एमालेमा सचिव बन्न चाहनेको लर्को, स्थायी कमिटी ब्युँताउन तीव्र लबिङ
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा सचिव पदका आकांक्षीहरुको संख्या तीन दर्जन हाराहारी पुग्ने देखिएको छ । गत भदौ तेस्रो साता सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनले स्थायी कमिटी खारेज गरेको थियो । उक्त निर्णयले हाल स्थायी कमिटीमा रहेका (पदाधिकारी बाहेक) २६ जना नेताहरु सबैभन्दा बढी विलखबन्दमा परेका छन् भने सचिव पदका आकांक्षी संख्या पनि बढ्न पुगेको छ ।
विधानले गरेको व्यवस्था अनुसार हाल स्थायी कमिटी सदस्य रहेकाहरुलाई उक्त कमिटीबाट घटुवा भएर कि पोलिटब्युरो सदस्यमा बस्न तयार हुनुपर्ने हुन्छ, कि त बढुवाका लागि सचिव वा उपसचिवमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अहिले सचिव रहेका कतिपय नेताहरु सचिवमै थन्किनुपर्ने अवस्था रहेको बेला नयाँले समेत पोजिसन खोज्दा आकांक्षीहरुको लर्को लाग्ने निश्चित देखिएको एमाले नेता कार्यकर्ताबिच चर्चा छ ।
गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले एमालेको विधान संशोधन गर्दै केन्द्रीय पदाधिकारी संख्या १९ बाट घटाएर १५ बनाएको थियो भने स्थायी कमिटी हटाएको थियो । त्यसैगरी केन्द्रीय कमिटीको आकार पनि ३५५ बाट घटाएर २५५ बनाएको थियो ।
स्थायी कमिटीबाहेक सचिव पदका लागि कतिपय केन्द्रीय सदस्यले समेत सचिव बन्ने प्रयासस्वरुप गृहकार्य गरिरहेको बताइएको छ ।
स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य र हाल भइरहेका अधिकांश सचिवहरु समेत सोही पदका आकांक्षी बन्दा सात सचिव पदका लागि तीन दर्जन हाराहारीको संख्यामा आकांक्षीहरु पुगेको नेताहरुको भनाइ छ ।
आफ्नो पद सुरक्षित नहुने भएपछि कतिपय नेताहरुले विधानको व्यवस्था नै परिवर्तन गर्नुपर्ने भनेर नेतृत्वलाई सुझाव समेत दिने गरेको बताइएको छ ।
‘विधानमा स्थायी कमिटी हटाइएको छ । अहिले हामी स्थायी कमिटीमा पदाधिकारीबाहेक २६ जना छौ’, एक स्थायी कमिटी सदस्यले रातोपाटीसँग भने, ‘अब कि पोलिटब्युरोमा चित्त बुझाउनुपर्यो कि सचिव पदमा अनिवार्य प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ ।’
ती सदस्यका अनुसार नेताहरुको व्यवस्थापन गर्न पनि स्थायी कमिटी ब्युँताउनुपर्ने दबाब नेतृत्वलाई परेको छ । यसबारे अध्यक्ष ओली निकटका केही नेताहरुले स्थायी कमिटी ब्युँताइए मात्र नेताहरुको व्यवस्थापन गर्न सहज हुने सुझाव दिइसकेका छन् । यद्यपि यो सुझावबारे अध्यक्ष ओलीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।

हाल स्थायी कमिटीमा रहेका नेताहरु भीम आचार्य, खगराज अधिकारी, किरण गुरुङ, लालबाबु पण्डित, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, डा. राजन भट्टराई, कर्ण थापा, हिक्मत कार्की, अग्नि खरेल, विन्दा पाण्डे, राजेन्द्र गौतम, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, शेरधन राई, यमलाल कँडेल, गोरखबहादुर बोगटी, सीताकुमारी पौडेल, थममाया थापा, लीलानाथ श्रेष्ठलगायत छन् ।
यीमध्ये एकाधबाहेक धेरैले सचिव पदमा उम्मेदवारी दिने बताएका छन् । सचिव पदमा राजेन्द्र गौतम, बिन्दा पाण्डे, सूर्य थापा, महेश बस्नेत, गोकुल बाँस्कोटाले आकांक्षा देखाएका छन् । त्यस्तै महेश बर्तौला, ज्वालाकुमारी साह, सुनिता बराल लगायतले पनि सचिव पदका लागि आकांक्षा देखाएको बताइएको छ ।
नेता राजेन्द्र गौतमले आफू सचिवको दाबेदार रहेको बताए । ‘ढुक्क हुनुस् सचिवका लागि मेरो दाबेदारी रहन्छ’, उनले पार्टीमा अहिलेसम्मको योगदानका आधारमा पनि पदाधिकारीमा प्रतिस्पर्धा गर्नुबाहेक विकल्प नभएको बताए ।
नेता शेरधन राईले भने उपमहासचिवमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।
हाल नेकपा एमालेमा लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई,छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्यमा अर्याल र टोपबहादुर रायमाझी रहेका छन् । यद्यपि रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेकाले पद निलम्बनको अवस्थामा छ । विष्ट र भट्टराईले भने उपमहासचिव वा महासचिवमा दाबेदारी प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ ।
‘बाँकी कतिपय सचिवहरु दोहोरिएरै भएपनि पार्टीमा आफ्नो स्थान सुरक्षित गर्न चाहान्छन्’, एक पदाधिकारी भन्छन्, ‘यो अवस्थामा नेताहरु आआफ्नै ढंगले लागिरहेका छन् ।’
एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा हालका अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ । ओली र पोखरेल दुवैले अध्यक्ष पदमा उठ्ने घोषणा गरिसकेका छन् । ओली र पोखरेल दुवै अध्यक्षमा प्रतिस्पर्धा गरेको खण्डमा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लगि पनि प्यानलगत प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।
त्यसका लागि दुवै पक्षले मंसिर १३ मा महाधिवेशन प्रतिनिधि छनोट भइसकेपछि त्यसलाई हेरेर प्यानल निर्माण गर्ने गृहकार्य गरिरहेको बुझिएको छ । दुवै समूहबाट प्यानल बनेमा र कुनैपनि प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी समेत दिने तयारी भइरहेको एमाले नेताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण