सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

क्षणिक आडम्बरले संस्था फुट्यो, अब गल्ती दोहोर्‍याउँदैनौँ : उपाध्यक्ष सिम्खडा

आइतबार, १४ मङ्सिर २०८२, २० : १७
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले संस्थाको विभाजन नेतृत्वको क्षणिक आडम्बरका कारण भएको बताए।
  • उनले दुई पक्षबीच कुनै सैद्धान्तिक मतभेद नभएको र अब गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए।
  • सिम्खडाले एकतालाई लामो समयदेखि जाम भएको गाडीको इन्जिन स्टार्ट भएको संज्ञा दिए र इमान्दार नेतृत्वको आवश्यकता औंल्याए।

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडाले संस्थाको विभाजन कुनै सैद्धान्तिक कारणले नभई नेतृत्वको 'क्षणिक आडम्बर' का कारण भएको बताएका छन्। आइतबार बालुवाटारमा आयोजित संघको बृहत् एकता घोषणा सभामा बोल्दै उनले लामो समयदेखिको विभाजन अन्त्य भएकोमा खुसी व्यक्त गरे । उनले अब विगतको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता समेत जनाए।

एकता वार्ता समितिका सदस्यसमेत रहेका सिम्खडाले महिनौँ लामो छलफलका क्रममा दुई पक्षबीच कुनै पनि सैद्धान्तिक मतभेद नपाएको खुलासा गरे। 'वार्तामा बस्दा मलाई साँच्चै डा. केसी र महेशजीबीच केही फरक छ र ? भन्ने अनुभूति हुन्थ्यो,' उनले भने, 'विभाजनको कारण कुनै विचार वा कार्यशैली नभई, 'मैले पनि त केही हुँ' भन्ने क्षणिक आडम्बर र उत्तेजना मात्र रहेछ।'

एनआरएनए स्थापनाकालमा सबैको श्रद्धाको केन्द्र भए पनि पछिल्लो समय विभाजनका कारण 'हाँसोको पात्र' बनेको तितो यथार्थ उनले स्वीकार गरे। 'हामीले प्रधानमन्त्रीज्यूकै अगाडि अब यो गल्ती दोहोर्‍याउने छैनौँ भनेर वाचा गरेका छौँ,' उनले भने, 'यदि अब पनि हामी चुक्यौँ भने हामीलाई चौबाटोमा घेरेर प्रश्न गर्दा हुन्छ।'

सिम्खडाले सहमतिको सबैभन्दा कठिन पाटो 'एकअर्काको अस्तित्व स्वीकार गर्नु' रहेको बताए। '११औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठको नेतृत्वलाई स्वीकार गर्ने सैद्धान्तिक सहमति जुटेपछि अन्य विषय गौण बने,' उनले स्पष्ट पारे।

अहिलेको एकतालाई उनले लामो समयदेखि जाम भएर नचलेको गाडीको इन्जिन स्टार्ट भएको रूपमा व्याख्या गरे। 'गाडी स्टार्ट भएको छ, अब यसलाई सही गन्तव्यमा पुर्‍याउन ड्राइभर र सहचालक इमान्दार हुनुपर्छ,' सिंखड्काले भने, 'दुवै अध्यक्षलाई त्यतिबेला मात्र बधाई दिन सकिन्छ, जब उहाँहरूले १२औँ महाधिवेशनमा स्वच्छ र पारदर्शी नेतृत्व चयन गरेर पदस्थापन गराउनुहुनेछ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप