बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विनाशकारी अहङ्कार र रूपान्तरणको अनिवार्यता

बिहीबार, ०४ मङ्सिर २०८२, ०८ : २०
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • नेपाली राजनीतिमा नेताहरूको अहङ्कार बढ्दै गएको र यसले देशको भविष्यमा नकारात्मक असर पार्ने कुरालाई जोड दिइएको छ।
  • लोकतन्त्रमा दलहरू व्यक्तिगत स्वार्थ, सत्ता र अहङ्कारमा फसेको, जसले गर्दा संस्थागत निर्णय प्रक्रिया कमजोर बनेको बताइएको छ।
  • लेखमा नेताहरूलाई आत्मसमीक्षा गर्न र राष्ट्रिय हितलाई प्राथमिकता दिन आह्वान गरिएको छ, अन्यथा इतिहासले उनीहरूलाई असफल ठहर्​​याउने चेतावनी दिइएको छ।

पछिल्लो समय नेपाली राजनीतिमा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहङ्कारी नेताका रूपमा आलोचनाको शिखरमा छन् । ओलीको अहङ्कार र आलोचनाको दायरा जति व्यापक छ, यो समस्या केवल ओली र एमालेभित्र मात्र सीमित छैन । नेपाली राजनीतिको रङ्गमञ्चमा विगत लामो समयदेखि दल र तिनका नेताहरूको अहङ्कार एउटा गहिरो रोगका रूपमा झाँगिएको छ । 

लोकतन्त्रको जगमा उभिएका राजनीतिक दलहरू आज विचार, सिद्धान्त र कार्यक्रम भन्दा पनि व्यक्तिगत स्वार्थ, अकुत सम्पत्ति र सत्ताशक्तिको अहङ्कार एवं लोभको दलदलमा फसेका छन् । यस अहङ्कारले विवेकलाई कैद गरेको छ, जसको प्रत्यक्ष असर देशको भविष्य र जनताको जीवनमा परिरहेको छ ।

लोकतन्त्रमा राजनीतिक दलहरू शासन सञ्चालनका मेरुदण्ड हुन् । तर, जब यो मेरुदण्ड नैतिक मूल्य र पारदर्शिताको कमीले कमजोर हुँदै गइरहेको छ । यसैले राज्य प्रणालीलाई थप शिथिल बनाइ रहेको छ । अहङ्कारी नेतृत्वले ‘म नै सर्वोपरि हुँ’ भन्ने ठान्छ, जसले गर्दा संस्थागत निर्णय प्रक्रिया भत्किन्छ । र, आफ्नै जयजयकारमा कार्यकर्ताहरूलाई सडकमा उतार्छ । आज ओली र एमाले मात्र होइन, सबै राजनीतिक दलमा यस्तै समस्या व्याप्त छ ।

अहङ्कारको दुष्परिणाम

नेताहरूमा सत्तामा पुग्ने लालसा हावी हुँदा राजनीतिमा सिद्धान्त र गठबन्धनको कुनै ख्याल राखिएन । संवैधानिक प्रणाली, बहुदलीय लोकतन्त्र, दलहरूले अँगालेका विचारधारा, मूल्यमान्यता र आधारभूत सिद्धान्तलाई नै तिलाञ्जलि दिँदै कांग्रेसले हँसिया हतौडामा, माओवादीले रुखमा, एमालेले हलोमा र राप्रपाले सूर्यचिन्हमा मतदान गरे ।

निजी स्वार्थ समूहका व्यक्तिहरू निर्वाचित हुने र राज्य दोहनमा लिप्त रहने प्रवृत्तिको तमासे गाईजात्रा प्रस्तुत गरेर दल र तिनका नेताहरूले देशलाई लामो समयसम्म अस्थिरताको भूमरीमा फसाए । आफ्नै प्रवृत्ति यतिसम्म स्खलित हुँदाहुँदै पनि आफूभन्दा फरक विचार राख्नेलाई शत्रु देख्ने निर्लज्ज प्रवृत्तिले नेता र दलहरूलाई छाडेन । व्यक्तिगत स्वार्थका लागि संविधानको मर्म र भावना विपरीतका निर्णयहरू निरन्तर भइरहे ।

दल सञ्चालन र चुनाव खर्चको स्रोतमा पारदर्शिताको अभाव हुँदा भ्रष्टाचारले प्रश्रय पायो । स्थानीय तहको विकास निर्माणदेखि लिएर सार्वजनिक संस्थासम्ममा दलीय स्वार्थ हावी हुँदा सामान्य नागरिकहरू प्रक्रियाबाट नै बाहिरिने अवस्था सिर्जना भयो । दल र नेताका यस्ता स्वेच्छाचारी, अहङ्कारजन्य, भ्रष्ट क्रियाकलापले आज जनतामा राजनीतिक नेतृत्वप्रति नै अविश्वास पैदा भएको छ । 

नेतृत्वप्रतिको यही अविश्वास र टुट्दो भरोसाले समाज र देश चुनौतीको पहाड अघिल्तिर उभिएको छ ।

झाङ्गिदो अहङ्कारको माखेसाङ्लो

देश राजनीतिक जटिलता र सङ्कटमा परेको यो बेला नेताहरूबाट त्याग र समर्पणको अपेक्षा गरेका छन् आम जनताले । तर, नेताहरूको व्यवहारमा अहङ्कार झन–झन झाङ्गिदै गइरहेको छ । यो आफैमा चिन्ताजनक छ । अझै पनि अधिकांश नेताहरूले शक्तिलाई सेवाको माध्यम नभई व्यक्तिगत लाभ र नियन्त्रणको साधन मानेका छन् । 

पटक–पटकको सत्ता चक्रले विवेक गुमेका उनीहरूमा ‘म बिना हुँदैन’ भन्ने भावना दह्रोगरी गढेको छ । पार्टीभित्र व्यक्तिगत नेताको आदेश सर्वोच्च हुने र आलोचनालाई असह्य मान्ने प्रवृत्ति झनै भयानक रूपमा देखा पर्न थालेको छ । देउवा, ओली, प्रचण्ड, माधव लगायतका नेताहरू अझै पनि आफ्नो विगत गल्तीहरूलाई स्विकार्नुको सट्टा अर्कै राग अलापी रहेका छन् ।

कतिसम्म भने उनीहरू आफ्नो निर्णयमाथि कसैले प्रश्न उठाउन मिल्दैन भन्ने शैलीमा हुङ्कार गरिरहेका देखिन्छन् । यसमा नेताको वरिपरि रहने समूहले निरन्तर प्रशंसा र अहङ्कारलाई बढवा दिइरहेकै छन् । उनीहरूले नेतालाई गलत सूचना दिएर वा यथार्थ लुकाएर अहङ्कारलाई थप मलजल गरिरहेका छन् । जनताको आवाजलाई नजरअन्दाज गर्ने प्रवृत्ति र जनआक्रोश एवं जनमतको डर नराख्ने आत्मघाती रवैयाले नेताहरूमा डेरा जमाइरहेकै देखिन्छ । 

निर्वाचन प्रणाली, भोट बैंक वा आफ्नो पार्टीको प्रभावका कारण जनताले गाली गरे पनि भोट दिन्छन् भन्ने गलत आत्मविश्वासले गर्दा उनीहरू जनताको गुनासोलाई गम्भीरतापूर्वक लिइरहेका छैनन् । उनीहरू लोकतन्त्रलाई जनताको शासन भन्दा पनि ‘चुनाव जितेको आफ्नो समूहको निरङ्कुश अधिकार’का रूपमा बुझिरहेका छन् ।

नेताहरूलाई कार्यसम्पादनमा जवाफदेही बनाउने संयन्त्र निकै कमजोर हुँदा भ्रष्टाचार, विसङ्गति र असफलतामा पनि उनीहरू सजिलै उम्किन पाएका छन् । नेताहरूको यो सुध्रिने भन्दा पनि सकिने बाटो हो । पार्टी भित्रका असल पङ्क्तिले नेता सकिँदा पनि देश र लोकतन्त्र नसकियोस् भन्ने चाहना राख्ने हो भने रूपान्तरणको बाटो रोज्न खुट्टा कमाउनु हुँदैन ।

रूपान्तरण कसरी

नेता र दलहरू सुध्रन अब धेरै नै ढिला भइसकेको छ, तर सर्वस्व गुमिसकेको छैन । त्यसैले, राजनीतिक नेतृत्वले आफ्नो अहङ्कार त्यागेर विवेकलाई अङ्गाल्न तयार हुनुपर्छ भने कार्यकर्ताहरू रूपान्तरणको मार्गमा डटेर उभिन सक्नुपर्छ । जेनजी आन्दोलनको आधारभूत मर्म पनि यही रूपान्तरण नै हो, जसका लागि दलहरूसँग स्पष्ट मार्ग अझै सुरक्षित छ ।

यसका निम्ति आन्तरिक लोकतन्त्र सुदृढीकरण गर्दै विधिमा आधारित नेतृत्व चयनमा कार्यकर्ताले जोड दिनुपर्छ । नेताहरूले तल्ला कमिटीबाट सर्वसम्मत वा प्रतिस्पर्धाबाट निर्णय भई आएका नामहरूलाई बेवास्ता गर्ने लज्जास्पद प्रवृत्ति अन्त्य गर्नुपर्छ । हरेक तहका पदाधिकारीको नियमित, स्वच्छ र प्रतिस्पर्धी निर्वाचन हुनुपर्छ, जसरी विकसित लोकतन्त्रमा हुने गर्छ । नेतृत्व हस्तान्तरणको अर्को जटिल पक्ष भनेको पार्टीभित्रको सामन्तवादी नेतृत्व प्रणाली हो । 

नेता जन्मसिद्ध होइन, कर्मसिद्ध हो भन्ने मान्यता स्थापित गर्दै पारिवारिक र गुटगत विरासतलाई निरुत्साहित गर्न सक्नुपर्छ ।

हरेक पार्टीभित्रका इमानदार नेता कार्यकर्ताले नैतिकता र पारदर्शितामा जोड दिनुपर्छ । दल सञ्चालनका लागि हुने खर्चको स्रोत कानुनी रूपमा स्पष्ट र पूर्ण पारदर्शी हुनुपर्छ । निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलको आर्थिक अनियमिततामाथि छानबिन गर्ने अधिकार दिनुपर्छ । पदमा रहेका नेता तथा कार्यकर्ताले आफ्नो ओहोदाको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने प्रवृत्तिको कठोर नियन्त्रण गर्न सक्नुपर्छ । 

निष्कर्ष

अब दलका नेताहरूले आत्मसमीक्षा गर्नैपर्छ । उनीहरूको अहङ्कारले देशको सम्भावनालाई बन्दी बनाएको छ । लोकतन्त्रको संस्थागत विकासका लागि अब पद र प्रतिष्ठाको लोभ त्यागेर राष्ट्रिय हित र विवेकलाई सर्वोपरि राख्नुको विकल्प छैन । यदि नेतृत्वले समयमै आफ्नो कार्यशैली नसुधारेमा इतिहासले उनीहरूलाई निष्क्रियता र असफलताको कलङ्क लगाउने निश्चित छ ।

राजनीतिक जटिलतामा नेताहरूको अहङ्कार नघट्नुको मुख्य कारण व्यक्तिगत र प्रणालीगत कमजोरीहरूको जटिल गठजोड हो । जबसम्म पार्टीभित्र र बाहिर जवाफदेहिताको बलियो संयन्त्र बन्दैन र शक्तिलाई व्यक्तिगत सेवाको साधन मान्ने मानसिकतामा परिवर्तन आउँदैन, तबसम्म यो समस्या जस्ताको तस्तै रहिरहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिकिरण
ज्योतिकिरण
लेखकबाट थप