शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जङ्गलभरि डोजर चल्दा ताराखोला पालिका अध्यक्ष बेखबर

आइतबार, ०७ मङ्सिर २०८२, ०८ : २८
आइतबार, ०७ मङ्सिर २०८२

बागलुङ । बागलुङ स्थित ताराखोलाको सरकारी वन क्षेत्रमा पछिल्ला केही वर्षदेखि  डोजर र एक्साभेटरले अवैध खानी सञ्चालन गरेर ठुलो परिणाममा  ढुङ्गा उत्खनन गर्दा जङ्गलको विनाश तीव्र गतिमा भइरहेको छ। स्थानीय बासिन्दाका अनुसार अनियन्त्रित उत्खननले हराभरा जङ्गल उजाड मरुभूमि जस्तै बन्न लागेको छ भने दर्जनौँ घर परिवारले प्रयोग गर्ने खानेपानीको मुहान समेत नष्ट भएको छ। सफा पानी बग्ने नदीमा हिलोको लेदो बग्न थालेपछि ताराखोलाको अस्तित्व नै सङ्कटमा परेको छ।

कुनै दिन खाली छैन, रातको समयमा पनि लगातार ३,४ ओटा डोजर चल्छन्,  एक स्थानीय युवा भन्छन्-“ हामी १०,१५  घर धुरीले पिउने खानेपानीको मुहान नै पुरियो, पाइप लाइन लाई असर गर्‍यो तर डोजर रोकिएन। ताराखोलामा विकास भयो, बाटोघाटो बन्यो तर खोला सुक्न थाल्यो, जङ्गल सत्यानाश भएको छ।”

ताराखोलाका क्षेत्रका जङ्गलहरूमा सञ्चालित सयौँ अवैध ढुङ्गा खानीले प्राकृतिक स्रोतमा ठुलो विनाश ल्याएको छ। स्थानीय बासीका अनुसार गाउँपालिकाले खानी सञ्चालनमा अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको छ। राजस्व उठाउने विकल्पको रूपमा ढुङ्गा खानीलाई मात्रै प्राथमिकता दिइएको र केही न केही फाइदा भएकाले पालिका अध्यक्ष हिमाल बिक समेत चुपचाप बसेको उनीहरूको आरोप छ। पालिकामा कृषि , पशुपालन लगायत  उत्पादनमूलक काममा बाटोहरू अन्य थुप्रै भए पनि नेता देखि समाजसेवी सम्म सबै जना डुङ्गाको नै ठेक्का पट्टामा होमिनु आश्चर्यजनक भएको उनीहरू बत्ताउँछन्। 

एकजना स्थानीय  शिक्षक भन्छन्–“अध्यक्ष हिमाल विकले अवैध खानी नियन्त्रण गर्न सक्छन्, तर त्यसको लागि सबैभन्दा पहिला उनले आफ्नो कार्यकाल अवधिभर व्यापार, व्यवसायको  काम छोड्नु पर्छ, किनकि  ढुगा खानीलाई सीमित गर्नु पर्ने अति आवश्यक देखिएको छ। 

दरमखोलामा मिसिन आइपुग्ने ताराखोला नदी ऐतिहासिक रूपमा आदिवासी सभ्यता र संस्कृतिको केन्द्र हो। परम्परागत रूपमा पशुपालन, कृषिकार्य र प्रकृतिपूजक परम्परा प्रचलित भए पनि दर्जनौँ अवैध ढुङ्गा खानीका कारण मृग, घोरल, बाघ, बादार जस्ता जङ्गली जनावर लोप भइसकेका छन्। गाई–भैँसीको चरन क्षेत्र बिथोलिएको छ। जङ्गलको प्राकृतिक अवस्था बिग्रँदा माटो क्षरण, भू–स्खलन र जैविक विविधतामा कमी हुने जोखिम देखिएको छ। स्थानीय बासिन्दाहरूले वन संरक्षणमा ध्यान दिनुपर्ने चेतावनी दिएका छन्, तर अवैध रूपमा ढुङ्गा–गिटी खानी सञ्चालन र डोजर प्रयोग रोक्न कठिनाइ देखिएको छ।

स्थानीय युवा नेता तथा समाजसेवी दिवस खत्री भन्छन् “ अलिकति बोल्न सक्नेलाई हाइड्रोको शेयर दिएर थामथुम  पार्छन्, अब ढुङ्गा खानीको बारेमा बोल्न सक्ने स्थिती छैन, प्रत्येक घर धुरीको खानी छ ।” हाइड्रो पावर र ढुङ्गा खानीको विषयमा सुरुमा आफूले नै आवाज उठाएको र केही रोक्न सफल भएको पनि उनले बताए। 

केही समय डोजर चालकको रूपमा काम गरेका जीवन गौचन भन्छन्( “हामीले दिनमा ९–१० घण्टा डोजर चलायौँ। पहिरो रोक्ने जङ्गलमा हामीले उल्टै क्षति पुर्‍यायौँ। अहिले मलाई निकै पछुतो लागेको छ। खानी बन्द गर्ने कुरा गर्दी साथीहरू रिसाउँछन्, तर केही वर्षभित्र सम्पूर्ण जङ्गल सखाप हुने खतरा बढेको छ।” 

उनी थप्छन् -“पहिले मृग, बाख्रा र चराचुरुङ्गीको बास थियो, अब डोजर चलेर सबै ध्वस्त भएको छ। यस्तो गतिविधिले माटो क्षरण, खोला कटान, बाढी र पहिरोको जोखिम बढाएको छ। नदीमा माटो र ढुङ्गा मिसाउँदा माछा र अन्य जल जीव सङ्कटमा परेको छ। वनस्पति विनाशले स्थानीय समुदायको खानपान र जडिबुटीको  स्रोतमा समेत नकारात्मक असर पारेको छ।”

ढुङ्गा कारोबारना  संलग्न समूहले प्रहरीलाई घुस बुझाएर ट्रिप पास गराउने गरेको अन्य युवाहरूले बताएका छन्।  नाम नखुलाउने सर्तमा एक स्थानीय युवाले भने, “राति १ बजेदेखि ४ बजेसम्म सबैभन्दा बढी ट्रिप निस्कन्छ, प्रहरीलाई सबै थाहा हुन्छ, तर रोक्दैन, तल देखि माथि सम्मका सबैले पैसा खाएर काम गरेका छन्।  यो काममा गाउँपालिका अध्यक्ष हिमाल विकलाई पनि राम्रो सँग जानकारी छ तर उनले  मौन स्वीकृति दिएका छन् ।” उनी थप्छन्- “अध्यक्ष बिक लाई सबै गतिविधि थाहा हुँदाहुँदै पनि अहिलेसम्म कुनै कडा कदम उठाएका छैनन्। नदेखे–नसुने जस्तै गर्छन्। ताराखोलाको विकासमा उहाँको योगदान छ, अब विनाश लाई नियन्त्रण गरियोस्। “ 

कानुन अनुसार ढुङ्गा–गिटी–बालुवा उत्खनन ‘साधारण श्रमशक्ति’ प्रयोग गरेर मात्र गर्न पाइन्छ। तर ताराखोलामा ठुला डोजर र एक्साभेटर खुलेआम चलिरहेका छन्। कुनै वातावरणीय अध्ययन, अनुमति वा नक्सा गरिएका छैनन्। नदी–नाला अवरुद्ध, मुहान नष्ट र जङ्गल क्षतविक्षत हुन थालेपछि   स्थानीय, युवाहरूले अवैध खानी तुरुन्त बन्द गर्न माग गरेका छन्।

डोजरले जङ्गल नष्ट गर्दा माटो क्षरण बढेको छ, भू–स्खलन र बाढी–पहिरोको खतरा बढेको छ। कृषि योग्य जमिन बिग्रँदै दीर्घकालीन रूपमा उत्पादनमा असर परेको छ। वातावरणीय असन्तुलन, प्रदूषण र जल जीव सङ्कटले स्थानीय जीवन सङ्कटमा पारेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप