शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रम

शुक्रबार, २८ कात्तिक २०८२, १४ : १४
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले हलगोरुपालन गर्ने किसानलाई प्रोत्साहन कार्यक्रम सुरु गर्ने भएको छ।
  • प्रदेश सरकारले ९७ लाख ५० हजार बजेट विनियोजन गरेको छ, जसबाट १९५० किसानलाई ५ हजारका दरले रकम दिइनेछ।
  • कार्यक्रम भेटेरिनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्रमार्फत सञ्चालन हुनेछ र रकम किसानको बैंक खातामा जम्मा गरिनेछ।

कैलाली । सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सरकारको बजेटमा चालु आवमा प्रदेशका नौवटै जिल्लामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

उक्त कार्यक्रम सञ्चालनका लागि चालु आवमा प्रदेश सरकारले रु ९७ लाख ५० हजार बजेट विनियोजन गरेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी राजकुमार झाले बताए ।

उनले प्रदेशभरी हलगोरु पालन गर्ने एक हजार ९५० किसानलाई प्रोत्साहनस्वरुप प्रतिकिसान रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइने बताए । उक्त कार्यक्रम नौ वटै जिल्लामा रहेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत सञ्चालन हुने तथा बजेट सबै विज्ञ केन्द्रमा गइसकेको उनले जानकारी दिए । 

उनका अनुसार उक्त कार्यक्रमका लागि कैलालीमा रु १५ लाख, कञ्चनपुरमा रु १२ लाख ५० हजार तथा अन्य सात जिल्ला बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा र बझाङमा प्रतिजिल्ला रु १० लाखका दरले रकम विनियोजन भएको छ ।

सूचना अधिकारी झाले उक्त प्रोत्साहन रकम पाउनका लागि किसानले हलगोरु÷राँगा पालेको हुनुपर्ने, कृषि तथा खेती गरिरहेको हुनुपर्ने, तराईका जिल्लाका हकमा गोरुगाडा (डल्लब) हुनुपर्ने तथा किसानसँग हलो हुनुपर्ने व्यवस्था गरिएको बताए ।

प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम रहेका जिल्लाको हकमा सोही स्थानीय तह र अन्य जिल्लाको हकमा विकट स्थानीय तहलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनले बताए । प्रोत्साहन रकम किसानको बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको सूचना अधिकारी झाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप