आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ

नीतिगत सुधारपछि भैरहवा सेजमा उद्योगीको आकर्षण बढ्दै, ७७ प्रतिशत प्लटमा उद्योग स्थापना

बिहीबार, ११ मङ्सिर २०८२, ११ : ३५
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • भैरहवा सेजमा ७७ प्रतिशत प्लटमा उद्योग स्थापना भइरहेको छ, बाँकीमा निर्माण सुरु हुन बाँकी छ।
  • सेजमा हालसम्म ११ वटा उद्योग सञ्चालनमा आएका छन् भने आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ८८ करोड रुपैयाँ बराबरको उत्पादन भएको छ।
  • भाटभटेनी समूहले सेजमा १ अर्ब ५० करोड लगानी गर्दै गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ।

बुटवल । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को ७७ प्रतिशत प्लटमा उद्योग स्थापना भइरहेको छ । २३ प्रतिशत जग्गामा उद्योगीहरूले उद्योग स्थापनाका लागि सम्झौता गरे पनि अझै निर्माणको प्रक्रिया थालेका छैनन् ।

सेज प्रशासन भैरहवाका अनुसार कुल ६८ प्लटमध्ये ५२ वटा प्लटमा उद्योगका भौतिक संरचना निर्माण भइसकेको छ भने अन्यमा निर्माणको क्रम जारी छ । बाँकी १६ वटा प्लटमा उद्योगीहरूसँग सम्झौता भइसके पनि काम भने सुरु हुन बाँकी छ ।

सेज भैरहवाका प्रमुख इन्जिनियर सुमित डुम्रेका अनुसार सेजमा १९ वटा उद्योग स्थापना भएका छन् । तीमध्ये २ वटा उद्योगको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य ५ वटाको निर्माण कार्य धमाधम भइरहेको छ । ११ वटा उद्योग भने सञ्चालनमा आइसकेका छन् ।

सेजमा पछिल्लो समय उद्योगीहरूको मागअनुसार सरकारले भौतिक पूर्वाधार, भाडादर तथा अन्य सुविधाहरू सहज बनाउने नीति ल्याएपछि सहजता बढेको डुम्रेले बताए ।

पछिल्लो समय ५ वटा उद्योगका १२ वटा प्लटको सम्झौता खारेज गरी नयाँ ४ वटा उद्योगलाई प्लट प्रदान गरिएको उनको भनाइ छ । यी नयाँ सम्झौता गरेका उद्योगीहरूले उद्योग स्थापनाका लागि भौतिक संरचना निर्माण सुरु गरेका छन् ।

सेजमा आर्थिक वर्ष २०८०/०८१ मा ९१ करोड ६० लाख रुपैयाँ बराबरको उत्पादन भएको थियो, जसमा ६० करोड ३६ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । आर्थिक वर्ष २०८१/०८२मा १ अर्ब ८८ करोड रुपैयाँ बराबरको उत्पादन भएको छ, जसमा ९८ करोड रुपैयाँको निर्यात भएको छ भने बाँकी ९० करोडको उत्पादन नेपाली बजारमा खपत भएको छ ।

8

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ४६ करोड रुपैयाँ बराबरको सामान उत्पादन भएको छ, जसमा १७ करोड ५० लाखको निर्यात र २८ करोड ५० लाखको स्वदेशी बजारमा बिक्री भएको छ ।

भैरहवा सेजका प्रमुख इन्जिनियर डुम्रेले सेजमा उत्पादन वृद्धिसँगै निर्यात पनि बढ्दै गएको बताए । उनले निर्यात दर अझै बढ्ने अपेक्षा रहेको जानकारी दिए ।

  • उद्योगहरूको वर्तमान अवस्था

सेजमा स्थापित एउटा उद्योग बन्द छ भने अर्को एउटा उद्योगसँग गरिएको सम्झौता हालै खारेज गरिएको छ । जयबुद्ध मेटल उद्योग हाल बन्द छ भने पञ्चकन्या एसएमएस एक्सपोर्ट प्रालिको जग्गा सम्झौता खारेज गरिएको हो ।

सेजमा सञ्चालनमा रहेका उद्योगहरूमा शक्ति मिनिरल्स प्रा.लि., भीस्टार ग्लोबल प्रा.लि., बिलियन्त लाइटिङ प्रा.लि., तिरुपति मेटल क्राफ्ट, हिमालय ग्रेनाइट, इको नेपाल इनर्जी, आर्शी इन्डस्ट्रिज प्रा.लि., एस पोलिमर्स, हिमालय इको प्रा.लि., सीपी मेटल प्रा.लि. र स्वस्तिक उद्योग छन् ।

यीमध्ये सबैभन्दा पहिले शक्ति मिनिरल्स प्रा.लि.ले आफ्नो उत्पादन बजारमा ल्याएको थियो भने पछिल्लो समय सीपी मेटल प्रा.लि. र स्वस्तिक उद्योगले उत्पादन सुरु गरेका हुन् ।

यसैगरी, सुपर इलेक्ट्रोनिक्स प्रा.लि. र इनम्याट कर्पोरेट लिमिटेड निर्माणको अन्तिम चरणमा छन् । सेज प्रशासनका अनुसार, डाटाओल्ड लिमिटेड, डीआईएल लिमिटेड, एजेन्ट ओभरसिज नेपाल र गार्मेन्टगियर प्रा.लि.का उद्योगहरू निर्माणको क्रममा छन् ।

siz

सेजमा नेपालकै चर्चित व्यावसायिक घराना भाटभटेनीको लगानी भित्रिएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङसहितको समूहले १ अर्ब ५० करोड बढी लगानी गर्दै सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको हो । उक्त समूहले  अहिले धमाधम उद्योग निर्माणको काम अघि बढाएको छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले विगतको तुलनामा सेजमा केही नीतिगत सुधार भएकाले आकर्षण बढ्न थालेको बताए । सेजका उद्योगीहरूलाई दिने भनिएका सुविधामा सरकारले कन्जुस्याइँ गर्दा आकर्षण बढ्न सकेको थिएन । विस्तारै यसमा सुधार हुँदै जान थालेकाले अब उद्योगीहरूको आकर्षण सेजप्रति बढ्दै जाने उनको भनाइ छ ।

अर्थशास्त्री माधवकुमार पौडेलले सेजमा लामो समयदेखि सरकारले जग्गा भाडादर बढी कायम गर्दा र अन्य भौतिक पूर्वाधारका काममा ध्यान नदिँदा उद्योगीहरू आकर्षित हुन नसकेको बताए । उनले पछिल्लो समय सेजमा केही उद्योग सञ्चालनमा आएका र नयाँ उद्योग निर्माणको क्रममा रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप