मधेसमा उपेन्द्र र सीकेबिच शक्ति संघर्ष
सारांश
- आगामी चुनावमा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
- दुवै पार्टीले मधेसमा आफ्नो शक्ति बढाउन कार्यक्रम घोषणा गरे, तर चुनावी तालमेलको सम्भावना कम देखिन्छ।
- गत चुनावमा सीके राउतले उपेन्द्र यादवलाई हराएका थिए, यसपटक पनि सप्तरी-२ मा उम्मेदवारी दिने तयारी छ।
काठमाडौँ । आसन्न चुनावमा पनि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबिच टक्कर हुने सम्भावना देखिएको छ ।
जसपा नेपालले मधेसमा आफ्नो पकड बनाउन चुनाव केन्द्रित संघर्षका कार्यक्रम घोषणा गरे लगत्तै जनमत पार्टीले पनि त्यस्तै कार्यक्रम घोषणा गरेको छ । जसपा नेपालले मंसिर ६ गते आन्दोलनका कार्यक्रम घोषणा गरेको छ भने जनमत पार्टीले ७ गते ।
जनमत पार्टीले मंसिर ८ गते प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको थियो भने जसपा नेपालले १० गते । जसपा नेपालले मधेसमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ भने जनमत पार्टीले पनि मधेसका विभिन्न जिल्लामा त्यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
यसरी दुवै पार्टी मधेसमा आफ्नो शक्ति बढाउने होडमा छन् । दुवै पार्टीका अध्यक्ष आसन्न चुनावमा सप्तरी–२ बाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यद्यपि हालसम्म औपचारिक घोषणा गरेका छैनन् । औपचारिक घोषणा नगरे पनि आन्तरिक तयारीमा दुवै जना जुटिसकेको ती पार्टीका नेता बताउँछन् ।
जनमत पार्टीका अध्यक्ष डा. सीक राउतले यसपटकको चुनावमा पनि कुनै दलसँग तालमेल नगर्ने भनिसकेका छन् । सात दलको संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा पनि यो कुरा उनको दलले स्पष्ट पारिसकेको छ । एउटै मोर्चामा भए पनि चुनावी तालमेल नहुने भएपछि सीके र उपेन्द्रका बिचमा भिडन्त हुने लगभग निश्चित छ ।
उपेन्द्र यादव र सीके राउतले चुनावको समय आउँदासम्म कुनै न कुनै उपाय निकाल्ने पनि कतिपय नेताहरूको बुझाइ छ । ‘औपचारिक रूपमा चुनावी तालमेल नभए पनि अनौपचारिक रूपमा एक अर्कालाई सहयोग गर्ने अवस्था पनि आउनसक्छ,’ जनमत पार्टीका एक पदाधिकारीले भने, ‘मधेसका दुवै जना सिनियर नेता हुनुहुन्छ । मधेसलाई दुवै जना चाहिन्छ । त्यसैले दुवै जना एकै ठाउँमा लड्नु हुन्छ भने विश्वास मलाई छैन । अन्तिममा दुवै जनाबिच एक खालको समझदारी हुन्छ कि जस्तो मलाई लागेको छ ।’
गत चुनावमा सप्तरी–२ मै उपेन्द्र यादव र सीके राउतबिच प्रतिस्पर्धा भएको थियो । उक्त चुनावमा सीके राउतले उपेन्द्र यादवलाई पराजित गरेका थिए । त्यसपछि बारामा भएको उपनिर्वाचनबाट उपेन्द्र यादव विजयी भएका थिए । हुन त सीके राउतले उपेन्द्र यादवको विरुद्धमा बारामा पनि उम्मेदवार उठाएका थिए । उपचुनावमा सीके राउतले बारामा उपेन्द्र यादवविरुद्ध चुनावी अभियान समेत चलाएका थिए ।
तर उपनिर्वाचनमा भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नै बाजी मारेका थिए । यसपटक पनि विगतकै जस्तै टक्कर हुने हो कि भन्ने आशंका भइरहेको छ । मोर्चामा रहेका दलहरूको बिचमा चुनावी तालमेलका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लचिलो भए पनि जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यस्तो तालमेललाई ठाडै अस्वीकार गरेका छन् ।
जसपा नेपाल सप्तरी जिल्लाका अध्यक्ष केदार यादवले पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरीबाटै उम्मेदवार बनुन् भन्ने आफूहरूको चाहना रहेको बताए । यद्यपि हालसम्म यसको बारेमा कुनै निर्णय वा सहमति नबनेको उनको भनाइ छ ।
‘सप्तरीबाटै जसपा नेपालले उपेन्द्र यादवलाई चुनाव जिताउन चाहेको छ, उहाँ यतैबाट चुनाव लड्नुहोस् भन्ने चाहना पनि छ, तर उहाँ (उपेन्द्र यादव)बाट कुनै जबाफ आएको छैन,’ जिल्ला अध्यक्ष यादवले भने, ‘अध्यक्षज्यू पनि विचार विमर्शमै हुनुहुन्छ । चुनाव हुने–नहुने निश्चित छैन । अहिले नै सबै कुराको टुङ्गो लागउन हतार गर्नुहुँदैन जस्तो लाग्छ ।’
सप्तरी–२ नम्बर यस्तो ठाउँ हो, जहाँबाट एउटा नेताले एकपटक भन्दा बढी चुनाव जितेको छैन । त्यही कारण जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि हिचकिचाइरहेका छन् । सप्तरी–२ मा जनमत पार्टीको अवस्था पहिलाजस्तो नरहेको त्यहाँका स्थानीय बताउँछन् ।
तर अध्यक्ष राउत सप्तरी–२ बाटै चुनाव लड्ने जनमत पार्टी सप्तरीका अध्यक्ष रामगमन साह बताउँछन् । उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष सीके राउतजीले यहीँ (सप्तरी–२)बाट चुनाव लड्ने घोषणा एक डेढ महिना अगाडि नै गरिसक्नु भएको छ । त्यसैले यसमा कुनै असमन्जस छैन ।’
विभिन्न मोर्चा तथा गठबन्धन बन्ने क्रम जारी रहेकाले चुनाव आउने बेलासम्म तालमेल हुनसक्ने सम्भावना पनि रहेको उनले बताए । पार्टीले अहिले कसैसँग तालमेल नगर्ने निर्णय गरिसके पनि चुनाव आउँदासम्म कस्तो परिस्थिति रहन्छ, त्यो अनुसार पार्टीले निर्णय लिने उनको भनाइ छ ।
उपेन्द्र यादव र सीके राउतबिच तालमेल हुने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा जिल्ला अध्यक्ष साहले अहिलेसम्म त्यस्तो कुनै संकेत नदेखिएको बताए । तर राजनीतिमा कुनै कुरा असम्भव नहुने भन्दै आगामी दिनमा यसै हुन्छ भनेर अहिले नै भन्न नसकिने उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण