बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पक्राउ गरिएका जेनजीहरूलाई नछोडिए अर्को जनबिद्रोह हुन्छ : प्रभु साह

बिहीबार, ११ मङ्सिर २०८२, १७ : २४
बिहीबार, ११ मङ्सिर २०८२

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वकाे सरकारले जेनजी आन्दोलनकारीलाई नै पक्राउ गर्नु, धरपकड गरेको प्रति आपत्ति जनाएका छन् ।

काठमाडौँको कोटेश्वरमा बिहीबार बसेको आजपा पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले पक्राउ गरिएका जेनजी आन्दोलनकारीलाई रिहा नगरिए अर्को जनविद्रोह हुने चेतावनी समेत दिएका छन् ।

‘सुशीला कार्कीजीको सरकार जेनजी आन्दोलनकै बलमा बनेको दुनियाँलाई थाहा छ । त्यसैले यो सरकारले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्छ । तत्काल उनीहरुलाई पक्राउ गर्नुपर्छ, तर यो सरकारले उल्टै जेनजी आन्दोलनकारीलाई पक्राउ गर्ने, धरपकड गर्ने कार्य गम्भीर विषय हो । यो हामीलाई स्वीकार्य छैन । जेनजी हत्यारालाई पक्राउ गरेर कारबाही गर र जेनजी आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्छ । हैन भने अर्को बिद्रोह हुनसक्छ । यस बारेमा प्रधानमन्त्रीजी गम्भीर हुन आवश्यक छ,’ आजपा अध्यक्ष साहले भने ।

उनले जेनजी आन्दोलनको उपलब्धि खेर जाने खतरा रहेको बताउँदै जेनजी आन्दोलनकारी युवाहरू एकजुट हुनुको विकल्प नभएको बताए ।

जेनजी आन्दोलनलाई संस्थागत गर्न, मागहरूलाई सम्बोधन गर्न, आन्दोलनको उपलब्धिलाई खेर जान नदिनका लागि सबै जेनजी समूहहरू एकजुट गराएर निर्णायक संंघर्षमा उत्रिनुपर्ने अहिलेको आवश्यकता रहेको अध्यक्ष साहले बताए । 

‘प्रहरी/प्रशासन जेनजी अभियन्ता र आन्दोलनकारीलाई धरपकड गरिरहेको छ । एमालेका गुन्डाहरूको स्कर्टिङमा खटिएको छ, प्रहरी एमालेको दास हो र ?’ उनले प्रधानमन्त्री कार्कीसँग प्रश्न गर्दै भने, ‘पहिला गोली हान्ने हत्याराहरूलाई कानुनी कठघरामा उभ्याउ, सुशीला–ओमप्रकाशको साँठगाँठ अपराधी बचाउनेतर्फ देखियो ।’

एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकहरूलाई यथाशीघ्र पक्राउ गर्नुपर्ने उनले बताए । अहिले चुनाव भाँड्न एमालेले युवा सङ्घको गुण्डा प्रदर्शनी गरेकोमा त्यसको जनस्तरबाट नै प्रतिकार भइरहेको र प्रतिकार गर्न जरुरी रहेको उनले बताए । 

चुनावी सरकारमा बसेर कुलमानले बेइमानी गरिरहेको समेत उनले बताए । निर्दलीय सरकारमा सहभागी भएर दलिय अभ्यास गरिरहेका कुलमानले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने नत्र प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनले बताए ।

साथै अगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन सफल बनाउनका लागि अन्तर्राष्ट्रिय समुदायको साथ, सहयोगबारे के कुरा भएको छ भन्ने बारेमा स्पष्ट पार्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप