सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

के एमाले अस्तित्व संकटमा छ ?

मङ्गलबार, १६ मङ्सिर २०८२, १० : २२
मङ्गलबार, १६ मङ्सिर २०८२

 

 

 

 

गत भदौ २३ र २४ गते नेपालमा भएका घटनाहरूले देशको राजनैतिक अवस्थामा ठुलो उथल–पुथलको सिर्जना भएको छ । युवा  विद्यार्थीहरूको त्याग, बलिदान तथा राष्ट्रले गुमाएका अमूल्य भौतिक एवं मानवीय क्षति सम्बन्धी विवरणहरू धेरै सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका छन् । तर सम्बन्धित निकायहरूबाट हुनुपर्ने आधिकारिक लेखाजोखा भने अझै आउन बाँकी नै छ ।

प्रस्तुत आलेखको चासो आर्थिक क्षतिको चर्चा गर्नु होइन । यसमा मुख्यतः राजनीतिक पार्टीहरूमा देखिएको परिवर्तन र उथलपुथलको चर्चा हुनेछ । अझ खासगरी संसद विघटन अघि देशको दोस्रो ठुलो राजनीतिक पार्टीका रूपमा रहेको नेकपा (एमाले) को भदौ २४ गते पछिको अवस्थामा केन्द्रित हुनेछ ।

कुनै पनि संस्था यत्तिकै बन्दैन । संस्था बन्ने क्रममा धेरै पक्षहरू आपसमा जोडिएका हुन्छन् । खास प्रकारको विचार, त्यो विचारलाई व्यवहारमा रूपान्तरण गर्ने संस्था तथा संस्थालाई सञ्चालन गर्ने समान सोचका नेतृत्वहरू तथा मानव संसाधन चाहिन्छ । यी सबै संस्था निर्माणका आधारभूत तत्त्व हुन् ।

आफ्नो गठनदेखि आजपर्यन्त नेकपा (एमाले) को इतिहास धेरै चाखलाग्दो छ । यसको प्रारम्भिक अवस्था, समान वैचारिक धारणाका नेताहरूको योगदान तथा पार्टीले भोगेका उतार–चढावलाई समग्रमा हेर्दा एमाले एउटा संस्थाका रूपमा धेरै सिकाइ दिन सक्ने सङ्गठन हो भन्ने स्पष्ट छ ।

व्यवस्थापन अध्ययनको दृष्टिले नियाल्दा, कुनै पनि संस्थाको सुरुवात भएपछि त्यत्तिकै रहँदैन । त्यसले एक प्रकारको ‘सांगठनिक जीवन चक्र’ पनि पार गर्दै जान्छ । संस्थाको निर्माणदेखि वृद्धि, परिपक्वता, रूपान्तरण, अनि सम्भावनाको निर्क्योल गर्दै उ अघि बढिरहेको हुन्छ । सामान्यतः प्रत्येक संस्थाले यी सबै चक्र पार गर्छन् । एमाले पनि नेपालको सन्दर्भमा ‘सांगठनिक जीवन चक्र’ को लामो यात्रा तय गरिरहेको राजनीतिक संस्था हो ।

सामाजिक–विज्ञानको दृष्टिमा एमालेलाई गहन सामाजिक तथा राजनीतिक मूल्य बोकेको पार्टी भन्न सकिन्छ । यद्यपि धेरै मूल्यहरू जीवित छन् वा छैनन् भन्ने सन्देह हुन सक्छ । केही मान्यताहरू भने पक्कै बाँकी नै देखिन्छ । कम्तीमा यसको स्थापना, सङ्घर्ष र प्रारम्भिक सञ्चालन असाध्यै गहन मूल्य–मान्यताबाट सुरु भएको हो भन्नेमा दुईमत छैन । 

यस अर्थमा एमालेको विगत, संस्थागत संरचना र विचारधारालाई हेर्दा पार्टीलाई एउटा परिपक्व संस्था मान्न सकिन्छ । यसका निश्चित विधि–विधान छन । कार्यगत संरचना छ । स्थानीय, प्रदेश तथा सङ्घलगायत देशका तीनवटै तहमा बलियो उपस्थिति छ । आजका दिनसम्म पनि नेकपा (एमाले) ‘सांगठनिक जीवन चक्र’ भित्रै सङ्घर्ष गरिरहेको पाइन्छ ।

भदौ २४ पछिको अवस्था केही फरक छ । त्यसयता एमाले तथा ‘लगभग’ उस्तै–उस्तै विचारधारा बोकेका संस्थाहरु उक्त चक्र पार गर्दै अस्तित्वसँगै जोडिएको प्रश्नसामु उभिएको हामी देख्न सक्छौँ । 

भदौ २३–२४ को घटनाले देखाएको नविन यथार्थ अनुरूप धेरैजसो पार्टीहरूमा ‘पार्टी सुधार’ को एजेन्डा उठेको छ । यसमा एमाले पनि अपवाद रहेन । त्यहाँ पनि पार्टी सुधारको विषय जबरजस्त रूपमा देखा पर्‍यो । पार्टीभित्र विविध विचार–विमर्शहरू हुन थाले । यद्यपि केपी ओली र उहाँको राजनीतिक प्रवृत्तिबाट प्रभावित धेरै सदस्यहरू भने अझै खुलेर बहसमा आएका छैनन् । केही सदस्यहरू बोल्ने आँट गर्दैछन । 

व्यक्ति वा व्यक्तिको तानाशाही प्रवृत्तिलाई नभएर पार्टी, प्रणाली र व्यवस्थामा विश्वास गर्नेहरूले पार्टी जीवन, यसको धरोहर तथा घोषित विचारधारालाई जोगाउँदै सुधारतर्फ जानुपर्ने आवाज उठाउँदै गरेको देखिन्छ । त्यसैको एउटा उदाहरणका रूपमा हालसालै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा सार्वजनिक गरिएको वक्तव्यलाई लिन सकिन्छ । 

उनले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि ओलीलाई चुनौती दिने घोषणा गरेका छन् । नेता पोखरेलको वक्तव्यलाई गहिरिएर अध्ययन गर्ने हो भने त्यहाँ पार्टीका मूल्य, विचार तथा सङ्गठनलाई मजबुत बनाउनुपर्ने सोच भेटिन्छ । समाजवादी एजेन्डालाई थप सुदृढ गर्दै राष्ट्रलाई अगाडि बढाउनुपर्ने धारणा देखिन्छ । पोखरेलको वैचारिक, राजनीतिक प्रस्तावले कालान्तरमा एमाले सुधारको महत्त्वपूर्ण ढोका खुल्न सक्ने अनुमान लगाउन सकिन्छ ।

तर एउटा पङ्क्तिले उनको विचारलाई सहज रूपमा लिएको देखिँदैन । पार्टी बनाउने काममा धेरै वर्ष बिताएका पोखरेल जस्ता नेतामाथि पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा गरिएका प्रतिक्रियाहरू हेर्ने हो भने, पार्टीका धेरै कनिष्ठ सदस्यहरू समेत पोखरेललाई पाठ पढाउने शैलीमा आक्रमणमा उत्रिएको देखिन्छ । 

सम्भवतः यसमा एमालेको ‘संस्थागत विरासत’ भन्दा पनि ‘ओलीवाद’ हाबी भएको हुन सक्छ । किनभने पछिल्ला वर्षहरूमा ओलीले पार्टीको संरचना, विधि–विधान र संस्थागत मूल्यभन्दा आफूलाई ठुलो बनाएको स्पष्ट देखिन्छ । एमालेभित्र यस्तो एउटा ठुलो पङ्क्ति छ, जसले ओलीले जस्तासुकै विवादास्पद निर्णयहरू लिए पनि उनीहरू ओलीकै पक्षमा उभिन बाध्य छन् । 

खासमा ओलीको नेतृत्वमा पछिल्लो समयको एमालेमा संस्थागत पद्धति वा विधिसम्मत प्रणालीगत नभएर ‘ओलीवाद’ हाबी छ । पोखरेल जत्तिको नेताले ‘अहिले ओलीविरुद्ध खुलेर विचार राख्ने वातावरण खासै छैन’ भन्नुले एमालेको आजको अवस्था राम्रोसँग बुझाउँछ । कुनै पनि राजनीतिक संस्थाको जन्म, विकास तथा जीवन चक्रबारे चासो राख्ने नागरिकका रूपमा हेर्दा मलाई लाग्छ अहिले ओलीको प्रभावका बिच एमाले भित्र विकसित संस्कृति र व्यवहारले पार्टीलाई क्षत–विक्षत बनाउनेतर्फ डोर्‍याउँदैछ । 

एमालेको सबैभन्दा ठुलो शक्तिका रूपमा मानिने संस्थागत तथा वैचारिक मूल्य मान्यताहरू संकटमा पारेको बुझ्न सकिन्छ । पार्टीमा आफ्नो भविष्य खोज्ने, पार्टी जीवनमा लामो यात्रा देखेका, संस्थाको हित–केन्द्रित सोच भएका तथा भविष्यप्रति गम्भीर रहेका बुद्धिजीवी एवं अनुभवी जो–कोही नेता कार्यकर्तालाई ‘ओलीवाद’ ले हतोत्साहित बनाइ रहेको देखिन्छ ।

ईश्वर पोखरेलले प्रस्तुत गरेका धारणा र विचारहरू हेर्दा, उनको नेतृत्वमा अघि बढ्दाको अवस्थामा एमालेको संस्थागत हित, संरक्षण र संस्था सुधारको बाटोमा लम्किने आशा गर्न सकिन्छ । त्यसरी मात्रै आजका दिनमा एमालेले समाजवादी एजेन्डासहित राष्ट्र निर्माणमा आफूलाई उभ्याउन सक्छ । 

संस्थागत चक्रको अन्त्य तर्फ नगएर आफूलाई परिपक्वताको चरणमै अघि बढाउँछ भन्ने सन्देश प्रवाह गर्न सक्छ । त्यसो हुँदा एमालेको संस्थागत धरोहर तथा संस्थागत विरासत जोगिन सक्छ । पार्टीको नेतृत्व तथा विकास व्यक्तिवादका आधारमा नभएर व्यवस्थित प्रणाली तथा लोकतान्त्रिक अभ्यासले चल्छ भन्ने सार्थक उदाहरण प्रस्तुत गर्ने अवसर पनि एमालेले पाउन सक्छ । 

अस्तित्व संकटबाट गुज्रिरहेको प्रतीत हुने आजको अवस्थामा एमालेले कस्तो बाटो रोज्छ भन्ने निर्णयले उसको भविष्यको दिशा र दशा दुबै तय गर्नेछ ।

(लेखक ‘द्वन्द्व, शान्ति तथा विकास अध्ययन’ का अध्येता हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रुप बराल
रुप बराल
लेखकबाट थप