एआई, क्वान्टम र अन्तरिक्ष प्रविधिले अबको विश्व व्यवस्था तय गर्दैछन्
सारांश
- लेखले एआई, क्वान्टम प्रविधि, र अन्तरिक्ष प्रविधिको विकास र यसको विश्वव्यापी प्रभावको बारेमा चर्चा गर्दछ।
- लेखमा यी प्रविधिहरूले विश्व शक्ति संरचनालाई कसरी परिवर्तन गर्न सक्छन् र एसिया यसमा कसरी केन्द्रित छ भन्ने कुरा उल्लेख छ।
- लेखले नैतिक लक्ष्यका साथ प्राविधिक विकासको महत्त्व र भविष्यमा यसको नेतृत्व गर्ने देशहरूको बारेमा प्रकाश पार्छ।
इतिहासले विरलै मात्र ठुला घुम्ती र मोडहरू बारे आफैँ घोषणा गर्ने गर्छ। जब कुनै समय स्थिर ठानिएको आफू उभिएकै जमिन एक्काएक चलायमान हुन थालेको अनुभव हुन्छ, त्यसपछि हामी इतिहासको नयाँ मोड अनुभव गर्छौं। इतिहासमा अहिले त्यस्तै मोड आएको छ।
कृत्रिम बुद्धिमत्ता (एआई), क्वान्टम प्रविधि तथा अन्तरिक्ष सम्बन्धी पूर्वाधारहरू हाम्रो राजनीतिक प्रवृत्ति एवं कल्पनाशक्ति नै विस्तार गर्ने गतिमा अघि बढिरहेका छन्। यी प्रत्येक प्रविधि आफैंमा आमूल परिवर्तनकारी छन्। साथै, वैश्विक शक्तिको नयाँ 'आर्किटेक्चर' समेत तय गर्दै छन्। कुन–कुन देशले अबको शताब्दीको स्वरूप तय गर्छन् भन्ने निधो गर्ने 'इन्जिन' बन्दैछन्। साथै, आफूलाई विद्यमान दौडमै कायम राख्नका लागि कुन–कुन देशहरू संघर्षरत छन् भन्ने पनि निर्धारण गर्दैछन्।
एकजना वरिष्ठ एसियाली नीति निर्माताले केही अघि ठट्टा गर्दै भनेका थिए, 'हामी अब कसको कुल गार्हस्थ उत्पादन (जीडीपी) बेसी हुन्छ भनेर प्रतिस्पर्धा गरिरहेका छैनौँ। अब त कसको मस्तिष्क क्षमता कति छ भन्नेमा प्रतिस्पर्धा गरिरहेका छौँ।' उनको भनाई विल्कुलै गलत होइन। उनले त्यति मात्रै भनेका थिएनन्।
उनले भनेको बाँकी विषय भने असाध्यै गम्भीर थियो– जथाभावी चल्ने मस्तिष्कले आफ्नै घर डढाउन पनि सक्छन्। यस्तो सुन्नासाथ कार्यक्रम चलिरहेको कोठामा एकाएक मौनता छायो। मानिस उनको भनाईमा असहमत भएर मौन भएका होइनन्। उनीहरू आफूले बुझेकै विषयलाई ती वक्ताले उपयुक्त शब्दमा अभिव्यक्त गरेकोमा मौन भएका थिए।
आपूर्ति शृङ्खलाको सुरक्षा पनि एआईले नै गर्नेछ। अब एआईका ठुला मोडेलहरू कसले बनाउँछ भन्ने प्रश्न त्यति महत्त्वपूर्ण रहने छैन।
एआई अब तीव्र गतिमा आधुनिक जीवनको संज्ञानकै आधार बन्दैछ। अब यसकै सहायतामा वैज्ञानिक खोज र आविष्कार हुनेछन्। ऊर्जा र यातायात प्रणालीमा उच्चतम सुधार हुनेछन्। स्वास्थ्य परीक्षणको यसै मार्फत काम हुनेछ। हामीले हरेक दिन प्रयोग गर्नुपर्ने खालका सूचना प्रणालीको स्वरूप यसैले तय गर्नेछ।
साथै, आपूर्ति शृङ्खलाको सुरक्षा पनि एआईले नै गर्नेछ। अब एआईका ठुला मोडेलहरू कसले बनाउँछ भन्ने प्रश्न त्यति महत्त्वपूर्ण रहने छैन। अब कसले त्यस्ता मोडेलहरू मानवीय गरिमा घटाउनुको साटो बढाउने प्रणाली सुनिश्चित गर्छन् भन्ने प्रधान प्रश्न बन्दैछ। अब एआई केवल प्रतिस्पर्धाको प्राविधिक मोर्चा मात्रै रहेन, नैतिक लक्ष्यको परीक्षण पनि बनिसकेको छ।
आजको एआई विकासको आधार तय गर्ने प्रमुख वैज्ञानिक मध्ये एक एलान ट्युरिङको प्रसिद्ध प्रश्न छ, 'के मेसिनले सोच्न सक्छ?' एआईले अबका दिनमा कत्तिको प्रभाव पार्न सक्छ भनि हेर्न हामी त्यहि प्रश्नको आधारमा विश्लेषण गर्न सक्छौँ। धेरै दशकसम्म ट्युरिङ परीक्षण पार गर्नु भनेको धेरै टाढाको कोसेढुङ्गा मानिन्थ्यो। त्यो अवस्था अहिले रहेन। यहि वर्षको सुरुमा एउटा शक्तिशाली एआई प्रणालीले ट्युरिङ परीक्षण सफलतापूर्वक पार गर्यो। जसमा सहभागी मूल्याङ्कनकर्ताहरू यसलाई धेरैजसो समय मेसिन नभएर मान्छे नै हो भन्ने ठान्ने स्थिति सिर्जना भयो।
त्यो क्षणको असाधारण महत्त्व छ। त्यस्तो महत्त्व केवल सिलिकनमा 'आत्मा' छ भनेर प्रमाणित भयो भन्नेमा छैन। उक्त क्षणले अब मनोविज्ञानमै नयाँ मोड ल्याएको छ। अब मानिसले आफ्नो निर्णयको सीमा कहाँ सकिन्छ र मेसिनको निर्णय शुरु हुन्छ भन्ने सन्धि रेखा नै पाउँदैनन्। एकपटक उक्त सन्धि रेखा धमिलो भएपछि अवस्था उही रहँदैन।
क्वान्टम प्रविधिहरू पनि उत्तिकै धमाकेदार हुनेवाला छन्। अहिले चलिरहेका परीक्षणहरूमा 'क्वान्टम कम्प्युटिङ' वा 'सेन्सिङ'को मामिलामा हुने सफलताले सुरक्षा, गोपनियता तथा वैज्ञानिक क्षमता बारे विद्यमान मान्यताहरू नै उल्ट्याउने सामर्थ्य राख्छन्।
अब जसले एआई प्रयोग गर्ने मात्रै नभएर त्यसको सञ्चालन समेत गर्छ, उसैसँग शक्ति हुन्छ। मानिसलाई बुझाउने, विश्वास दिलाउने, पढाउने, स्वास्थ्य परीक्षण गर्ने तथा कूटनीतिक काम समेत मान्छे जस्तै लाग्ने तीनै एआईका प्रणालीले सहजीकरण र मध्यस्थता गर्नेछन्। अबका दिनमा जसले मानविय मूल्यहरू कायमै राखेर यस्तो नवीन ज्ञानमा आफूलाई पारङ्गत बनाउँछ, उसैले उदाउँदो एसियाली शताब्दीको अगुवाई गर्नेछ।
क्वान्टम प्रविधिहरू पनि उत्तिकै धमाकेदार हुनेवाला छन्। अहिले चलिरहेका परीक्षणहरूमा 'क्वान्टम कम्प्युटिङ' वा 'सेन्सिङ'को मामिलामा हुने सफलताले सुरक्षा, गोपनियता तथा वैज्ञानिक क्षमता बारे विद्यमान मान्यताहरू नै उल्ट्याउने सामर्थ्य राख्छन्। यसले नयाँ पदार्थको खोज गर्न सक्छ। औषधि उत्पादनमा अभूतपूर्व परिवर्तन ल्याउन सक्छ। साथै, अहिले विश्वभर वित्तीय तथा कूटनीतिक प्रणालीलाई जोगाइरहेको 'इन्क्रिप्सन सिस्टम' पनि कमजोर बनाइदिन्छ। क्वान्टमले ल्याउने परिवर्तन घिसेपिटे हुनेवाला छैन। सबै सामरिक मामिलामा छिट्टै परिवर्तन हुनेवाला छ।
अर्को उत्तिकै प्रभावशाली क्षेत्र छ अन्तरिक्ष। कुनै समय सुदुर सपना ठानिएको अन्तरिक्ष जगत अब आफ्नो प्रभाव विस्तारको नयाँ भूगोल बनेको छ। पृथ्वी र चन्द्रमा बिचको क्षेत्र अब तीव्र गतिमा व्यापक आर्थिक महत्त्व भएको सामरिक करिडोर बन्दैछ। भू–उपग्रहहरूले त अर्थतन्त्रको सञ्चालनमा यसअघि नै महत्त्वपूर्ण भूमिका खेल्न थालिसकेका छन्।
यी सबै प्रविधिलाई फरक रूपमा यसरी पनि हेर्न सकिन्छ– एआई मस्तिष्क हो, क्वान्टम स्नायु प्रणाली हो तथा अन्तरिक्ष भनेको रक्त प्रवाह हो।
आफ्नो मजबुत अन्तरिक्ष पूर्वाधार बनाउन सक्ने मुलुकहरू अब केवल पृथ्वीको अवलोकनमा मात्रै सीमित रहनेछैनन्। उनीहरू आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेका सूचनाको प्रवाह, समय निर्धारण, नेभिगेसन तथा सुरक्षा क्षेत्रमा समेत नियन्त्रण गर्ने सामर्थ्य राख्नेछन्। जसरी कुनै समय सामुद्रिक मार्गमा हुने प्रभावले सम्वृद्धि र रणनैतिक नियन्त्रणको निर्धारण गर्थ्यो, ठिक त्यसैगरी अबका दिनमा अन्तरिक्षको कक्षमा हुने मार्गको नियन्त्रणले भावी दिनमा सम्वृद्धि र प्रभाव तय गर्नेछ।
यी सबै प्रविधिलाई फरक रूपमा यसरी पनि हेर्न सकिन्छ– एआई मस्तिष्क हो, क्वान्टम स्नायु प्रणाली हो तथा अन्तरिक्ष भनेको रक्त प्रवाह हो। अब अन्तरिक्षको कक्षमा हुने सञ्जालको नियन्त्रण हुने मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा मात्रै नभएर अन्तग्र्रहीय स्तरमा सोच्ने, अनुभव गर्ने तथा काम गर्ने मौका दिनेछ। अब एआई, क्वान्टम तथा अन्तरिक्षमा एकसाथ अगुवाई गर्ने मुलुकले केवल पृथ्विको जीवनमा मात्रै प्रभुत्व राख्दैन, सहि अर्थमा बहु–ग्रहीय शक्ति बन्छ। अब यो विषय विज्ञान कथामा सीमित सन्दर्भ रहेन। यो व्यवहारिक सत्य बनिसक्यो। हामीले अहिले विकास गर्दै गरेको प्रविधिको रणनीतिक सार तर्क बनिसक्यो।
यो परिवेशलाई असाधारण बनाउने अर्को पक्ष छ। यी सबै विकासक्रममा अब एसिया केवल फड्के किनाराको साक्षी रहेन। एसिया यो सबै विकासको मुख्य इन्जिन हो। चीनले स्पष्ट राष्ट्रिय लक्ष्यसहित दीर्घकालीन रूपमा लगानी गरिरहेको छ। चीन क्षेत्रीय एवं विश्व व्यवस्थालाई पुनः आकार दिने महत्त्वाकांक्षा राख्छ। अर्को एसियाली मुलुक भारतले न्यून लागतमा अन्तरिक्ष अन्वेषण तथा डिजिटल पूर्वाधार निर्माणमा असाधारण क्षमता देखाउँदैछ। जापान र दक्षिण कोरिया 'प्रेसिजन इन्जिनियरिङ'मा थप उपलब्धि हासिल गरिरहेका छन्। सिङ्गापुरले आफूलाई 'डिजिटल गभर्नेन्स' तथा एआई नियमनमा अगुवा बनाउन खोज्दैछ।
आजको आधारभूत प्रश्न यस्तो दौडमा कसले जित्छ भन्ने होइन। अब हामी कसरी अगुवाई गर्छौं भन्ने हो।
खाडी राष्ट्रहरू उन्नत प्रविधि एवं अन्तरिक्ष क्षेत्रमा ठुला निर्णय गर्दै बढेका छन्। भूगोलमा सानो भए पनि क्षमता विकासमा अग्रणी मुलुक इजरायलले 'साइबर सेक्युरिटी', एआई सुरक्षा तथा 'क्वान्टम सेन्सिङ'को क्षेत्रमा व्यापक काम गरिरहेको छ। आधुनिक इतिहासमा पहिलो पटक प्राविधिक नेतृत्व वास्तविक अर्थमा बहुध्रुवीय बनेको छ। एसियाली शताब्दीको भविष्य कुनै एउटा मात्रै मुलुकले निर्धारण गर्ने छैन, आफ्ना भौगोलिक सीमाभन्दा बाहिर निस्केर आपसमा प्रतिस्पर्धा, सहकार्य तथा कहिलेकाहीँ टकराव गरिरहेका देशहरूको सञ्जालले गर्नेछ। अवसर स्पष्ट देखा परेको छ। साथै अवसरको सदुपयोगको दिशामा बढ्ने अलमल र घबराहट पनि देखिन थालेको छ।
आजको आधारभूत प्रश्न यस्तो दौडमा कसले जित्छ भन्ने होइन। अब हामी कसरी अगुवाई गर्छौं भन्ने हो। यी प्रविधिले हाम्रा चाहना प्रतिबिम्बित गर्छन्। यदि हामीले एक अर्कासँग प्रतिद्वन्द्विता तथा डरको आधारमा चल्ने सोच्यौँ भने त्यसले आपसमा अविश्वास निम्त्याउनेछ र संसारलाई विभाजित गर्नेछ। तर जिम्मेवारी, पारदर्शिता तथा साझा लक्ष्यसाथ बढ्ने सोचेको अवस्थामा मानवता नै आजसम्म सोच्न समेत नसकिएको अभूतपूर्व स्तरमा विकसित हुने निश्चित छ।
आजको एसिया यहि छनोटको केन्द्रमा छ। यहाँको विविधता, कौशल तथा रणनीतिक कल्पनाले यसलाई केवल क्षमता मात्रै दिएको छैन, यो शताब्दीको चरित्र कस्तो हुन्छ भन्ने रोज्ने अवसर पनि दिएको छ। भूमिका र अवसरसँगै कर्तव्य पनि आएको हुन्छ। भविष्यको इन्जिन बनाउँदै गर्दा त्यसले मानवतामाथि जबर्जस्ति गर्न सक्ने सम्भावना रोक्ने संयन्त्र पनि अनिवार्य रूपमा बनाउनुपर्ने हुन्छ। अब जुन मुलुकले आफ्नो महत्त्वाकांक्षालाई संयमले तथा शक्तिलाई लक्ष्यले नियन्त्रण गर्न सक्छ, उसले एसियाको मात्रै नभएर विश्वकै भविष्य तय गर्नेछ।
सहि लक्ष्य वेगरको शक्ति खिइँदै जान्छ। शक्ति वेगरको लक्ष्य पनि अपूर्ण हुन्छ। यी दुबैको समुचित संयोजन गर्न सक्ने मुलुक तथा नेताहरू नै भविष्यमा प्रभावशाली हुनेछन्। असाधारण क्षमताहरूलाई सहि ढङ्गले मानवजातिको साझा भाग्य र भविष्यको पक्षमा प्रयोग गर्न सक्नेहरू नै अबको विश्वको अगुवा हुनेछन्।
(लेखक 'इजरायल इकोनोमिक फोरम'का प्रमुख कार्यकारी अधिकृत एवं अमेरिकी विदेश नीति परिषद्का वरिष्ठ अनुसन्धानकर्ता हुन्। उनको 'नेक्स्टः अ ब्रिफ हिस्ट्री अफ द फ्युचर' पुस्तक प्रकाशित छ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण