको नेसपा नयाँ शक्तिका प्रवक्ता कृष्ण शर्माले बताए ।

‘उहाँले वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ । रास्वपा, माओवादीबाट विद्रोह गरेको, एकीकृत समाजवादीसँग विद्रोह गरेर आएका, विवेकशील साझा पार्टी, उज्यालो नेपाल, नेसपा नयाँ शक्तिका नेताहरू र जेनजीका प्रतिनिधिसँग छलफल भएको छ । सकारात्मक निष्कर्ष निस्केको छैन’, उनले भने ।
प्रवक्ता शर्माले पुराना दलहरू एक ठाउँमा आइसक्दा समेत नयाँ वैकल्पिक भनिएका शक्तिहरू मिन्ने छाँटकाँट नदेखिएको स्पष्ट पारे । साथै अहिले कुनै समूह वा पार्टीसँग एकता हुने सम्भावना नभएको उनले बताए ।
कात्तिक २० गते नै भट्टराईले जेनजीका अगुवाहरूसँग अन्तरक्रिया गरेर एक हुन आग्रह गरेका थिए ।
‘जेनजीले उठाएका मागहरूसँग मिल्न सक्ने शक्ति एक ठाउँमा आएर चुनावमा भाग लिनुपर्छ । त्यसका लागि हामीले प्रयास गरिरहेका छौँ । केही दिनभित्र सबै शक्ति एक ठाउँमा आउनुपर्छ’, उनले भनेका थिए, ‘आउने चुनावमा पुराना भ्रष्ट शक्तिलाई बिदा गरौँ भन्ने मुख्य नारा बनाएर जानुपर्छ । सकेसम्म एउटै अलाइन्स बनाएर जानुपर्छ । सबै वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउन तपाईंहरूले दबाब दिनुपर्छ ।’
अन्तरक्रिया कार्यक्रममा जेनजी मुभमेन्ट अलाइन्सका अगुवा साङ्केन याम्पु राई, माजिद अन्सारी, अर्णव चौधरी, हेम चौधरी, अमित खनाल, विकास रसाइली सहभागी थिए ।
आफ्नै नेतृत्वमा वैकल्पिक शक्ति निर्माणमा रास्वपा
यता रास्वपाले पुराना दलहरूलाई निर्वाचनमार्फत हराउन नयाँ वैकल्पिक शक्तिहरू, जेनजीका प्रतिनिधिहरूसँग बृहत अन्तरक्रिया गर्यो । कात्तिक १४ गते भएको कार्यक्रममा भट्टराई समेत उपस्थित भएका थिए । त्यसको अघिल्लो दिन नेसपा (नयाँ शक्ति)की नेतृ मानुषी भट्टराई, विवेकशील साझाकी महासचिव रञ्जु दर्शना, रास्वपाकी नेतृत्व डा. तोसिमा कार्कीले छुट्टै छलफल गरेकी थिइन् ।

रास्वपाले वैकल्पिक शक्तिलाई समेटेर एकता र सहकार्य गर्ने गरी नेता पुकार बमको नेतृत्वमा संवाद समिति बनाएको थियो । समितिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको समूह, ऊर्जामन्त्री कुलमान घिसिङको समूह, सुदन गुरुङको समूहलगायत सबै समूहसँग छलफल गरेको थियो । बाहिरबाट आयातीत गरेर नेता बनाउने प्रवृत्ति हाबी भएको निष्कर्षका साथ त्यसलाई खारेज गर्यो । कात्तिक २१ र २२ गते चितवनको सौराहामा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्ने निर्णय गरेपनि बम नेतृत्वको समितिको प्रयत्नलाई निस्तेज बनाइदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण