सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
राष्ट्र बैंकको तथ्यांक

तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ५ खर्ब ५३ अर्ब भित्रियो

आइतबार, ३० कात्तिक २०८२, १३ : १३
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुग्यो।
  • असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन मासिक रूपमा उच्च हो।
  • वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेकाले विप्रेषण आप्रवाहमा वृद्धि भएको हो।

काठमाडौँ । देशको अर्थतन्त्रलाई टेवा दिने प्रमुख आधार विप्रेषण (रेमिट्यान्स) आप्रवाह चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा (असोज महिनासम्म) उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो ।

यो वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको भन्दा ३५.४ प्रतिशतले बढी हो ।  गत आवको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या बढ्दै गएपछि उनीहरूले पठाउने रेमिट्यान्स पनि बढ्दै गएको छ ।

तथ्याङ्क अनुसार असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रुपमा यो हालसम्मकै उच्च हो । गत वर्षको असोज महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

नेपाली मुद्रामा भएको उच्च वृद्धिसँगै अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह उत्साहजनक देखिएको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा डलरमा यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाहमा भएको यो विशाल वृद्धिको प्रमुख कारण वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्यामा भएको उल्लेखनीय वृद्धि हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या १,२३,४५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या १,१०,६५४ रहेको थियो ।

त्यसैगरी पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । यस अवधिमा ७७, २५७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष ५९,९३९ जनाले मात्रै नवीकरण गरेका थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप