एनआरएनए विवाद समाधानतिर, एकताका लागि सहमतिपत्र तयार
काठमाडौँ । आन्तरिक विवादले थलिएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का दुई समूहबिच एकताका लागि अन्तिम तयारी गरिएको छ ।
एनआरएनए अभियन्ताहरूका अनुसार मूलतः केही प्राविधिक विषय मात्र बाँकी रहेकाले एक–दुई दिनमै ती विषय मिलाएर एक हप्ताभित्र एकता औपचारिक गर्ने तयारी छ ।
छलफल तीव्र गतिमा अघि बढिरहेको बताउँदै एनआरएनएका नेता सोम सापकोटाले चाँडै सकारात्मक परिणाम सार्वजनिक हुने विश्वास व्यक्त गरे ।
हाल सङ्घमा बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका छुट्टाछुट्टै समूह सक्रिय रहे पनि एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन एकता अपरिहार्य भएको निष्कर्ष दुवै पक्षले निकालेका छन् । दसैँयता भएका बहसहरू सकारात्मक दिशामा अघि बढेको स्वीकार अध्यक्ष महेश श्रेष्ठले पनि गरेका छन् ।
अर्का अध्यक्ष बद्री केसीले समेत एकता सम्भव भइसकेको भन्दै आफ्नो पक्षका नेताहरूलाई काठमाडौँमै बस्न सङ्केत गरिसकेका छन् ।
छलफलको आधारका रूपमा सहमतिको ड्राफ्ट तयार गरिएको छ। यसको मुख्य प्रावधानअनुसार सङ्घको नेतृत्व संरचनामा दुवै पक्षलाई सम्मानजनक भूमिका दिने व्यवस्था गरिएको छ ।
एघारौँ महाधिवेशनबाट निर्वाचित बद्री केसी नेतृत्वको कार्यसमिति र सर्वोच्च अदालतको आदेशपछि गठन भएको महेश श्रेष्ठ पक्षको कार्यसमिति दुवैलाई मान्यता दिने प्रस्ताव समावेश छ ।
तत्कालका लागि महेश श्रेष्ठ नेतृत्वलाई केन्द्रीय कार्यालयमा स्वागत गरी अध्यक्षको रूपमा पदासीन गराउने योजना ड्राफ्टमा उल्लेख छ ।
महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि सहमतिमा स्पष्ट रोडम्याप तय गरिएको छ। सहमतिपत्रमा हस्ताक्षर भएको मितिले ६ महिनाभित्र १२ ओैँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र सो अवधि श्रेष्ठ नेतृत्वको पूर्ण कार्यकाल मान्ने प्रस्ताव गरिए पनि यसबारे केसी पक्षसँग थप छलफल हुने बताइएको छ।
आगामी महाधिवेशन निष्पक्ष र पारदर्शी बनाउन श्रेष्ठको संयोजकत्वमा ‘स्टेअरिङ कमिटी’ गठन गर्ने र दुवै पक्षका प्रतिनिधिहरू रहने व्यवस्था गरिने उल्लेख छ। यस समितिका सदस्यहरू उम्मेदवार बन्न नपाउने र उनीहरूकै पहलमा निर्वाचन समिति लगायतका प्रमुख निकाय गठन हुने ड्राफ्टमा उल्लेख छ ।
विगतमा बनेका सबै कार्यसमितिलाई संस्थागत मान्यता दिने प्रस्तावले मेलमिलापको सन्देश दिन खोजिएको छ। कुल आचार्य, बद्री केसी, रविना थापा, विनोद कुँवर र आरके शर्मा अध्यक्षतामा गठन भएका समितिहरूलाई औपचारिक रूपमा स्वीकार्ने तयारी गरिएको छ ।
नेतृत्व हस्तान्तरणको सूक्ष्म प्रक्रिया पनि औपचारिक रूपमा उल्लेख गरिएको छ। बाह्रौं महाधिवेशनमा केसी पक्षका महासचिव र कोषाध्यक्षले प्रतिवेदन पेश गरेपछि केसीले नेतृत्व श्रेष्ठलाई हस्तान्तरण गर्ने, त्यसपछि श्रेष्ठ नेतृत्वले पनि प्रतिवेदन पेस गरी नयाँ कार्यसमितिलाई जिम्मेवारी बुझाउने प्रावधान राखिएको छ ।
एनआरएनएको आधिकारिकता र अदालतमा चलिरहेका मुद्दा दुवै पक्षले फिर्ता लिने वा आपसी सहमतिमा टुंग्याउने सहमति ड्राफ्टमा समावेश छ ।
सहमतिपत्रमा सकेसम्म प्रधानमन्त्रीकै उपस्थितिमा हस्ताक्षर गर्ने तयारी भइरहेको बताइएको छ। यसका लागि एनआरएनएका केही नेताहरू काठमाडौँ समेत आइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण