विनाशकारी अहङ्कार र रूपान्तरणको अनिवार्यता
सारांश
- नेपाली राजनीतिमा नेताहरूको अहङ्कार बढ्दै गएको र यसले देशको भविष्यमा नकारात्मक असर पार्ने कुरालाई जोड दिइएको छ।
- लोकतन्त्रमा दलहरू व्यक्तिगत स्वार्थ, सत्ता र अहङ्कारमा फसेको, जसले गर्दा संस्थागत निर्णय प्रक्रिया कमजोर बनेको बताइएको छ।
- लेखमा नेताहरूलाई आत्मसमीक्षा गर्न र राष्ट्रिय हितलाई प्राथमिकता दिन आह्वान गरिएको छ, अन्यथा इतिहासले उनीहरूलाई असफल ठहर्याउने चेतावनी दिइएको छ।
पछिल्लो समय नेपाली राजनीतिमा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहङ्कारी नेताका रूपमा आलोचनाको शिखरमा छन् । ओलीको अहङ्कार र आलोचनाको दायरा जति व्यापक छ, यो समस्या केवल ओली र एमालेभित्र मात्र सीमित छैन । नेपाली राजनीतिको रङ्गमञ्चमा विगत लामो समयदेखि दल र तिनका नेताहरूको अहङ्कार एउटा गहिरो रोगका रूपमा झाँगिएको छ ।
लोकतन्त्रको जगमा उभिएका राजनीतिक दलहरू आज विचार, सिद्धान्त र कार्यक्रम भन्दा पनि व्यक्तिगत स्वार्थ, अकुत सम्पत्ति र सत्ताशक्तिको अहङ्कार एवं लोभको दलदलमा फसेका छन् । यस अहङ्कारले विवेकलाई कैद गरेको छ, जसको प्रत्यक्ष असर देशको भविष्य र जनताको जीवनमा परिरहेको छ ।
लोकतन्त्रमा राजनीतिक दलहरू शासन सञ्चालनका मेरुदण्ड हुन् । तर, जब यो मेरुदण्ड नैतिक मूल्य र पारदर्शिताको कमीले कमजोर हुँदै गइरहेको छ । यसैले राज्य प्रणालीलाई थप शिथिल बनाइ रहेको छ । अहङ्कारी नेतृत्वले ‘म नै सर्वोपरि हुँ’ भन्ने ठान्छ, जसले गर्दा संस्थागत निर्णय प्रक्रिया भत्किन्छ । र, आफ्नै जयजयकारमा कार्यकर्ताहरूलाई सडकमा उतार्छ । आज ओली र एमाले मात्र होइन, सबै राजनीतिक दलमा यस्तै समस्या व्याप्त छ ।
अहङ्कारको दुष्परिणाम
नेताहरूमा सत्तामा पुग्ने लालसा हावी हुँदा राजनीतिमा सिद्धान्त र गठबन्धनको कुनै ख्याल राखिएन । संवैधानिक प्रणाली, बहुदलीय लोकतन्त्र, दलहरूले अँगालेका विचारधारा, मूल्यमान्यता र आधारभूत सिद्धान्तलाई नै तिलाञ्जलि दिँदै कांग्रेसले हँसिया हतौडामा, माओवादीले रुखमा, एमालेले हलोमा र राप्रपाले सूर्यचिन्हमा मतदान गरे ।
निजी स्वार्थ समूहका व्यक्तिहरू निर्वाचित हुने र राज्य दोहनमा लिप्त रहने प्रवृत्तिको तमासे गाईजात्रा प्रस्तुत गरेर दल र तिनका नेताहरूले देशलाई लामो समयसम्म अस्थिरताको भूमरीमा फसाए । आफ्नै प्रवृत्ति यतिसम्म स्खलित हुँदाहुँदै पनि आफूभन्दा फरक विचार राख्नेलाई शत्रु देख्ने निर्लज्ज प्रवृत्तिले नेता र दलहरूलाई छाडेन । व्यक्तिगत स्वार्थका लागि संविधानको मर्म र भावना विपरीतका निर्णयहरू निरन्तर भइरहे ।
दल सञ्चालन र चुनाव खर्चको स्रोतमा पारदर्शिताको अभाव हुँदा भ्रष्टाचारले प्रश्रय पायो । स्थानीय तहको विकास निर्माणदेखि लिएर सार्वजनिक संस्थासम्ममा दलीय स्वार्थ हावी हुँदा सामान्य नागरिकहरू प्रक्रियाबाट नै बाहिरिने अवस्था सिर्जना भयो । दल र नेताका यस्ता स्वेच्छाचारी, अहङ्कारजन्य, भ्रष्ट क्रियाकलापले आज जनतामा राजनीतिक नेतृत्वप्रति नै अविश्वास पैदा भएको छ ।
नेतृत्वप्रतिको यही अविश्वास र टुट्दो भरोसाले समाज र देश चुनौतीको पहाड अघिल्तिर उभिएको छ ।
झाङ्गिदो अहङ्कारको माखेसाङ्लो
देश राजनीतिक जटिलता र सङ्कटमा परेको यो बेला नेताहरूबाट त्याग र समर्पणको अपेक्षा गरेका छन् आम जनताले । तर, नेताहरूको व्यवहारमा अहङ्कार झन–झन झाङ्गिदै गइरहेको छ । यो आफैमा चिन्ताजनक छ । अझै पनि अधिकांश नेताहरूले शक्तिलाई सेवाको माध्यम नभई व्यक्तिगत लाभ र नियन्त्रणको साधन मानेका छन् ।
पटक–पटकको सत्ता चक्रले विवेक गुमेका उनीहरूमा ‘म बिना हुँदैन’ भन्ने भावना दह्रोगरी गढेको छ । पार्टीभित्र व्यक्तिगत नेताको आदेश सर्वोच्च हुने र आलोचनालाई असह्य मान्ने प्रवृत्ति झनै भयानक रूपमा देखा पर्न थालेको छ । देउवा, ओली, प्रचण्ड, माधव लगायतका नेताहरू अझै पनि आफ्नो विगत गल्तीहरूलाई स्विकार्नुको सट्टा अर्कै राग अलापी रहेका छन् ।
कतिसम्म भने उनीहरू आफ्नो निर्णयमाथि कसैले प्रश्न उठाउन मिल्दैन भन्ने शैलीमा हुङ्कार गरिरहेका देखिन्छन् । यसमा नेताको वरिपरि रहने समूहले निरन्तर प्रशंसा र अहङ्कारलाई बढवा दिइरहेकै छन् । उनीहरूले नेतालाई गलत सूचना दिएर वा यथार्थ लुकाएर अहङ्कारलाई थप मलजल गरिरहेका छन् । जनताको आवाजलाई नजरअन्दाज गर्ने प्रवृत्ति र जनआक्रोश एवं जनमतको डर नराख्ने आत्मघाती रवैयाले नेताहरूमा डेरा जमाइरहेकै देखिन्छ ।
निर्वाचन प्रणाली, भोट बैंक वा आफ्नो पार्टीको प्रभावका कारण जनताले गाली गरे पनि भोट दिन्छन् भन्ने गलत आत्मविश्वासले गर्दा उनीहरू जनताको गुनासोलाई गम्भीरतापूर्वक लिइरहेका छैनन् । उनीहरू लोकतन्त्रलाई जनताको शासन भन्दा पनि ‘चुनाव जितेको आफ्नो समूहको निरङ्कुश अधिकार’का रूपमा बुझिरहेका छन् ।
नेताहरूलाई कार्यसम्पादनमा जवाफदेही बनाउने संयन्त्र निकै कमजोर हुँदा भ्रष्टाचार, विसङ्गति र असफलतामा पनि उनीहरू सजिलै उम्किन पाएका छन् । नेताहरूको यो सुध्रिने भन्दा पनि सकिने बाटो हो । पार्टी भित्रका असल पङ्क्तिले नेता सकिँदा पनि देश र लोकतन्त्र नसकियोस् भन्ने चाहना राख्ने हो भने रूपान्तरणको बाटो रोज्न खुट्टा कमाउनु हुँदैन ।
रूपान्तरण कसरी
नेता र दलहरू सुध्रन अब धेरै नै ढिला भइसकेको छ, तर सर्वस्व गुमिसकेको छैन । त्यसैले, राजनीतिक नेतृत्वले आफ्नो अहङ्कार त्यागेर विवेकलाई अङ्गाल्न तयार हुनुपर्छ भने कार्यकर्ताहरू रूपान्तरणको मार्गमा डटेर उभिन सक्नुपर्छ । जेनजी आन्दोलनको आधारभूत मर्म पनि यही रूपान्तरण नै हो, जसका लागि दलहरूसँग स्पष्ट मार्ग अझै सुरक्षित छ ।
यसका निम्ति आन्तरिक लोकतन्त्र सुदृढीकरण गर्दै विधिमा आधारित नेतृत्व चयनमा कार्यकर्ताले जोड दिनुपर्छ । नेताहरूले तल्ला कमिटीबाट सर्वसम्मत वा प्रतिस्पर्धाबाट निर्णय भई आएका नामहरूलाई बेवास्ता गर्ने लज्जास्पद प्रवृत्ति अन्त्य गर्नुपर्छ । हरेक तहका पदाधिकारीको नियमित, स्वच्छ र प्रतिस्पर्धी निर्वाचन हुनुपर्छ, जसरी विकसित लोकतन्त्रमा हुने गर्छ । नेतृत्व हस्तान्तरणको अर्को जटिल पक्ष भनेको पार्टीभित्रको सामन्तवादी नेतृत्व प्रणाली हो ।
नेता जन्मसिद्ध होइन, कर्मसिद्ध हो भन्ने मान्यता स्थापित गर्दै पारिवारिक र गुटगत विरासतलाई निरुत्साहित गर्न सक्नुपर्छ ।
हरेक पार्टीभित्रका इमानदार नेता कार्यकर्ताले नैतिकता र पारदर्शितामा जोड दिनुपर्छ । दल सञ्चालनका लागि हुने खर्चको स्रोत कानुनी रूपमा स्पष्ट र पूर्ण पारदर्शी हुनुपर्छ । निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलको आर्थिक अनियमिततामाथि छानबिन गर्ने अधिकार दिनुपर्छ । पदमा रहेका नेता तथा कार्यकर्ताले आफ्नो ओहोदाको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने प्रवृत्तिको कठोर नियन्त्रण गर्न सक्नुपर्छ ।
निष्कर्ष
अब दलका नेताहरूले आत्मसमीक्षा गर्नैपर्छ । उनीहरूको अहङ्कारले देशको सम्भावनालाई बन्दी बनाएको छ । लोकतन्त्रको संस्थागत विकासका लागि अब पद र प्रतिष्ठाको लोभ त्यागेर राष्ट्रिय हित र विवेकलाई सर्वोपरि राख्नुको विकल्प छैन । यदि नेतृत्वले समयमै आफ्नो कार्यशैली नसुधारेमा इतिहासले उनीहरूलाई निष्क्रियता र असफलताको कलङ्क लगाउने निश्चित छ ।
राजनीतिक जटिलतामा नेताहरूको अहङ्कार नघट्नुको मुख्य कारण व्यक्तिगत र प्रणालीगत कमजोरीहरूको जटिल गठजोड हो । जबसम्म पार्टीभित्र र बाहिर जवाफदेहिताको बलियो संयन्त्र बन्दैन र शक्तिलाई व्यक्तिगत सेवाको साधन मान्ने मानसिकतामा परिवर्तन आउँदैन, तबसम्म यो समस्या जस्ताको तस्तै रहिरहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण