अंशु गौतम हत्या प्रकरण: शव भेटिएको ९ दिनपछि भारत भागेका छिमेकी पक्राउ
सारांश
- मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा छिमेकी ५० वर्षीय पदम अधिकारी पक्राउ परेका छन्।
- अनुसन्धानका क्रममा अधिकारी घटनापछि भारत पलायन भएको र पक्राउ परेको प्रहरीले जनाएको छ।
- प्रहरीले अंशुको शव बेलबारी-चिसाङ साझेदारी वनमा फेला पारेको थियो, र घटनाको प्रारम्भिक अनुसन्धान 'बलात्कारपछि हत्या' तर्फ केन्द्रित छ।
विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया किशोरी अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले अन्ततः आरोपीलाई कानुनको कठघरामा उभ्याएको छ। स्कुलमा खेल्न जाने भन्दै घरबाट निस्किएकी किशोरीको हत्या अभियोगमा प्रहरीले उनकै छिमेकी ५० वर्षीय पदम अधिकारीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार यो घटनाको अनुसन्धानमा सबैभन्दा शंकास्पद र निर्णायक मोड आरोपी अधिकारीको गतिविधि (मुभमेन्ट) बनेको थियो। गत कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र अंशुको क्षतविक्षत शव फेला परेको थियो। घटना सार्वजनिक भएको र प्रहरीको अनुसन्धान गाउँमा केन्द्रित भएको ठीक ९ दिनपछि अधिकारी एक्कासि गाउँ छोडेर भारत पलायन भएका थिए।
छिमेकी नै एकाएक फरार भएपछि ‘अपरेसन ज्याग’ अन्तर्गत अनुसन्धानमा खटिएको प्रहरी टोलीको शंका उनीमाथि नै केन्द्रित भयो। उनी झण्डै एक महिना भारतमा लुकेर बसेका थिए। प्रहरी स्रोतका अनुसार भारतमा लुकेर बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को विशेष टोलीले पक्राउ गरेर ल्याएको हो। यद्यपि, प्रहरीले भने परिवार र जनप्रतिनिधिको दबाबमा उनलाई झिकाइएको दाबी गरेको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालले भने, ‘अंशुको अवस्था पत्ता लागेको केही दिनपछि उनी भारत गएका थिए, जसले शंकाको सुई उनीतिर सोझिएको थियो। हामीले उनलाई नियन्त्रणमा लिएर गहिरो अनुसन्धान गरिरहेका छौं।’
गत असोज २१ गते दिउँसो करिब २ बजे घरबाट निस्किएकी कक्षा ५ मा अध्ययनरत हँसिली स्वभावकी अंशु १८ दिनसम्म बेपत्ता थिइन्। खोजी गर्ने क्रममा घरबाट करिब साढे चार किलोमिटर टाढाको जंगलमा टाउको र शरीर छुट्टिएको तथा सडेको बीभत्स अवस्थामा उनको शव फेला परेको थियो।
घटनास्थलमा बालिकाले लगाएका ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालिएको अवस्थामा भेटिएको थियो। यस आधारमा प्रहरीले अनुसन्धानको सुई ‘बलात्कारपछि हत्या’ भएकोतर्फ सोझाएको छ। बालिकाले घटनाबारे अरूलाई भन्दिने डरले हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक आकलन छ। यद्यपि, प्रहरीले ‘बलात्कार’ नै भएको हो भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम रिपोर्ट अनुसार घरबाट हराएकै दिन (असोज २१ गते) अंशुको हत्या भएको देखिएको छ। शव पहिचानका लागि बुबा नविन गौतमले घटनास्थलमा भेटिएका कपडा र घडीबाट सनाखत गरेका थिए भने वैज्ञानिक पुष्टिका लागि आमाबुबाको डीएनए परीक्षणसमेत गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण