शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

सीता दाहाललाई प्रश्न– नेकपा किन छाड्नुभयो ?

आइतबार, ३० कात्तिक २०८२, १४ : ०६
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • सीता दाहालले नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी पार्टी परित्याग गरिन्, र नयाँ जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा लागेकी छन्।
  • उनले पार्टी छाड्नुको कारणबारे कुरा गर्दै ३४-३५ वर्षको राजनीतिक इतिहासमा परिवर्तनको अनुभूति नभएको र वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरिन्।
  • दाहालले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने र पुरानो नेतृत्वको शैली परिवर्तन गर्नुपर्ने धारणा राखेकी छन्।

२०४६ सालको राजनीतिक परिवर्तनसँगै वामपन्थी आन्दोलनमा सक्रिय रहेकी पूर्वनेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सीता दाहालले पार्टी परित्यागको घोषणा गरिन् । माओवादी, नेकपा एकीकृत समाजवादीसहित १२ वामपन्थी दल मिलेर कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनेपछि उनी विद्रोह गरी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा लागेकी छन् ।

कात्तिक २९ गते उनी र उनका पति तथा केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले संयुक्त विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गरेका थिए । रातोपाटीकर्मीले लामो समयसम्म वामपन्थी राजनीतिमा सक्रिय रहेकी उनै दाहालसँग पार्टी छोड्नुका कारणबारे कुराकानी गरेका छन् । प्रस्ततु छ, दाहालसँग गरिएको कुराकानीको सम्पादित अंश-

  • तपाईंले नेपाली कम्युनिस्ट पार्टी किन छाड्नुभयो ?

म २०४६ सालमा चौथो महाधिवेशनदेखि नै पार्टीमा सक्रिय रूपमा लागेको हुँ । त्यतिवेला जनआन्दोलनबाट प्रभावित भएर परिवर्तनको आन्दोलनमा हिँडेको हुँ । अहिलेसम्म आउँदा हामीले जे सोचेर देशमा परिवर्तन र उत्पीडित वर्गको न्यायका लागि लाग्यौँ, यो ३४–३५ वर्षको राजनीतिक इतिहासमा त्यो मलाई अनुभूति हुन पाएन । देशमा बहुदल आयो, गणतन्त्र आयो, संविधान जनता आफैँले लेख्नुपर्छ भन्यौँ । संविधान सभाको निर्वाचन भयो । सबै क्षेत्रका जनताको प्रतिनिधित्व गराएर संविधान लेख्नुपर्छ, त्यसपछि पो जनताले परिवर्तनको महसुस गर्न पाउँछन् भन्ने भयो । त्यतातिर लाग्यौँ । उत्पीडित जनतालाई न्याय दिनका लागि मेहनत गर्‍यौं । नियम, कानुन बनायौँ, संविधान बनायौँ तर अहिलेसम्म काहीँ पनि मलाई आत्मसन्तुष्टि भएन ।

अहिले नेकपा माओवादी केन्द्रले जुन पार्टीसँग एकता गर्‍यो, यसले तल आफ्ना कार्यकर्ताहरू विचलित भएका छन् । तल आफ्नो पार्टी विभाजित भइराखेको छ, नेताहरू गुट–गुटमा रमाइराखेका छन् । त्यसलाई नसमेट्ने, आफ्नो नबनाउने, माथिबाट टिपेर ८० पुग्न लागेका अरु पार्टीका नेताहरूसँग एकता गरेर यो पार्टीले के उपलब्धि गर्ला ? के परिवर्तन होला भनेर मलाई आशा लागेन । त्यसकारण मैले विद्रोह गरेँ ।

  • तत्कालीन माओवादी विद्रोहको क्रममा १७ हजारले ज्यान गुमाए । हजारौँ घाइते, अपाङ्गता भए, तर शान्ति प्रक्रियामा आएपछि तपाईंहरू ती सहिदका सपना पूरा नगरी टुटफुट र विभाजनमा रमाउनुभयो । अहिले अलग–अलग बाटो हिँडेर सहिदका सपना पूरा होला ?

मैले अघि पनि भनेँ, अहिलेसम्म उत्पीडित वर्गलाई सम्बोधन भएन । लक्षित वर्गसँग समानुपातिक कोटा छुट्ट्याएको पनि पुगेन । उत्पीडित, पिछडा वर्गका नाउँमा खाली नेताहरूको वरिपरि हुने र उनीहरूकै आफन्तहरूलाई मात्रै प्रयोग गरियो । त्यहाँ काहीँ पनि सम्बोधन देखिएन । देशमा जेननी विद्रोह भयो । जेनजी पुस्ताले भ्रष्टाचार र नातावाद–कृपावादको विरुद्धमा आन्दोलन गरे । आन्दोलनको मूल मर्म पुरानो पार्टी, पुरानो नेतृत्वले फेरि पनि यो देशमा सुशासन गर्छ भन्नेमा अविश्वास हो । त्यतिका मानिसले प्राणको बलिदान गरे । ओठ निचर्दा दुध आउने बच्चाहरू स्कुलको युनिफर्ममा न्यायका लागि सडकमा आएका थिए । ती बच्चाहरूले केही अपराध गरेका थिएनन् । सरकारले ती बच्चालाई सडकमा आउन बाध्य पार्‍यो । त्यसको मर्मलाई बुझेर हामीले पार्टीभित्र अब पुरानो नेतृत्वको महत्त्व छैन, किनकि यो आन्दोलनको मर्म भनेको परिवर्तन चाहेको हो, त्यसलाई आभास हुने गरी पार्टीमा नयाँ फेस लैजाऊँ भनेर जनार्दन दाइ (शर्मा)ले पनि लड्नुभएको हो । हामीले पनि केन्द्रीय समितिको बैठकमा कुरा उठायौँ । नेतृत्व परिवर्तन गरौँ भनेको हो ।

गणतन्त्र ल्याउनका लागि कमरेड प्रचण्डको नेतृत्वमा २०५२ सालदेखि २०६२ सम्म १० वर्ष जनयुद्ध भयो । त्यसैको जगमा आएको यो गणतन्त्रलाई कम्तीमा रक्षा गरौँ । गणतन्त्र गुम्न नदिऊँ भनेर हामीले बैठकमा बारम्बार कुरा उठायौँ, तर हाम्रो कुरा सुनिएन । जबर्जस्ती पेलेर लगियो । नेतृत्व परिवर्तन गर्ने नाममा महाधिवेशन आयोजक समिति बनाउने भनेर फेरि अध्यक्ष नै संयोजक भएर जानुभयो । त्यसो भइसकेपछि हामीलाई आशा मरिसकेको थियो । अब यो पार्टीले केही गर्दैन । हामीलाई जे आशा थियो, जति गर्नु थियो यो पार्टीले गर्‍यो । अब यो पार्टीबाट केही हुन्न, अब नयाँ नेतृत्व लिएर जाउँ भन्दाखेरि उहाँहरूले हाम्रो कुरालाई सुन्नुभएन ।

त्यसपछि हामीलाई अलि फरक ढंगले सोच्नुपर्छ कि भन्ने लागिराखेकै थियो । त्यसमाथि पनि उहाँहरूले ८० वर्ष पुग्न लागेको माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावलहरू ल्याएर पार्टी एकता गर्नुभयो । युवाहरू त्यहीँभित्र पनि विभाजन भएर समायोजनमा आउनुभएको छैन । त्यसकारण अब यो पार्टी फेरि पनि परिवर्तनको बाहक बन्छ भन्ने कुरा हामीलाई विश्वास लागेन । कमरेड जनार्दनले जे कुरा उठाउनुभयो, पार्टी नै प्रचण्डले वास्तवमा माधव नेपाल, वामदेव गौतमहरूलाई जिम्मा लगाएको जस्तो अनुभूति भयो । पार्टीलाई तिलाञ्जली दिनुभयो । उहाँले नामै फेरेर हिँड्नुभयो । माओवादी सिद्ध्याउनुभयो । त्यसकारण त्यस पार्टीले केही उपलब्धि गर्न सक्दैन । बाँकी जीवन अलिकति परिवर्तनका लागि लगाउँ भनेर हामीले फरक बाटो रोज्यौँ र विद्रोह गर्‍यौं ।

  • अहिलेसम्म फुटेर जाने कुनै पार्टीले पनि राम्रो इतिहास रचेको छैन । त्यसमा कत्तिको सजग हुनुहुन्छ ?

त्यो आरोप उहाँहरूले लाउनुभएको हो । भोलि परिणामले देखाउँछ । माओवादीभित्रैका कुरा गर्दा मोहन वैद्य, बाबुरामहरू निस्किएको घटना र हामी निस्किएको घटना फरक छ । जनताले हेरिरहेका छन् । जनताले परिवर्तन चाहेका छन् । नयाँ नेतृत्व चाहेका छन् । वक्तव्य जारी गर्दै गर्दा पनि हामीलाई फोन आइराखेको छ कि तपाईंहरूले ठिक गर्नुभयो, अब पुरानो नेतृत्व होइन, नयाँ नेतृत्वकै खोजी छ भनिरहनु भएको थियो । युवा पिँढीहरू हामीसँग आकर्षित भइराख्नुभएको छ । बाँकी कुरा त भोलि कामले देखाउने हो । माओवादीले जनयुद्ध सुरु गर्दा पनि कति थिए र मान्छे ? हिजो रविले पार्टी स्थापना गर्दा पनि कति मान्छे थिए ? रविले कसरी जित्यो त्यत्रो सिट ? हामीले सही नीति, सही विचार र सही ढंगले आफूलाई परिचालित गर्‍यौं, पार्टी चलायौँ भने विश्वास छ, हामी जित्छौँ ।

  • पार्टी छोडेर नयाँ समीकरण बनाउँदै गर्दा तपाईंहरूको भूमिका के हुन्छ ? फेरि नेतृत्वमा बस्नुहुन्छ कि युवाहरूलाई अगाडि सार्नुहुन्छ ?

वास्तवमा युवा पिँढीलाई नै अबको नेतृत्व दिने भन्ने नै हो हाम्रो कुरा । हामी त्यति धेरै पदको ललायित पनि छैनौँ । हामीलाई पद नै चाहिन्छ भन्ने कुरा पनि छैन, तर के हो भन्दा युवा भन्ने नाउँमा असक्षमलाई जिम्मा लाउनु त भएन फेरि । सक्षम नेतृत्व चाहियो । कम्तीमा देश र राजनीति बुझेको मान्छे चाहियो । आन्दोलनमा एक–दुई वटा भोटो फटाएको मान्छे (अनुभवी) चाहियो । हामीले यो गर्ने भनेर अहिले नै टुङ्ग्याइसकेका छैनौँ । सल्लाह गर्दै जान्छौँ । सबैको सल्लाह, सुझाव पनि लिन्छौँ । हामी पनि छलफल गर्छौं । के गर्दा उपयुक्त हुन्छ, भोलि जनतामा जान सहज र सरल हुन्छ, त्यही ढंगले अगाडि बढ्छौँ ।

  • मंसिर ७ गते तपाईंहरूको एकता घोषणा हुँदैछ, हैन ? को–को थपिँदै छन् ?

हामी ठ्याक्कै अहिले भन्दैनौँ, तर हाम्रो आन्तरिक कुरा भइराखेको छ, छलफल भइराखेको छ । नेपाली कम्युनिस्ट पार्टीबाट पनि विद्रोह गर्ने केही साथी अझै पनि लामबद्ध हुनुहुन्छ । उहाँहरू पनि थपिँदै हुनुहुन्छ । अरू पार्टीले पनि तपाईंहरूले सही गर्नुभयो, अब हामी पनि त्यहीँ आउने हो भनेर फोन गरिरहनुभएको छ । अहिले नाम नलिउँ । घोषणा नगरीकन हामीले बाहिर ल्याउँदैनौँ, तर आन्तरिक छलफल र होमवर्कमा छौँ ।

  • माओवादी शान्ति प्रक्रियामा आएको २० वर्षमा नेतृत्व कहाँ चुक्यो ?

एक जना नेतृत्वलाई मात्रै दोष लाएर हामी पन्छिन मिल्दैन । जिम्मेवार र मूल नेतृत्व भएको कारणले अलि बढी र कम होला । पार्टीको सेन्टर कमिटीमा भइसकेपछि हामीले पनि जिम्मा लिनुपर्छ । हामीचाहिँ एकदम चोखा थियौँ, सबै अध्यक्षले मात्रै गरेको, सबै पदाधिकारीले मात्रै गरेको, त्यसो नभनौँ । किनकि विचार, दृष्टिकोण बनाउँदाखेरि हामीले पनि उहाँहरूलाई साथ दिएकै हो, तर हामी आफैँ ठिक ठाउँमा थिएनौँ कि हिजो ? हाम्रो नेतृत्वले हामीलाई जसरी गाइड गर्नुभयो, हामीले पनि सही हो त्यही कुरा भनेर हिँड्यौँ । त्यहाँ हामी नै गलत रहेछौँ कि क्या हो भन्ने पनि कताकता फिलिङ भएको छ, तर पनि अब सबै कुरा एकसाथ बनी–बनाउ हुँदैन । कति कुरा व्यवहारले सिकाउने पनि हुन्छ र सिक्दै जाने पनि हुन्छ । फेरि पनि जनता नै हो यहाँको निर्णायक भनेको । जनताले हामीलाई कति विश्वास गर्नुभयो, कति विश्वास गर्नुहुन्छ, आगामी दिनमा हाम्रो त्यो परीक्षाको घडी पनि छ । भन्न त जनताले फेरि फुटेको मन पराउँदैनन् भनिन्छ । त्यो एउटा कुरा पनि छ । इतिहास हेर्दा फुटेर टुक्रा भएको जनताले मन पराएको देखिँदैन । नेपालमा सबै कम्युनिस्ट एक भएर आऊ भनेको हो । एक भएर आऊ भन्ने, नयाँ नेतृत्व चाहिन्छ पनि भन्ने, युवालाई दिने नेतृत्व पनि भन्ने तर बुढाहरूले नेतृत्व नछोड्ने । आफूचाहिँ नमुरुञ्जेल नछोड्ने भएपछि कसले छोड्दिन्छ र लिने हो ? त्यसको पनि उत्तर चाहियो नि । नेतृत्व परिवर्तन नभइसकेपछि मान्छेमा उत्साह हुँदैन रहेछ । पटक–पटक त्यही कुरा, व्यवहार, त्यही अनुहार भइसकेपछि जे भएको थियो हिजो, त्यही हुन्छ भोलि पनि भन्ने भयो मान्छेलाई ।

  • २०४३ सालमा विद्रोह गरेरै प्रचण्ड नेतृत्वमा आएका थिए । कम्युनिस्ट पार्टीभित्र नेतृत्वमा आउने आफ्नै विधि र प्रक्रिया छन् । त्यो बाटो तपाईंले किन अपनाउन सक्नुभएन ? 

हामीले ससम्मान उहाँलाई बिदा लिनुस् भनेको हो । भोलि प्रचण्डले विद्रोह गरेजस्तै गरी उहाँलाई हटाउनुपर्ने परिस्थिति पनि आउँथ्यो होला, तर हामीले त्यस्तो नगर्ने, ससम्मान बिदा गरौँ भनेका हौँ । किनकि उहाँको यो आन्दोलनमा, यो परिवर्तनमा ठुलो भूमिका छ । उहाँ त्यतिकै लिडर भएको पनि होइन । अहिले पनि हामी सम्मान गर्छौं । हाम्रो लिडर हो । यो गणतन्त्र ल्याउन उहाँको यत्रो भूमिका छ । जेसुकै भए पनि लिडरशिप गर्नुभएर यहाँसम्म आउनुभएको छ, योगदान छ ।

हाम्रो कुरा केमात्र थियो भने उमेरको हिसाबले पनि, जिम्मेवारीको हिसाबले पनि ३५–३६ वर्षसम्म एउटै मान्छे लगातार नेतृत्वमा बस्दाखेरि अलिकति परिवर्तनको आभास हुने गरी सोचौँ न भन्ने थियो । उहाँलाई अपमान गर्ने हाम्रो सोच थिएन । हामीले त्यसरी कहिल्यै पनि सोचेनौँ । उहाँलाई हटाउनुपर्छ भनेर हामी त्यसरी कसेर लागेनौँ । उहाँले पटक–पटक म बिदा लिन्छु भनिराख्नुभएको थियो । व्यवहारमा लागु भएन । व्यवहारमा लागु नभइसकेपछि हुँदाहुँदा उहाँले पार्टी नै तिलाञ्जली दिएर माधव नेपालसँग एकता गर्नुभयो । पार्टी सिद्धियो नि । पार्टी छैन अब । उहाँको वरिपरिको केही मान्छेबाहेक अरू त्यो पार्टीमा अट्न सक्ने स्थिति पनि भएन । १३८ जना केन्द्रीय समिति घोषणा गर्नुभयो । सबै छुटेका छन् । एकता गरिसकेपछि झन् सिद्धियो पार्टी भनेर निराश भएकै हो ।

  • माओवादी जुन एकता प्रक्रियामा आएको छ, तिनीहरूको भविष्य के देख्नुहुन्छ ?

मेरो विचारमा नेपाली कम्युनिस्ट पार्टी सकिन्छ र यसले केही गर्ला, जनताको पक्षमा भन्ने विश्वास नलागेरै मैले विद्रोह गरेको हो । किनकि जब म २०४६ सालदेखि लागेँ, मूल धारमै थिएँ । मेरो श्रीमानले नै पार्टी छोड्दा पनि म नडग्मगाइकन बसेको मान्छे हो । बरु पटक–पटक उहाँलाई यतै फर्काउनलाई मेहनत गरेँ । म आफू काहीँ नगएको हो । मैले यहीँ आफूले दुःख गरेको छ, यहीँ पसिना बगाएको छ । यो पार्टी छोड्न हुन्न, यहीँ बस्नुपर्छ र यहीँ संघर्ष गर्नुपर्छ भनेर बसेको मान्छे हो, तर अहिले मलाई पनि विश्वासै लागेन ।

यहाँसम्म आउँदा जे देखियो, अब यो त झन्–झन् विकृतितिर, विसंगतितिर जाने हो कि भन्ने नै डर लाग्यो । पुँजीवादले खर्लप्पै खाइसकेको छ, भ्रष्टाचारले चुर्लुम्मै डुबिसकेको छ । सँगै काम गर्ने साथी एउटा गाडीमा कुदेको छ, एउटालाई गाडी चढ्ने पैसा पनि छैन । यति धेरै विभेद छ, यति धेरै अपमान छ, यति धेरै पूर्वाग्रही छ । अनि यो कहिले सच्चिन्छ र बन्छ ? अब नहुने रहेछ भन्ने भएरै मैले विद्रोह गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप