जनार्दन शर्मा ‘प्रभाकर’लाई खुलापत्र
सारांश
- लेखकले नेपालको राजनीतिमा देखिएका समस्या र समाधानका उपायबारे चर्चा गरेका छन्।
- लेखकले कम्युनिस्ट पार्टीले लोकतन्त्रको पक्षमा जनमत बढाउनुपर्ने र संघीयताको सही अभ्यास गर्नुपर्ने सुझाव दिएका छन्।
- कर्णाली प्रदेशलाई राजनीतिको नयाँ आधार बनाउन र स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइएको छ।
एकजना अमेरिकी मित्रले मसँगको कुराकानीमा रमाइलो पारामा भनेका थिए, ‘हामीले मार्क्सवादको पुँजीको अर्थ पछ्यायौँ, संस्कृत साहित्यको कल्पनाशीलतालाई ग्रहण गर्यौं अनि समृद्धिको बाटो कोर्दै चन्द्रमामा समेत पाइला राख्ने लक्ष्य लियौँ । तपाईंहरूले मार्क्सवादबाट वर्गसंघर्ष मात्र पछ्याउनु भयो अनि गोला बारुद पड्काउनतिर लाग्नु भयो । संस्कृत साहित्यलाई ‘बुर्जुवा साहित्य’ भनेर रद्दीको टोकरीमा फाल्नु भयो अनि राजनीतिक नाराको साहित्यमा रम्नुभयो । अहिले हामी दुवैले आ–आफ्नो परिणाम भोगिरहेका छौँ ।’
जनार्दन शर्मा ‘प्रभाकर’ज्यू, यो सन्दर्भ यत्ति मात्र ।
यस विषयमा सहमत हुने/नहुने अथवा थप विश्लेषण गर्ने वा यसलाई वेवास्ता गर्ने सम्पूर्ण अधिकार तपाईंमा सुरक्षित छ । म यसमा थप चर्चा गर्दिनँ र मेरो धारणा पनि यहाँ व्यक्त गर्न आवश्यक ठान्दिनँ । नेपालको राजनीतिले अझै आकार ग्रहण गरिसकेको छैन ।
प्रत्येक १०–१० वर्षको अन्तरालमा ‘आन्दोलन’, ‘विद्रोह’, ‘नयाँ दृष्टिकोणको विकास’ जस्ता घटनाक्रमले देशलाई झक–झक्याइरहेको छ । यो आवश्यकता हो कि नियति ? यसतर्फको गम्भीर समीक्षा पनि स्वतन्त्र ढंगले हुन सकिरहेको छैन ।
तपाईं जुन स्थानमा हुनुहुन्छ, त्यहाँ बसेर ‘म ठिक कि प्रचण्ड ?’ भनेर बस्दा त्यसले दुई पुराना मित्रहरूबिच प्रतिस्पर्धा होइन, प्रतिशोधको भावनाको मात्र विकास गर्ने निश्चित छ ।
राजनीतिक अभ्यासमा हारेकाहरू, समकालीनहरूले हैसियत बनाएको कुरालाई पचाउन नसकेका र आफ्नो असफलताका कारण मस्तिष्कमा कुण्ठा बोकेका व्यक्तिहरू राजनीति तरल बनेको समयमा ‘विद्वान्’ वा ‘विश्लेषक’ बनेर प्रकट भइदिन्छन् अनि उनीहरूले कुण्ठाको जगमा आलोचना गर्दै ‘विद्वता’ प्रकट गर्ने गर्छन् । त्यसैका आधारमा जनमत बन्न थाल्छ । हाम्रो राजनीतिक घटनाक्रमको निर्मम तर स्वतन्त्र समीक्षा हुन सकिरहेको छैन, जसका कारण हामी किन यस्तो नियतिको चक्रव्यूहमा फसिरहेका छौँ भन्ने कुराको चुरो पकड्न पनि सकिरहेका छैनौँ ।
अझै पनि अधिकांश मानिस देशमा कम्युनिस्ट मत धेरै छ भन्ने मनोविज्ञान राख्छन् । कम्युनिस्टहरूले संसारभर आफूलाई समयानुकूल बनाउँदै आएका छन् र बहुदलीय प्रतिस्पर्धालगायतका लोकतन्त्रका आधारभूत मान्यताको अभ्यासमा सक्रिय छन् भन्ने भाष्य निर्माण गरी लोकतन्त्रप्रति जनमत बढाउनु भन्दा पनि ‘कम्युनिस्ट’ ट्रेडमार्क जोगाई राख्न उद्धत छन् ।
निर्वाचन आयोगमा दर्ता भएका कम्युनिस्ट पार्टीको सङ्ख्याले पनि यो कुरालाई प्रस्ट्याउँछ । अबको निर्वाचन जो सुकैले जित्ला, लोकतन्त्रको पक्षमा जनमत बनाउनेतर्फ लाग्ने कुरामा ध्यान दिन सकेनौँ भने अझै समस्यामा जकडिने बाहेक केही हुने छैन ।
दृष्टिकोणमा स्पष्टता भएन भने अभ्यास दिशाविहीन हुन्छ र समाज समेत नराम्ररी प्रभावित हुन्छ । त्यसकारण अब ‘कम्युनिस्ट ट्रेडमार्क’ जोगाउनेतर्फ भन्दा पनि लोकतन्त्रको पक्षमा जनमत बढाउनेतर्फ लाग्नु नै सबैका लागि श्रेयस्कर हुन्छ । लोकतन्त्रले संवाद र सहकार्यमा विश्वास गर्छ अनि त्यस्तो वातावरण बनाइराख्नका लागि उत्प्रेरित गर्छ ।
संवाद र सहकार्यको प्रक्रियामा जो कोही जोडिन सक्छ । तपाईंहरुले ‘आवश्यकता हो’ भनेर ०५२ सालमा हतियार उठाएको परिवेश र अहिलेको परिवेश फरक हो भन्ने कुरामा तपाईं पक्कै प्रस्ट हुनुहुन्छ होला । सबैको समान अस्तित्वको सुनिश्चितता भयो भने ‘मौसमी विद्रोह’ वा शक्ति प्रदर्शन गरेर ‘भाग खोज्ने’ प्रवृत्ति निरुत्साहित हुन्छ । यही प्रवृत्ति नै अहिलेको मूल समस्या हो ।
अब संघीयताको फरक अभ्यास गर्दै जनताको सुख दुःखमा सँगसँगै रहने मोडेलको राजनीतिक अभ्यासको नेतृत्व तपाईंले गर्दा के होला ?
कम्युनिस्ट स्कुलिङबाट दीक्षित, सशस्त्र युद्धको अगुवाइ गरेको मात्र नभएर बहुदलीय प्रतिस्पर्धासहितको लोकतान्त्रिक अभ्यासमा पनि निपुण देखिएको अनि सत्ता पक्ष र विपक्ष दुवैको बेन्चबाट पनि संसदमा सबैले सुन्ने गरी दृष्टिकोण राखेको नेताका रूपमा तपाईं सुपरिचित हुनुहुन्छ । यद्यपि अभ्यासका क्रममा कमी–कमजोरी स्वाभाविक रूपमा प्रकट हुन्छन् नै ।
यी सबै अनुभव हासिल गरेको र स्पष्ट देखिनेगरी योगदान समेत गरेकाका आधारमा मैले माथि चर्चा गरेको विषयप्रति तपाईं अझ बढी स्पष्ट हुनुहुन्छ भन्ने मेरो विश्वास छ । त्यही विश्वासले गर्दा केही आग्रह गर्न चाहेको हुँ ।
०४८ सालको चुनावपछि एउटा भाष्य बनेको थियो– खुमबहादुर खड्का, विजय गच्छेदार, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशीलगायतले कहिल्यै चुनाव हार्दैनन् । ०६२ सालपछि पनि यस्तै भाष्य बन्यो र तपाईंको नाम यस्तैको नयाँ सूचिमा दरियो । निर्वाचन क्षेत्रसँगको सामीप्यता, मतदातासँगको सुख दुःखमा सहभागिता अनि बलियो आत्मविश्वासका साथ राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निभाउन सक्ने प्रभाव । निरन्तर निर्वाचन जित्ने मात्रको खोजी गर्दा सायद यिनै गुणहरूको आधार खोजिन्छ । तपाईंमा पनि यस्ता कैयौँ गुणहरू देखेरै त्यो सूचिमा समावेश गरिएको होला ।
जग बलियो भएको मानिसले नै हो केही नयाँ अभ्यास गर्ने । तर म सधैँका लागि स्थापित भएँ भन्ने सोच गलत हो । त्यस्ता सूचिहरू समयको क्रमसँगै फेरिँदा रहेछन् भन्ने कुरा हामीले देख्दै र लेख्दै आएकै हो । त्यसकारण समयको आवाजलाई सुन्ने र बुझ्ने अनि त्यसको आधारमा रणनीति बनाउने क्षमता पनि क्रियाशील नेतृत्वले राख्नुपर्छ । अहिले तपाईं जुन स्थानमा हुनुहुन्छ, त्यहाँ बसेर ‘म ठिक कि प्रचण्ड ?’ भनेर बस्दा त्यसले दुई पुराना मित्रहरूबिच प्रतिस्पर्धा होइन, प्रतिशोधको भावनाको मात्र विकास गर्ने निश्चित छ ।
जसरी गुजरातलाई गुजरात बनाएर नरेन्द्र मोदी भारतीय राजनीतिमा कुशल कालिगडका रूपमा उदाए त्यसरी नै तपाईंका सामु कर्णालीलाई कर्णाली बनाएर अग्लो देखिने अवसर छ ।
त्यसले कसैलाई पनि हित गर्नेछैन र भोलि समयले दुई जनाको बिचमा फेरि सहकार्यको माग गर्यो भने त्यो सहकार्य प्राप्तिमा समेत व्यवधान आउने छ । त्यसकारण अब तपाईंमा ‘ट्रेडमार्क’ होइन, फरक मार्गमा हिँड्ने सोच बनोस् भन्ने चाहना आम रूपमा रहेको देखेको छु ।
माओवादी युद्ध लडेकाहरू त तपाईंहरू दुई जनाले एक–अर्काको कुरा काटेको सुन्नै चाहिरहेका छैनन् र पार्टी भित्र एकलाई अर्काको विकल्पका रूपमा समेत स्विकार्न सकिरहेका छैनन् । अधिकतम निकटताका बिच अलग–अलग बाटो हिँडुन् भन्ने चाहना धेरैमा रहेको देखेको सूचना पनि मैले यसै पत्रमार्फत तपाईंसमक्ष पुर्याएँ ।
नेपाली संघीयताप्रति अझै पनि सबै नागरिकको रुचि बढिरहेको छैन । संघीयताको अभ्यास पनि जनता–केन्द्रित भन्दा नेता र केन्द्र बलियो बनाउने मनोविज्ञानले मात्र ग्रसित रहेको भान हुन्छ । संघीयता खारेज गरौँ भन्ने आवाज पनि बलियो बन्दैजाने अवस्था छ । परिवर्तनको उपलब्धिमाथि नै अरुचि बढ्दै जानु भनेको स्थिरता र प्रणालीमाथि नै नजानिँदो किसिमको आक्रमण हुनु हो । त्यसकारण अब संघीयताको फरक अभ्यास गर्दै जनताको सुख दुःखमा सँगसँगै रहने मोडेलको राजनीतिक अभ्यासको नेतृत्व तपाईंले गर्दा के होला ?
कर्णाली नेपालको पिछडिएको भूगोल मानिन्छ । केन्द्रको आँखा पुग्न नसकेको ठानिन्छ । दुर्गम, अपहेलित र पिछडिएको कुराहरूलाई चिनाउने बिम्ब बन्न पुगेको छ कर्णाली । दैलेख, जुम्लाको सभ्यता गुमनाम छ । अखण्ड ज्वालाले देखाइरहेको समृद्धिको सम्भावनालाई साकार पार्न केन्द्रले कहिल्यै पनि प्राथमिकता दिएन । खनिजको अध्ययनले उत्खनन गरेका सम्भावनालाई दुर्गम र धेरै लगानीको नाममा बेवास्ता गरिइरहेको छ । बाटोघाटो र भौगोलिक अवस्थितिलाई दोष दिएर आफ्नो ‘सोचविहीन राजनीति’लाई जोगाइरहेको अवस्था छ ।
तपाईंको नयाँ राजनीतिक अभ्यासका लागि यी सङ्गतिहरू उर्वर जमिन बन्न सक्छन् । सशस्त्र युद्धको उद्गम रोल्पा–रुकुम बनेझैँ कर्णाली तपाईंको नवीन यात्राको आधार बन्न सक्छ । संघीय सरकारको समीकरण खलबलिँदै गर्दा प्रदेशको हार्दिकतामा कटुता आएको नमिठो अनुभव तपाईंसँग छ । संविधानले दिएको अधिकारको अत्यधिक उपयोग अनि आवश्यक परेमा थप अधिकारको माग गर्न सक्ने सामर्थ्य तपाईंमा छ भन्ने यो भूगोलको विश्वास छ ।
यी सबै पक्षको विश्लेषण बिना तपाईंले अर्को राजनीतिक यात्रा तय गर्दा फेरि पनि तपाईं चक्रव्यूहमा मात्र पर्नुहुन्छ जस्तो लाग्छ । संघीयतामा जाँदा भूगोललाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यताले आफ्नै जिल्ला रुकुमलाई टुक्र्याएर दुई जिल्ला बनाई अलग–अलग प्रदेशमा प्रतिस्थापन गर्ने निर्णयकर्ता तपाईं समेत हो । तसर्थ भूगोलको आवाजलाई तपाईंले झनै राम्रोसँग सुन्न सक्नुहुन्छ ।
अर्को कोणबाट हेर्दा, विगतमा तपाईंहरुले ‘हाम्रो पार्टीको प्रभाव क्षेत्र’ भनेर रोल्पा, रुकुमलगायतका जिल्लालाई भनिरहनुको पछाडि भौगोलिक अवस्थितिप्रतिको सम्मान हो भनेर बुझ्न सकिन्छ ।
जसरी गुजरातलाई गुजरात बनाएर नरेन्द्र दामोदरदास मोदी भारतीय राजनीतिमा कुशल कालिगडका रूपमा उदाए, यही जगमा योगी आदित्यनाथलाई भारतको भावी प्रधानमन्त्रीको रूपमा हेरिँदैछ, त्यसरी नै तपाईंका सामु पनि कर्णालीलाई कर्णाली बनाएर अग्लो देखिने अवसर छ ।
संघीयताप्रति नागरिक रुचि बढाउने, सम्भावनाको गीतलाई सफलताको गीतले प्रतिस्थापन गर्ने अनि योगदानमा आधारित भएर मूल्याङ्कन गर्ने शृङ्खलाको प्रारम्भ गर्ने प्रचुर सम्भावना छ ।
संघीयतालाई बलियो बनाउन प्रदेश–स्तरका पार्टी जन्मने र तिनले असल अभ्यासको थालनी गर्ने क्रमको सुरुवात हुन सकिरहेको छैन । मधेस प्रदेशमा प्रयास भएता पनि प्रदेश भन्दा केन्द्रलाई नै महत्त्व दिएका कारण त्यति सफल हुन सकेको छैन । अब तपाईंले कर्णाली प्रदेशमा पार्टी खोलेर, त्यहीँ बसेर, त्यहीँका मुद्दाहरूको पहिचान र सम्भावनाको विश्लेषण गरेर आफ्नै अगुवाइमा तिनको कार्यान्वयनलाई सुनिश्चित गर्ने मार्ग तय गर्नुभयो भने तपाईंको प्रतिस्पर्धी कोही हुने छैनन् ।
रोग, भोग, अशिक्षाका विरुद्ध लड्न र सम्भावनासँग मितेरी लगाउँदै सहयात्रा गर्न सक्नुहुनेछ । यसलाई आफ्नो राष्ट्रिय हैसियतलाई प्रदेशमा खुम्चिएको रूपमा मात्र विश्लेषण गरियो भने त्यो विसर्जनको पथ हुनेछ । काठमाडौँमा बसेर सानो समूह चलाएकासँगको संवाद होइन, कर्णालीका गाउँ–गाउँमा पुगेर नागरिक संवादमार्फत आफूलाई थप उत्तरदायी बनाउने र आत्मविश्वासको पारोलाई अझै माथि पुर्याउने भूमिकामा तपाईंलाई तपाईंका शुभेच्छुकहरूले देख्न चाहेका छन् ।
संघीयताको अभ्यास गरिरहेका विश्वका विभिन्न देशहरूमा पनि क्षेत्रीय दलहरूको अभ्यासले राम्रो परिणाम दिएका छन् । भारतमा शिव सेना, टिएमसी, डिएमके, विजेडी जस्ता क्षेत्रीय पार्टीहरूले आफ्नो प्रदेशको आवाज संघीय संसदसम्म पुर्याएका छन् । उता जर्मनी, क्यानडा, स्विजरल्यान्ड आदि देशमा पनि प्रादेशिक पार्टीहरू प्रदेशीय स्वायत्तता सुदृढ पार्न सक्रिय छन् ।
तपाईंले कर्णालीमा पार्टी खोलेर, त्यहीँ बसेर, त्यहीँका मुद्दाहरूको पहिचान र सम्भावनाको विश्लेषण गरेर आफ्नै अगुवाइमा तिनको कार्यान्वयनलाई सुनिश्चित गर्ने मार्ग तय गर्नुभयो भने तपाईंको प्रतिस्पर्धी कोही हुने छैनन् ।
नेपालमा पनि यस्तो अभ्यासको आवश्यकता महसुस भइरहेको छ । त्यसका लागि स्पष्ट र आत्मबिश्वासले भरिपूर्ण नेतृत्वको ‘स्पेस’ खाली छ, त्यहाँ तपाईं जत्तिको पात्र उपयुक्त मानिने छ ।
यो भूमिकामा रहँदा तपाईंले कसैसँग प्रतिशोधपूर्ण व्यवहार भोग्नुपर्ने छैन, कतै तपाईं पछुताउन पनि पर्ने छैन । नयाँ आयाम दिएकोमा धन्यवाद र बधाईको हकदार हुनुहुनेछ अनि सकिनसकी ‘कम्युनिस्ट ट्रेडमार्क’ जोगाउने नाममा सधैँ राजनीतिलाई अलमलमा राखिराख्न पनि पर्ने छैन ।
अनुभव र योग्यताले भरिपूर्ण तपाईंको आत्मविश्वासले यसलाई नयाँ उचाइ दिनेछ । बाँकी तपाईंको इच्छा ।
उही,
विपुल पोखरेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण