बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मधेस केन्द्रित दल

पार्टी छाडेर गएकालाई फकाउने प्रयासमा उपेन्द्र र महन्थ

बुधबार, १० मङ्सिर २०८२, १९ : ००
बुधबार, १० मङ्सिर २०८२

काठमाडौँ । प्रतिनिधिसभा चुनाव आउन अब तीन महिना बाँकी छ । बुधबार निर्वाचन प्रयोजनका निर्वाचन आयोगमा दल दर्ता गराउने अन्तिम दिन थियो । सबैजसो दल चुनावमा भाग लिन तयार देखिएका छन् । चुनावका लागि गठबन्धन र ध्रुवीकरणका कुरा पनि निकै चलेका छन् । 

यसै क्रममा तराई-मधेस केन्द्रित दलहरुबिच पनि ध्रुवीकरणको बहस तीव्र चलिरहेको छ । मधेस केन्द्रित मुख्य सात दल संघीय लोकतान्त्रिक मोर्चाको रुपमा सक्रिय छन् । मोर्चामा आवद्ध दलबिच चुनावी तालमेलदेखि एकतासम्मका कुरा चलिरहेका छन् । 

दलहरुले ‘घर फर्क’ अभियान समेत चलाएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले यसअघि आ-आफ्नो पार्टीबाट अलग भएर गएकाहरुलाई पुरानै घरमा फर्किन आह्वान गरिरहेका छन् । 

लोसपा नेपालका अध्यक्ष ठाकुरले चुनौतीपूर्ण स्थितिमा पुन: एकजुट भई अगाडि बढ्नुपर्ने समयको माग भएकाले सम्बन्धित सबैलाई आ-आफ्नो घर फर्किन र काँधमा काँध मिलाई वर्तमान चुनौतीको सामना गर्दै अगाडि बढ्न आह्वान गरेका छन् । वर्तमान परिस्थितिमा भ्रष्टाचार विरुद्धको लडाइँका साथै उपेक्षित सबै वर्गको उत्थान विना राष्ट्रिय कार्यभार पूरा गर्न नसक्ने भएकाले एकजुट हुन उनको आग्रह छ । 

जसपा नेपालका अध्यक्ष यादवले भनेका छन्, ‘पार्टी स्थापनाकालदेखि विगतमा जे-जस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडेपनि उहाँहरु सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्छु । जसपा नेपाल हामी सबैको साझा संगठन भएकाले जुनै कारणले पार्टी परित्याग गरेपनि पुनः फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नु पर्दैन ।’

पार्टीमा फर्केकालाई क्षमता, दक्षता, भूमिका र योग्यता अनुसार उचित स्थान र जिम्मेवारी दिइने यादवले भनेका छन् । 

तराई-मधेसमा वैकल्पिक शक्तिको रुपमा उदाएका जनमत र नागरिक उन्मुक्ति पार्टी समेत विभाजन भएका छन् । पार्टी छाडेका नेताहरुलाई फर्काउने प्रयासमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी पनि छन् । 

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी संयोजक रहेको संघीय गणतन्त्रिक गठबन्धनमा अवद्ध दलहरुले एउटै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने निर्णय गरेका छन् । 

एकातिर दलहरुबिच एकता र सहकार्यका लागि प्रयास भइरहेको छ भने अर्कोतिर आन्दोलन पनि सुरु भएको छ । जसपा नेपाल र जनमत पार्टीले विभिन्न माग राखी आन्दोलन सुरु गरेका छन् । 

राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टीले विचार र एजेण्डा मिल्ने दलसँग एकता र सहकार्य गर्ने निर्णय गर्दै विभिन्न दलसँग वार्ता र छलफल गरिरहेको छ । केही दिनअघि मात्र राष्ट्रिय मुक्ति पार्टी नेपालले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालसँग मिलेर एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने निर्णय गरेको छ । 

विगतमा कुनै समय यी तीन पार्टीका अध्यक्ष एउटै संगठनमा रहेर काम गरिसकेका छन् । रेशम चौधरीले राजेन्द्र महतोले नेतृत्व गरेको तत्कालीन सद्भावना पार्टीमा रहेर लामो समय काम गरेका थिए । सद्भावना पार्टीसहित विभिन्न दलसँग एकता भएर राजपा नेपाल बनेको थियो । राजपा नेपालबाट रेशम चौधरीले चुनाव पनि जितेका थिए, तर टीकापुर घटनामा दोषी ठहर भएर जेल परेका थिए । 

जसपा नेपाल गठन हुँदासम्म रेशम चौधरी राजेन्द्र महतोको साथमा थिए । जसपा नेपालमा विवाद उत्पन्न भएर विभाजन भई लोसपा गठन भएपछि रेशमले जेलबाटै नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । 

त्यस्तै अशोक राई र राजेन्द्र महतोले पनि जसपा नेपालमा एक साथ काम गरेका थिए । जसपा नेपालबाट अलग भएर महन्थ ठाकुर र राजेन्द्र महतोहरुले लोसपा नेपाल गठन गरेका थिए । अशोक राई जसपा नेपालमै बसे । पछि उनी पनि त्यहाँबाट अलग भएर जसपा गठन गरे भने राजेन्द्र महतो पनि लोसपाबाट अलग भएर राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरे । अहिले दुवै पार्टीबिच कार्यगत एकता हुने तयारी छ । 

त्यस्तै लोसपा अध्यक्ष महन्थ ठाकुरको साथ छाडेर हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेका छन् भने वृषेशचन्द्र लालले लोसपाबाटै अलग भएर तमलोपालाई ब्युँताएका छन् । महेन्द्र राय यादव अलग भएर अहिले नेपाली कम्युनिस्ट पार्टीमा गइसकेका छन् भने अनिलकुमार झाले नेपाल सद्भावना पार्टी पुनर्गठन गरेका छन् । राजेन्द्र महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेका छन् । यी सबै पार्टीका नेता कार्यकर्तालाई लोसपामै फर्किन ठाकुरले आह्वान गरेका छन् । 

यता उपेन्द्र यादवको जसपा नेपालबाट पनि थुप्रै नेता अलग भएका छन् । अशोक राईको नेतृत्वमा अलग भएका नेताहरुले जसपा गठन गरेका छन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा रहेका विजयकुमार गच्छदारले अलग भएर फोरम लोकतान्त्रिक गठन गरेका थिए । उनी अहिले कांग्रेसमा विलिन भइसकेका छन् । 

उपेन्द्र यादवबाट अलग भएका जेपी गुप्ता अहिले राजनीतिबाट अलग छन् । मधेसी जनअधिकार फोरम मधेस गठन गरेका भाग्यनाथ गुप्ता र तराई मधेस फोरम गठन गरेका अमर यादव निष्क्रिय छन् । 

व्यक्तिगत हिसाबले पनि थुप्रै नेताहरुले उपेन्द्र यादवको साथ छाडेका छन् । ती सबैलाई जोड्ने प्रयासमा उनी लागेका छन् । चुनावअघि नै जसपा नेपाल र लोसपा नेपालबिच एकता हुने सम्भावना पनि छ । लोसपा नेपालका एक नेताले भने, ‘हामी चुनावअघि नै एकता घोषणा गर्छौं । यदि एकता घोषणा भएन भने एउटै चुनाव चिह्नमा चुनाव लड्ने कुरा पनि हुनसक्छ ।’

त्यसैगरी नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको संयोजकत्वमा गठन भएको संघीय गणतान्त्रिक गठबन्धनले आगामी निर्वाचनका लागि एकल चुनाव चिह्न ‘बस छाप’ लिएर भाग लिने निर्णय गरेको छ । 

गठबन्धनमा अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, हरिनन्दन अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी नेपाल, धुपलाल प्रसाद सहनी निषाद नेतृत्वको नेपाल जनजागृति पार्टी रहेका छन् । नेताहरूले गठबन्धनको मुख्य उद्देश्य नेपाली उत्पीडित जनताको राज्य सत्ताको स्थापना गर्दै नेपाली जनताको समानताको चाहना सुशासन देशमै रोजगारको व्यवस्था, सबै किसिमका विकृतिको अन्त्य र शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायत माग राख्दै संघर्ष गर्दै आएका छन् । 

गठबन्धनले आगामी निर्वाचनसँगै देशभर संगठित अभियान सञ्चालन गर्दै जनतासामु वैकल्पिक, समावेशी र सामाजिक न्याय केन्द्रित राजनीतिक मार्ग प्रस्तुत गर्ने अन्सारी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप