बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

मङ्गलबार, ०९ मङ्सिर २०८२, ०५ : १४
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • कञ्चनपुरको हुलाकी सडक साढे आठ वर्ष बित्दा पनि बन्न सकेको छैन, जबकि निर्माण अवधि ३० महिनाको थियो।
  • निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थपिए पनि काम पूरा हुन सकेको छैन, हालसम्म ५० किलोमिटर कालोपत्रे भएको छ।
  • दोस्रो चरणको १२ किलोमिटर सडक भारतसँगको सीमा विवादका कारण कालोपत्रे हुन सकेको छैन।

कञ्चनपुर। तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको पुर्नवास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३ फागुनमा भएको थियो ।

तीन चरणमा ठेक्का दिएर थालिएको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । कूल ६२ किमी सडकमध्ये हालसम्म ५० किमी मात्रै कालोपत्रे भएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन चरणमध्ये दोस्रो चरणको करिब १२ किमी हुलाकी सडक कालोपत्रे हुन नसकेको बताए ।

“दोस्रो २२ किमीको काममा एक हजार १०० मिटर भारतसँगको सीमा विवादका कारण निर्माण छाडेको हो । सोसहित १२ किमी कालोपत्रे भएको छैन”, उनले भने, “२२ किमीको निर्माण अन्तिम चरणमा पुगेको छ ।”

त्यसैगरी सोही सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणका लागि चालु आवमा रु २५ करोड बजेट विनियोजन भएको प्रमुख लामिछानेले जानकारी दिए । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीलगायत अन्य जिल्लासम्मको आवागमनमा सहज भएको छ । 

“वर्षौंसम्म हिलो र धुलो खाएर यात्रा गर्नुपरेको छ”, बेलौरीका शिक्षक केशव विष्टले भने, “अढाई वर्षमा बनाइसक्नुपर्ने सडक ठेकेदारको लापरबाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुपर्‍यो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप