मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

साहित्य सन्ध्याको ४७० औँ शृङ्खला : परिचर्चा र काव्यगोष्ठी

आइतबार, ०७ मङ्सिर २०८२, ११ : ३६
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • साहित्य सन्ध्याको ४७० औँ शृङ्खलामा ज्येष्ठ नागरिकको योगदान र एआईको प्रयोगबारे परिचर्चा भयो ।
  • डा. मुकेश चालिसेले ज्येष्ठ नागरिकलाई हेलाँ गर्ने सोच प्रगतिशील नहुने बताए ।
  • अजय शर्माले एआईले सिर्जनात्मक लेखनको अभाव पूरा गर्न नसक्ने बताए ।

काठमाडौँ । साहित्य सन्ध्याको मासिक रुपमा हुने ४७० औँ शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र  ‘साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चाका साथै विशेष कविगोष्ठीको आयोजना गरिएकाे छ । 

भर्चुअलरूपमा सम्पन्न कार्यक्रममा प्राडा मुकेश चालिसेले पाका नागरिकलाई बुढाबुढी भन्ने, हेलाँहोचो गर्ने र हिजोका मान्यतालाई निस्तेज गर्ने तथा ज्येष्ठ नागरिक भनेका अनुत्पादक हुन् भन्ने सोच प्रगतिशील हुन नसक्ने बताए ।

उनले वरिष्ठ साहित्यकारहरू गोकुल जोशी, हृदयचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, श्यामप्रसाद शर्मा, शान्तदास, केवलपुरे किसान, नेत्रलाल अभागी आदिले दार्शनिक विचारमार्फत् समाज रूपान्तरणका लागि योगदान दिएको कुरा स्मरण गरे ।

‘साहित्यमा एआईको प्रयोग’ विषयमा चर्चा गर्दै सञ्चारकर्मी अजय शर्माले एआईले लामो कथा पनि सम्झने तथा शैली पनि ग्रहण गर्ने भए पनि सिर्जनात्मक मान्छेले नै लेखेको जस्तो चाहिँ हुन नसक्ने टिप्पणी गरे ।

कार्यक्रममा डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, डा.कृष्ण सुवेदी, महेशराज खरेल, डा.राजेन्द्रप्रसाद अधिकारी, कृष्ण बाउसे, जयन्ती स्पन्दन, रामचन्द्र दाहाल, कुमार नेपाल, ओमप्रसाद कोइराला, गोपालकुमार मैनाली, डा.रामहरि लम्साल, दुर्गाप्रसाद अधिकारी भमरकोटे र त्रिलोचन जोशीले रचना वाचन गरे ।

वाचित रचनामाथि समीक्षा प्रस्तुत गर्दै साहित्यकार एवं पत्रकार यशोदा अधिकारीले कवितामा श्रम, पर्यावरण र समसामयिक राजनीतिक विषयसँग सम्बन्धित सृजनाहरूले हालैको जेनजी आन्दोलनलगायत विषयलाई सम्बोधन गरिएको बताइन् । सन्ध्याका अध्यक्ष राम विनयले स्रष्टाहरूले सबै वस्तुस्थितिको नजिकबाट मूल्याङ्कन गरेर सत्य र न्यायका पक्षमा आबाज बुलन्द गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप