बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मधेस केन्द्रित दल

कुनै फुटेर, कुनै अलग भएर बने थरीथरी मधेस केन्द्रित दल

बुधबार, १७ मङ्सिर २०८२, १८ : ००
बुधबार, १७ मङ्सिर २०८२

काठमाडौँ । फागुन २१ गतेको चुनावका लागि २९ वटा नयाँ दल दर्ता भएकोमा ११ वटा मधेस केन्द्रित छन् । तीमध्ये अधिकांश दल फुटेर वा अलग भएर गठन भएका हुन् । 

मधेसमा वैकल्पिक राजनीतिक शक्ति भन्दै उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टी सबैभन्दा धेरै चिरा परेको छ । यो पार्टीबाट अलग भएकाहरुले तीनवटा दल बनाएका छन् । दीपक साहले सर्वोदय पार्टी गठन गरेका छन् भने डा. शरतसिंह यादवले जनअधिकार पार्टी र रियाज अहमदले राष्ट्रिय जनमत पार्टी गठन गरेका छन् । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर अशोक यादवले जनता लोकतान्त्रिक पार्टी दर्ता गराएका छन् । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका छन् । यो पार्टीको अध्यक्षमा कबीर सोपलाई राखिएको छ । 

२०७९ सालको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका मोरङका योगेन्द्र मण्डलले पनि नयाँ पार्टी दर्ता गराएका छन् । एमाले पृष्ठभूमि मण्डलले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । मण्डल अध्यक्ष रहेको दलको नाम राष्ट्रिय ऊर्जाशील पार्टी छ । 

डा. बाबुराम भट्टराईका साथमा लामो समय काम गरेका पर्साका प्रशान्त सिंहले आफ्नै संयोजकत्वमा पार्टी गठन गरेका छन् । उनले पिपुल फर्स्ट पार्टी दर्ता गराएका छन् । जसपा नेपालबाट अलग भएर डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेपछि प्रशान्त सिंह त्यहाँबाट अलग भएका थिए । 

सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले मधेसका जनताको पक्षमा काम गर्न आफूले नयाँ पार्टी बनाएको दाबी गरे । ‘मधेसी दलका अध्यक्षहरुले ठुला-ठुला कुरा गर्नुहुन्छ, तर कुरा अनुसार काम गरेको पाइएको छैन । यतिका दलहरु छन्, लामो समयदेखि सत्तामा रहे, तर मधेशको विकास किन हुन सकेन यही कुरा विश्लेषण गरेपछि नयाँ पार्टी दर्ता गर्न किन आवश्यक पर्‍यो भन्ने पुष्टि हुन्छ,’ उनले भने । 

जनमत पार्टीबाट अलग भएर राष्ट्रिय जनमत पार्टी गठन गरेका रिहाज अहमद शेखले मधेस केन्द्रित दलका अध्यक्षहरुको बोलाइ र काम गराइमा धेरै अन्तर रहेको बताए । 
‘कुनै पार्टीको एजेण्डा, मुद्दा, विचार नराम्रो होइन, तर त्यो व्यवहारमा लागु नगरेका कारण समस्या भएको हो,’ उनले भने, ‘अध्यक्ष सीके राउतले जति बोल्नु हुन्छ, जति लेख्नुहुन्छ त्यसको १० प्रतिशत पनि काम गर्नुहुन्न, उहाँले गुलियो कुरा गरेर मात्र पार्टी चलाइरहनु भएको छ । गुलियो कुरा गरेर मात्र काम हुँदैन बोले अनुसार काम नगरेको कारण हामीले उहाँको साथ छाडेर पार्टी दर्ता गराएका हौं ।’ 

गणेश मण्डलले लामो समयदेखि मधेस नागरिक समाज संस्था सञ्चालन गर्दै आएका थिए । आगामी चुनावमा भाग लिन उनले सार्वभौम नागरिक पार्टी दर्ता गराएका छन् । ‘नागरिक अभियानले मात्र समाज परिवर्तन हुँदैन, वैचारिक हिसाबले पनि परिवर्तन गर्नका लागि हामीले नयाँ पार्टी बनाएका हौं,’ उनले भने । उनले आफ्नो पार्टी पूर्वी दर्शनमा आधारित भएको र त्यही दर्शनलाई समाजमा स्थापित गर्न चुनावमा सहभागी हुन लागेको बताए । 

गणतन्त्र हिन्दु राष्ट्रका लागि आन्दोलन गर्दै आएको राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले राष्ट्रिय एकता दल गठन गरेका छन् । राष्ट्रिय एकता दल २०७३ मा नै निर्वाचन आयोगमा दर्ता भएको थियो । त्यसलाई उनले पुनर्गठन गरेका हुन् । अरु कुनै पनि दलले गणतन्त्रसहितको हिन्दु राष्ट्रका लागि काम नगरेकाले अरु दलसँग सहकार्य नगरी आफ्नै पार्टी गठन गरेको उनको भनाइ छ । 

‘नेपालमा संघीयता चाहिन्छ, तर त्यो संघीयता हिन्दु राष्ट्रसहितको हुनुपर्छ भन्ने हाम्रो पार्टीको सिद्धान्त हो,’ उनले भने । 

तराई-मधेस केन्द्रित नयाँ पुराना गरी ३७ वटा पार्टी निर्वाचन आयोगमा दर्ता छन् । यीमध्ये धेरैजसो दल अहिले सक्रिय छैनन् । यद्यपि निर्वाचन आयोगमा अध्यावधिक गराएर राखेका छन् । 

आम आदमी पार्टीका अध्यक्ष अशोक यादवको निधन भइसकेको छ । तैपनि उनको पार्टी निर्वाचन आयोगमा अध्यावधिक छ । लोकदल पार्टीका अध्यक्ष कौशलेन्द्र सिंह राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष हुन्, तर निर्वाचन आयोगमा उनको पार्टीमा पनि अध्यावधिक छ । तराई-मधेस केन्द्रित यस्ता थुप्रै पार्टी छन्, जो क्रियाशील नभएपनि पार्टी जोगाएर राखेका छन् । 

तराई-मधेसमा क्रियाशील कतिपय पार्टी आफूलाई मधेस केन्द्रित भन्न रुचाउँदैनन् । ती दलको हिमाल र पहाडमा पनि संगठन छ, तर अधिकांश नेता र चुनावको पकेट क्षेत्र तराई-मधेस नै छ । 

जेनजी आन्दोलनपछि गठन भएका मधेस केन्द्रित दलहरु

१. राष्ट्रिय निर्माण दल – अकबर खान
२. राष्ट्रिय जनमत पार्टी – रियाज अहमद शेष
३. नेपाल जनजागृत पार्टी – धुपलालप्रसाद सहनी
४. राष्ट्रिय ऊर्जाशील पार्टी – योगेन्द्र मण्डल
५. जनता लोकतान्त्रिक पार्टी – अशोक यादव
६. नागरिक उन्मुक्ति पार्टी, नेपाल – कबीर सोप
७. पिपुल फर्स्ट पार्टी – प्रशान्त सिंह
८. स्वाभिमान पार्टी – सत्यवानकुमार सिंह
९. सार्वभौम नागरिक पार्टी – गणेश मण्डल
१०. सर्वोदय पार्टी – ई. दीपक साह
११. राष्ट्रिय एकता दल – विनय यादव 

यसअघिबाटै क्रियाशील मधेस केन्द्रित दलहरु

१. जनता समाजवादी पार्टी नेपाल – उपेन्द्र यादव
२. जनमत पार्टी - डा. सीके राउत
३. लोकतान्त्रिक समाजवादी पार्टी नेपाल – महन्थ ठाकुर
४. जनता समाजवादी पार्टी – अशोक राई
५. राष्ट्रिय मुक्ति पार्टी नेपाल – राजेन्द्र महतो
६. तराई मधेश लोकतान्त्रिक पार्टी – वृषेशचन्द्र लाल
७. जनता प्रगतिशील पार्टी – हृदयेश त्रिपाठी
८. नागरिक उन्मुक्ति पार्टी – रञ्जिता श्रेष्ठ
९. तराई मधेस फोरम – अमर यादव
१०. आम जनता पार्टी नेपाल – प्रभु साह
११. मधेसी जनअधिकार फोरम, मधेस – भाग्यनाथ गुप्ता
१२. बहुजन शक्ति पार्टी – विश्वेन्द्र पासवान
१३. संघीय नेपाल पार्टी – रुकमणि चौधरी
१४. बहुजन समाजवादी पार्टी नेपाल – पुजन महरा
१५. नेपाली जनता दल – हरिचरण साह
१६. लोक दल – कौशलकुमार सिंह
१७. विकासशील जनता पार्टी – प्रितम मुखिया
१८. इतिहास जनता पार्टी – बद्रीनारायण ठाकुर
१९. नेपाल संघीय समाजवादी पार्टी – रिजवान अन्सारी
२०. आम आदमी पार्टी नेपाल – अशोक यादव (स्वर्गीय)
२१. नेपाल सद्भावना पार्टी – अनिल झा
२२. जनताको जनवादी पार्टी नेपाल – सन्ध्या तिवारी
२३. राष्ट्रिय सद्भावना पार्टी – नृपेन्द्रकुमार सिंह
२४. राष्ट्रिय जनता पार्टी नेपाल – हरिनारायण यादव
२५. समावेशी समाजवादी पार्टी नेपाल – किशोर विश्वास
२६. राष्ट्रिय समता पार्टी नेपाल – विजयप्रकाश निषाद 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप