शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

एमालेमा ईश्वरलाई ‘ब्याक सपोर्ट’ गर्ने विद्याको कति छ ‘स्ट्रेन्थ’ ?

बुधबार, १० मङ्सिर २०८२, २० : ००
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा गर्दै छन्।
  • पोखरेलले ओलीलाई चुनौती दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएको चर्चा छ, जसलाई लिएर नेता कार्यकर्ता विभाजित छन्।
  • विभिन्न नेताहरूले विद्या भण्डारीको शक्ति र प्रभावबारे आ-आफ्ना तर्क प्रस्तुत गरेका छन्, जसले आगामी महाधिवेशनमा महत्त्वपूर्ण भूमिका खेल्ने अनुमान छ।

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल आमनेसामने हुने निश्चित भएसँगै पार्टीभित्र दुई नेताको शक्तिबारे जोडघटाउ सुरु भएको छ । ओली हाल अध्यक्ष र पोखरेल वरिष्ठ उपाध्यक्ष छन् ।

एमालेमा दुई कार्यकाल अध्यक्ष भएका ओलीलाई चुनौती दिनसक्ने नेताहरूको अभाव रहेको भन्ने टिप्पणी भइरहँदा पोखरेलले ओलीभन्दा अगाडि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेर आश्चर्यजनक रूपमा चुनौती दिएका छन् ।

पोखरेलले ओलीलाई चुनौती दिँदै अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुमा खासगरी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फ्याक्टरले काम गरेको एमालेका धेरै नेता–कार्यकर्ताको विश्लेषण छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा स्थान दिनुपर्ने पक्षमा उभिँदै आएका पोखरेलको आवाज अध्यक्ष ओलीले नसुनेपछि अन्ततः भण्डारीले पोखरेललाई ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धाका लागि तयार बनाएको ओली पक्षधर एमाले नेता कार्यकर्ताको बुझाइ छ ।

त्यसो त नेता पोखरेलले मंगलबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दा चार दशक लामो अवधि पार्टी निर्माणमा योगदान गरेकी भण्डारीलाई पार्टीमा फर्काएर उनको अनुभव र ऊर्जा प्रयोग गर्नुपर्ने बताएका थिए । यो भनाइले पनि पोखरेलमाथि भण्डारीको पूर्णतया साथ र सहयोग छ भन्ने सहजै बुझ्न सकिन्छ ।

‘चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो,’ पोखरेलले मंगलबार जारी गरेको वक्तव्यमा भनेका छन्,  ‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’

केही महिना अघि भण्डारीले सक्रिय राजनीतिमा फर्कने तयारीस्वरुप आफ्नो पार्टी सदस्यता नवीकरण भएको बताएकी थिइन्, तर ओलीले उनको सदस्यता नवीकरण वैधानिक नभएको भन्दै कर्मचारीलाई प्रभावमा पारेर गरिएको सदस्यता नवीकरण नहुने र पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कंदा प्रणालीमाथि नै प्रश्न उठ्ने बताएर भण्डारीलाई पार्टी राजनीतिमा आउन रोकेका थिए ।

त्यसो त भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पक्षमा अधिकांश सचिवालय सदस्य नै उभिए पनि ओलीका सामु उनीहरूको आवाज दबिन पुगेको थियो । भण्डारीको सदस्यताको विषय एमालेको सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा समेत पटक–पटक उठ्न पुगेको थियो ।

  • कति छ एमालेमा विद्याको शक्ति ?

जानकारहरूका अनुसार स्वर्गीय जननेता मदन भण्डारीकी पत्नीसमेत रहेकी विद्या भण्डारीको एमालेमा कति ‘स्ट्रेन्थ’ छ भन्ने अहिले ठ्याक्कै भन्न सक्ने अवस्था छैन । तर, मंसिर १३ मा छनोट हुने प्रतिनिधिका आधारमा उनको शक्ति मापन गर्न सकिने एमाले नेताहरूको भनाइ छ ।

जननेता मानिने मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्न पनि एमालेको सक्रिय राजनीतिमा विद्या आउन जरुरी छ भन्ने नेता–कार्यकर्ताको पंक्ति उल्लेख्य छ । सोही आधारमा प्रतिनिधि छनोट भएमा ईश्वरलाई विद्याको ‘ब्याक सपोर्ट’ पर्याप्त हुनेछ ।

ओलीले पार्टीमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गर्दा पार्टीमा हुकुमी शैली अपनाएको, जबजको बेवास्ता गरेको, आन्तरिक लोकतन्त्र नामेट बनाएको र चाकडी चाप्लुसी गर्नेहरूलाई मात्र मौका दिएको भन्दै कतिपय नेता–कार्यकर्ता ओलीसँग असन्तुष्ट बनेका छन् ।

‘यही असन्तुष्टिलाई क्यास गर्ने रणनीतिमा ईश्वर पोखरेल हुनुहुन्छ,’ एक जना एमालेका पदाधिकारी भन्छन्, ‘त्यसबाहेक पोखरेललाई विद्याको ब्याक सपोर्ट र पोखरेलको आफैँमा लामो इतिहास रहेकाले उनलाई साथ दिनेहरू समेत जोडिँदा शक्ति बढ्न पुग्छ ।’

ती पदाधिकारी भन्छन्, ‘ओली र पोखरेल अध्यक्षमा आमनेसामने हुँदा विद्याको पक्षधर, १० बुँदे पक्षधर र ओली पक्षमै रहेका तर ओलीसँग चर्को असन्तुष्ट रहेकाहरूले पोखरेललाई साथ दिन सक्ने देखिन्छ ।’

त्यसो त अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका पोखरेलले जनताको बहुदलीय जनवादका विगत ३३ वर्षका अभ्यास र अनुभवहरूका समीक्षा गर्दै जवजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्न तमाम कमरेडहरूमा अपिल गरेर मदन भण्डारीको स्कुलिङबाट प्रशिक्षित एमाले नेता–कार्यकर्ताको भावना जित्ने प्रयत्न गरेका छन् ।

‘यसका लागि महाधिवेशन पश्चात् पार्टी स्कूल विभाग र नीति अध्ययन प्रतिष्ठानको आयोजनामा देशव्यापी अन्तरक्रिया, छलफल, गोष्ठी आयोजना गर्ने, अन्तर्राष्ट्रिय अनुभवहरूको अध्ययन गर्ने, बौद्धिक तथा राजनीतिक व्यक्तिहरूसँग समेत छलफल र अन्तर्क्रिया गर्न हामी प्रतिबद्ध छौँ’, पोखरेलले भनेका छन्, ‘पार्टी पंक्ति, शुभेच्छुक एवं आमसाधारणहरूबिच विचारको बहस चलाउने, सुझाव सङ्कलन गर्ने र सङ्कलित सुझावको सुनुवाइ गर्ने व्यवस्था मिलाइनेछ ।’

एमालेमा महासचिव, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका पोखरेल आफैँमा संगठन गर्ने नेता भनेर चिनिन्छन् ।

‘राज्य, नेपाली समाज र पार्टीको लोकतान्त्रिकरण जबजको आधारभूत पक्ष हो । २१औँ शताब्दीको खुला समाजमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने नीति हामीले अंगीकार गरेका छौँ’, पोखरेलले पार्टीभित्रको लोकतान्त्रिकरणका सवालमा उठ्ने गरेको गुनासोलाई सम्बोधनको प्रयास गरेका छन् । साथै उनले विश्व कम्युनिस्ट आन्दोलनका अनुभवहरूबाट सिक्दै सक्रियता, पहलकदमी र प्रतिस्पर्धाको माध्यमबाट पार्टीमा नेतृत्व विकास गर्ने बाटो स्वीकार गरेको भन्दै पार्टीको सार्वभौमिकता पार्टी सदस्यहरूमा निहीत हुनुपर्नेमा जोड दिएका छन् । ‘नीति र नेतृत्व छनोटमा पार्टी सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्दछ’, पोखरेलको भनाइ छ ।

  • ‘भावनात्मक सम्बन्धले काम गर्छ’

एमाले राजनीतिको अध्ययन र विश्लेषण गर्दै आएका प्राध्यापक कृष्ण पोखरेल पनि एमालेभित्र विद्याको शक्ति यति नै छ भनेर अहिले नै आकलन गर्न कठिन हुने बताउँछन् । त्यसबाहेक प्रतिनिधि छनोट नसकिँदासम्म कतै पनि नखुल्ने रणनीति कतिपयले बनाएको बुझिएको पोखरेलको भनाइ छ ।

‘बरु प्रतिनिधि भइसकेपछि खुल्ने, तर प्रतिनिधि हुनुभन्दा अघि नखुल्ने रणनीति देखिन्छ’, प्राध्यापक पोखरेलको भनाइ छ । उनी विद्याको स्ट्रेन्थ भावनासँग बढी जोडिको दाबी गर्छन् । ‘भावनात्मक सम्बन्धले बढी काम गर्छ । एमालेमा मदन भण्डारीको जुन साख छ, त्यो कुरासँग जोडिन्छ पहिलो, यस्तै दोस्रोमा– दिइसकेको सदस्यता पनि खोसियो । यो अन्यायको भर्पाई ईश्वर पोखरेललाई मत दियो भने हुन्छ भन्ने भाष्य बन्न सक्छ’, पोखरेलको विश्लेषण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप