ट्रम्पलाई ‘शान्ति पुरस्कार’ : राजनीतिक तटस्थताको नारा जप्ने फिफाको दोहोरो चरित्र
सारांश
- फिफाले राजनीतिक सन्देश प्रवाह गरेको भन्दै खेलाडीलाई जरिवाना गर्ने तर ट्रम्पलाई शान्ति पुरस्कार दिएकोमा विवाद सिर्जना भयो।
- ट्रम्पलाई शान्ति पुरस्कार दिइएकोमा संयुक्त राष्ट्र संघका पूर्व अधिकारी र अधिकारकर्मीहरूले फिफाको आलोचना गरेका छन्।
- इन्फान्टिनोले ट्रम्पको प्रशंसा गर्दै अर्को वर्ष अमेरिकामा हुने विश्वकपको सन्दर्भ जोडेर सुरक्षित विश्वको चाहना व्यक्त गरे।
न्युयोर्क । फुटबलमा राजनीतिक सन्देश प्रवाह गरेको भन्दै खेलाडीहरूलाई जरिवाना र प्रतिबन्ध लगाउने विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) आफैँ भने गम्भीर विवादमा फसेको छ। सधैँ राजनीतिक तटस्थताको वकालत गर्ने फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पहिलो ‘फिफा शान्ति पुरस्कार’ प्रदान गरेपछि संस्थाको नीति र नियतमाथि प्रश्न उठेको हो।
इन्फान्टिनोले रिपब्लिकन नेता ट्रम्पसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउँदै यो उद्घाटन पुरस्कार सुम्पिएका हुन्। तर, आलोचकहरूले यो पुरस्कारको समयलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। ट्रम्प प्रशासनले क्यारेबियन क्षेत्रमा अर्को घातक हवाई आक्रमण गरेको २४ घण्टा नबित्दै उनलाई शान्ति पुरस्कारबाट सम्मानित गरिएको छ।
संयुक्त राष्ट्र संघका पूर्व अधिकारी क्रेग मोखिबरले यसलाई ‘लज्जास्पद घटना’ को संज्ञा दिएका छन्। इजरायलले गाजामा चलाएको युद्ध र नरसंहारमा फिफाको मौनताप्रति प्रश्न उठाउँदै आएका मोखिबरले ट्रम्पलाई पुरस्कृत गर्नु गलत भएको बताए।

फिफा अध्यक्ष इन्फान्टिनोले भने फुटबलले भूराजनीतिक समस्या समाधान गर्न नसक्ने तर्क गर्दै इजरायलविरुद्ध कुनै कारबाही गर्न अस्वीकार गर्दै आएका छन्। तर, शुक्रबार ट्रम्पलाई पुरस्कार दिँदै उनले अब्राहम सम्झौता लगायतका ट्रम्पका अन्तर्राष्ट्रिय पहलको खुलेर प्रशंसा गरे। इन्फान्टिनोले ट्रम्पको तारिफ गर्दै उनी जस्तो जनताको वास्ता गर्ने नेता विश्वलाई चाहिएको बताए। अर्को वर्ष अमेरिकामा हुने विश्वकपको सन्दर्भ जोड्दै उनले सुरक्षित विश्वको चाहना व्यक्त गरे।
नोबेल शान्ति पुरस्कारको लागि खुलेर लबिङ गरे पनि नपाएका ट्रम्पले फिफाको यो सम्मानलाई आफूले पाएको ‘ठुलो सम्मान’ मध्ये एक बताए। पुरस्कार ग्रहण गर्दै उनले आफ्नो कार्यकालले लाखौँको ज्यान बचाएको र आठवटा युद्ध अन्त्य गरेको दाबी पनि गरे। छोटो मन्तव्यका क्रममा ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनको कार्यकालमा अमेरिकाको अवस्था नाजुक रहेको भन्दै कटाक्ष गर्न समेत भ्याए।
सन् २०२३ मा मात्रै इन्फान्टिनोले खेललाई विभाजनको माध्यम बनाउन नहुने र राजनीतिक तटस्थता जोगाउनुपर्ने बताएका थिए। तर, दुई वर्षपछि नै उनले शान्ति र एकताको नाममा पुरस्कार खडा गरी सोमालियाका मानिसहरूलाई ‘फोहोर’ को संज्ञा दिने नेतालाई सुम्पिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ। फुटबल पत्रकार ज्याक लोवीले त लुइस स्वारेजलाई अरूलाई नटोकेकोमा पुरस्कार दिनु र ट्रम्पलाई शान्ति पुरस्कार दिनु उस्तै भएको व्यङ्ग्य गरेका छन्।

अमेरिकाले अर्को वर्ष मेक्सिको र क्यानडासँग मिलेर विश्वकप आयोजना गर्दैछ। यसै सन्दर्भमा इन्फान्टिनोले ट्रम्पसँग नजिकको सम्बन्ध विस्तार गरेको देखिन्छ। उनी ह्वाइट हाउसमा नियमितजसो अतिथिका रूपमा गइरहने गरेका छन्।
डेमोक्रेटिक पार्टी र अधिकारवादी समूहहरूले फिफाको यो नयाँ पुरस्कारको आलोचना गरेका छन्। ह्युमन राइट्स वाचले ट्रम्प प्रशासनको मानव अधिकार रेकर्ड भयानक रहेको भन्दै यसले शान्ति र एकतालाई नजनाउने बताएको छ।
ट्रम्पले हालै इरानका आणविक भट्टीमा बमबारी गर्न आदेश दिएको, इजरायललाई हतियार दिइरहेको, भेनेजुएलाविरुद्ध सैन्य तयारी गरिरहेको र लागुऔषध नियन्त्रणको नाममा क्यारेबियन क्षेत्रमा गैरन्यायिक हत्याहरू गराएको आरोप आलोचकहरूको छ। साथै, अमेरिकाभित्रै पनि आप्रवासन विरोधी कडा नीति र वाक स्वतन्त्रतामाथिको प्रहारलाई लिएर उनको आलोचना हुने गरेको छ।
यस्तो अवस्थामा फिफाले ‘रगत लतपतिएको मैदान’ तर्फ फुटबललाई डोर्याइरहेको टिप्पणी मोखिबरले गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण