बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नियमित महाधिवेशनका लागि युवा विद्यार्थी भेला

शुक्रबार, १२ मङ्सिर २०८२, २० : ५४
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी सङ्गठनले नियमित महाधिवेशनका लागि भेला आयोजना गरे।
  • भेलामा नेताहरूले महाधिवेशनको आवश्यकता र महत्त्वबारे बोले।
  • वक्ताहरूले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने र निर्वाचनमा ध्यान दिनुपर्ने बताए।

काठमाडौँ । नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी सङ्गठनले शुक्रबार यहाँ नियमित महाधिवेशनका लागि युवा विद्यार्थी भेला आयोजना गरेको छ ।

उनीहरुले नियमित महाधिवेशन गर्नुपर्ने मागसहित भेला आयोजना गरेका हुन् । भेलामा पार्टीका विभिन्न तहका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सम्बोधन गरेको विद्यार्थी नेता मनिषजङ्ग थापाले जानकारी दिए ।

कार्यक्रमका वक्ता एवं नेविसङ्घका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबण्डाको खेलले गर्दा नेपाल विद्यार्थी सङ्घलगायत भातृसंस्थाहरुको अवस्था कमजोर हुँदै गएको बताए । उनले पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे ।

कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने तथा जेनजी युवाको भावना सम्बोधन गर्नका लागि भए पनि कांग्रेस नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखे ।

उनले भने, “पार्टीमा विशेष महाधिवेशन वा नियमित महाधिवेशनको विवाद आवश्यक छैन । वडादेखि केन्द्रसम्म जेनजी युवाको प्रतिनिधित्व सुनिश्चितता गराउन नियमित महाधिवेशन आवश्यक छ ।”

अधिकांश वक्ताहरुले देशको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुनुपर्ने तथा नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए ।

उक्त भेलामा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा तथा विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप