तोरीले पहेँलपुर बेथानचोकका बारी
सारांश
- बेथानचोकमा तोरी फुलेर आकर्षक दृश्य बनेको छ।
- स्थानीय किसानहरू तोरीखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्।
- गाउँपालिकाले तोरीखेतीलाई प्रोत्साहन गरिरहेको छ।
धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी फुलेर यहाँका दृश्य निकै आकर्षक देखिएको छ ।
स्थानीय किसान हरिप्रिया सापकोटाको बारीमा तोरी फूलले गाउँकै सुन्दरता थपेको छ । उनले बारीभरि फुलेका तोरीले त्यहाँ पुग्नेहरुको मन लोभ्याउने गरेको बताइन् ।
“बारीमा पहेँलपुर देखिने गरी तोरीको फूल फुलिरहेको छ, केही कालो तोरीको बोट हुर्किंदै छन् । केही भागमा भने मिश्रित रुपमा आलुखेतीसमेत छ । यसले यहाँको सुन्दरता थपेको छ”, सापकोटाले भनिन्, “गाउँलाई सुन्दर बनाउने मात्रै होइन, यहाँको उत्पादन राम्रो आम्दानीको स्रोत भएको छ । त्यसैले नगदे बाली तोरीखेतीलाई निरन्तरता दिँदै आएका छौँ ।”
सोही वडाका अर्का किसान एवं माउण्ट महाभारत ‘होमस्टे’का सञ्चालक कमल नेपालले घरायसी प्रयोग र बिक्रीबाट आम्दानी हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भइरहेको बताए ।
“कृषकले खाद्यान्न बाली मकै भित्र्याएपछि नगदे बालीको रूपमा तोरीखेती गर्दै आएका छौँ”, उनले भने, “जसले फुल्ने बेला वातावरणलाई सुन्दर बनाउने मात्रै होइन उत्पादक कृषकलाई घरायसी प्रयोग र बिक्रीबाट आम्दानी पनि भइरहेको छ ।”
पर्यटकीय हिसाबले प्रसिद्ध सो ठाउँमा भएको तोरीखेतीको आकर्षक दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकर्षिक बनाउने गरेको नेपालले बताए ।
बेथानचोक गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक मधुसुदन दाहालका अनुसार गाउँपालिकाको ४० देखि ४५ हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको छ । यसबाट प्रतिहेक्टर क्षेत्रफलमा एक दशमलव दुई मेट्रिक टन तोरी उत्पादन हुँदै आएको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाको सबैजसो वडामा तोरीखेतीको राम्रो उत्पादन हुँदै आएको बताइन् । पालिकाको केही क्षेत्रमा तुषारोले समस्या पार्नेबाहेक सबैजसो ठाउँमा अधिकांश किसानले यसबाट लाभ लिँदै आएको उनको भनाइ छ ।
“अझ गाउँपालिकाको वडा नं १ च्याम्राङबेँसी माथिल्लो गाउँका किसानमध्ये एक घरले वार्षिक रूपमा १०/१२ मुरिसम्म उत्पादन गर्दै आएका छन्”, उनले भनिन्, “त्यसरी खेती गर्ने किसानको समस्यालाई सम्बोधन गर्नका लागि पालिकाले पनि प्रोत्साहन गर्दै आएको छ । नीति कार्यक्रम बनाउनुअघि छलफल गरेर अगाडि बढ्ने गरेका छौँ ।”
हाल तोरीको फूल फुल्ने मौसम भएकाले पालिकाको सबैजसो बारीका पाटाभरि पहेँलपुर हुनेगरी फूल फुलेको देख्न पाइन्छ । यहाँका किसानले तोरीका अतिरिक्त आलु र अन्य तरकारीखेती गर्दै आएका छन्, जबाट मनग्य आम्दानी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण