बालुवाटारको सर्वपक्षीय बैठकमा यी विषयमा हुँदैछ छलफल
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोग, सुरक्षा प्रमुख र पाँच दलसँग आगामी निर्वाचनबारे छलफल गरेकी छिन्।
- छलफलमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र विदेशमा रहेका नेपालीको मतदानबारे छलफल हुनेछ।
- विभिन्न दलहरूले निर्वाचनको मिति सारिन नहुने र सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्।
काठमाडौँ । आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र पक्षमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख पाँच दलसहित निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग सर्वपक्षीय छलफल गर्दैछिन् ।
अपराह्न चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई बोलाइएको छ ।
बैठकमा निर्वाचनसँग सम्बन्धित समग्र पक्षमा छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार छलफलमा निर्वाचन आयोगका प्रतिनिधिले आयोगले निर्वाचनबारे भएको तयारी तथा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराउनेछन् ।
सरकार र निर्वाचन आयोगले तोकिएकै समयमा निर्वाचन गराउने बताइरहेका बेला प्रमुख राजनीतिक दलहरूले भने शान्ति सुरक्षाको भरपर्दो व्यवस्था हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था र सम्भावनाका बारेमा समेत छलफल हुनेछ । जेनजी युवाहरूले अन्तर जिल्ला र विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने र त्यसको व्यवस्था मिलाउनुपर्ने माग गर्दै आएका छन् । तर अहिलेको अवस्थामा उक्त व्यवस्था गर्न कठिन रहेको आयोगले बताउँदै आएको छ ।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र रास्वपा लगायतले फागुन २१ को निर्वाचन दायाँबायाँ गर्नु नहुने बताउँदै आएका छन् भने नेकपा एमालेले सरकारमाथि वैधानिकताको प्रश्न उठाउँदै प्रतिनिधिसभा पुनर्स्थापना गरेर मुलुकलाई संवैधानिक ट्र्याकमा फर्काउनुपर्ने बताउँदै आएको छ ।
एमालेले वर्तमान सरकार निर्वाचन भन्ने तर नगर्ने बाटोमा रहेको भन्दै नेताहरूलाई स्थान हद तोकेर राजनीतिक गतिविधि गर्नै नदिएको भन्दै सरकारको आलोचना गरिरहेको छ । यद्यपि उसले निर्वाचन प्रयोजनका कार्यक्रममा भने सहभागिता जनाउँदै आएको छ ।
प्रधानमन्त्रीले बोलाएको आजको छलफलमा पनि एमालेले आफ्ना कुरा र मुलुकको अवस्थाबारे प्रस्ट धारणा राख्ने नेताहरूले बताएका छन् । ‘हामीले भन्दै आएको कुरा नै आज पनि राख्छौँ । सरकारले चुनाव चुनाव भने पनि चुनावको वातावरण बनाउन सकेको छैन, दलहरूले आफ्ना गतिविधि निर्धक्क गर्न पाएका छैनन् र नेताहरूलाई स्थान हद तोकेर कस्तो चुनाव गर्न खोजेको हो ? भनेर सरकारलाई प्रश्न गर्छौ’,एमालेका उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘यो सरकारले चुनाव गर्न सक्ने ल्याकत नै राख्छ भन्नेमा एमालेलाई विश्वास छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण