बागमती नदी करिडोरको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने
सारांश
- मन्त्री कुलमान घिसिङले बागमती नदी करिडोर क्षेत्रको फोहोर व्यवस्थापन र सडक मर्मतको निरीक्षण गरे।
- उनले ढल व्यवस्थापन, सडक स्तरोन्नति र समन्वयको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
- चाबहिल-सुन्दरीजल सडक विस्तार र गोकर्णेश्वर मन्दिर नजिक सडक फराकिलो बनाउन पहल हुनेछ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार काठमाडौँको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहोरमैला व्यवस्थापन र सडक मर्मत सम्भारबारे स्थलगत निरीक्षण गरेका छन्।
सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल लगायत सम्बन्धित निकायका टोलीसहितको टोलीले गुहेश्वरीबाट सुन्दरीजल क्षेत्रसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी लिएको थियो। टोलीले गुहेश्वरीदेखि सुन्दरीजलसम्म क्षेत्रमा पर्ने बागमती नदी किनार तथा ढल व्यवस्थापन, सडक विस्तार एवम् स्तरोन्नतिलगायतका विषयमा स्थलगत जानकारी लिएको थियो।
मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताए। उनले काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौँ उपत्यकाका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबिच सडक निर्माण तथा मर्मत सम्भारमा देखिएको समन्वयको समस्यालाई छिटै समाधान गरिने प्रतिबद्धता जनाए।
उनले भने, ‘काठमाडौँ उपत्यकाका नदीलाई सफा बनाएमा मात्र सहर सफा हुने भएकाले अल्पकालीन र दीर्घकालीन रूपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौँ, ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रूपमा गरिरहेका छौँ, नदी करिडोरका सडकलाई कालोपत्रे गर्ने, मर्मतसम्भार गर्नेलगायतकालाई उच्च प्राथमिकता राखी कार्य अगाडि बढाइरहेको छ। यसका लागि स्थानीय पालिकासँग समन्वयका साथ काम गरिरहेका छौँ, सडक किनारमा बेवारिसे अवस्थामा छाडिएका गाडी हटाउन उपकरण उपलब्ध गराउँछौँ, त्यस्ता गाडीहरू तत्काल हटाउनुहोला।’
‘गोकर्णेश्वर मन्दिर नजिक बागमती नदी बायाँ किनारको करिब एक सय मिटर सडकलाई फराकिलो बनाउन सकिएमा माकलबारीबाट सिधै गोकर्णेश्वर मन्दिरतर्फ सवारी गाडी पास गराउन सक्ने अवस्था रहेछ, सडक फराकिलो बनाउन नेपाल ट्रस्टको कार्यालयसँग आवश्यक समन्वय र सहजीकरण गरिने छ,’ उनले चाबहिल–सुन्दरीजल सडक विस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण