बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नेपाली कांग्रेस

पुस मसान्तसम्मको कार्यतालिका ल्याउन संस्थापन समूह सकारात्मक

बिहीबार, ११ मङ्सिर २०८२, १७ : ३९
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेस संस्थापन समूह पुस मसान्तसम्म पार्टीको १५औँ महाधिवेशनको मध्यमार्गी कार्यतालिका ल्याउन सकारात्मक देखिएको छ।
  • पार्टीको महाधिवेशनबारे देखिएको विवाद समाधानका लागि सभापति देउवाको आह्वानमा बैठक बस्यो, जसमा मध्यमार्गी प्रस्तावबारे छलफल भयो।
  • विभिन्न नेताहरूको सहभागिता रहेको बैठकले महाधिवेशनको मध्यमार्गी कार्यतालिका बनाउने जिम्मा सभापति देउवा र कार्यवाहक सभापतिलाई दिएको छ।

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन समूह पुस मसान्तसम्म पार्टीको १५औँ महाधिवेशनको मध्यमार्गी कार्यतालिका ल्याउन सकारात्मक देखिएको छ ।

सभापति शेरबहादुर देउवाको आह्वानमा बिहीबार देउवा समूहका पदाधिकारीहरू तथा पूर्वपदाधिकारी र केही वरिष्ठ नेताहरू सम्मिलित बैठक बसेको थियो । उक्त बैठकमा यसअघि फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन गर्न संस्थापन समूह सकारात्मक देखिएको हो । 

बैठकमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौलासहित वर्तमान पदाधिकारीहरू प्रवक्ता डा. प्रकाशशरण महत, प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायत नेताहरू सहभागी थिए ।

गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ गतेदेखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका ल्याएका थिए । त्यसलाई काउन्टर दिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेपछि विवाद भइरहेको छ । 

महामन्त्री थापाको कार्यतालिकालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित इतर समूहका केही नेता र सहमहामन्त्री यादवको प्रस्तावलाई संस्थापन समूहले समर्थन गरेपछि महाधिवेशन विवाद चरमोत्कर्षमा पुगेको थियो ।

निर्वाचन अगाडि महाधिवेशन गर्नै नहुनेमा सात पूर्व पदाधिकारीहरू निधि, श्रेष्ठ, गच्छदार, सिंह, डा. कोइराला, सिटौला र डा. महत थिए । यी पदाधिकारीहरू पनि देउवाले आह्वान गरेको छलफलमा निर्वाचन अगाडि महाधिवेशनको प्रक्रिया सुरु गर्न सकारात्मक देखिएका हुन् ।

छलफलमा सहभागी प्रचार विभाग प्रमुख विश्वकर्माले मध्यमार्गी प्रस्ताव ल्याउन संस्थापन पक्ष सकारात्मक भएको जानकारी दिए । ‘पार्टीभित्र देखिएको महाधिवेशन विवाद मध्यमार्गी प्रस्ताव ल्याएर समाधान गर्ने प्रयास भइरहेको छ । त्यसका लागि सभापतिज्यूले आह्वान गर्नुभएको छलफल सकारात्मक छ,’ विश्वकर्माले रातोपाटीसँग भने ।

बैठकमा सहभागी अर्का एक पदाधिकारीले विवाद निम्त्याउने दुवै पक्षसँग छलफल गरी मध्यमार्गी तालिका ल्याउने जिम्मेवारी सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितलाई दिएको छ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि बसेर मध्यमार्गी कार्यतालिका निर्माण गरी बैठकमा पेस गर्ने जिम्मेवारी पनि दिइएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।

मंसिर ६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै महाधिवेशनबारे देखिएको विवाद अनौपचारिक रूपमा मिलाउन भन्दै मंसिर ११ गते बिहीबारसम्म स्थगित गरिएको थियो ।

तर बैठकपछिका ४ दिनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको अनौपचारिक प्रयासमा महाधिवेशनसम्बन्धी विवाद मिल्न नसकेपछि शुक्रबारसम्मका लागि सारिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप