बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विभेद

घरभित्रै हरायो नेपाली महिलाको योगदान

आइतबार, २१ मङ्सिर २०८२, १३ : ३०
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • काठमाडौँका महिलाहरुको घरभित्रको श्रमलाई कामको रूपमा नलिइने समस्याको बारेमा चर्चा गरिएको छ।
  • महिलाहरुले घरको काम गर्दा व्यक्तिगत विकासमा पर्न गएको असर र यसलाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने कुरालाई जोड दिइएको छ।
  • अदृश्य श्रमलाई मान्यता दिनुपर्ने, महिलाको योगदानको कदर गर्नुपर्ने र यसलाई आर्थिक रूपमा मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

काठमाडौँ । काठमाडौँको चाबहिल चोकबाट अलिकति भित्र सर्लाहीकी सम्झना पौडेलले १० वर्षभन्दा बढी समयदेखि आफ्नो सानो संसार सम्हाल्दै आएकी छन् ।

पहिला सानो पसल चलाउने गरेकी उनी बिरामी परेपछि अहिले कोठामै सीमित छिन् । उनका श्रीमान् ट्याक्सी चलाउँछन् र उनको यही सानो परिवार ट्याक्सीको कमाइमा निर्भर छ ।

उठ्नेबित्तिकै कोठा सरसफाइ गर्ने, छोराछोरीलाई खाना बनाएर खुवाएर स्कुल पठाउनेसम्मका काममै सम्झनाको बिहानी बित्छ । ‘स्कुलका लुगा धेरै मैला हुन्छन्, धोइरहनुपर्छ,’ उनी भन्छिन्, ‘देख्नेले केही काम गर्दिन, कोठामै दिनभरि बस्छे भन्छन्, आफ्नो एकछिन पनि फुर्सद छैन ।’

लुगा धुने, भाँडा माझ्ने, कोठा सफा पार्ने उनको दैनिकी हो । कहिलेकाहीँ घरकै लागि किनमेल गर्न बजार जाँदा उनलाई भ्याइनभ्याइ हुन्छ । छोराछोरी हुर्किँदै गएर स–साना काममा सहयोग गर्न थालेपछि भने उनलाई अलिकति फुर्सद मिलेको छ, जुन समयमा उनी आफूले जानेको सिलाइको सिप तिखार्छिन् र परिवारका लागि सामान्य लुगाफाटा सिलाउँछिन् ।

महोत्तरी बर्दिबासकी रमा बस्नेतको कथा पनि सम्झनासँग मिल्दोजुल्दो छ । तीन वर्षअघि विवाह गरेर काठमाडौँ आएकी रमाका श्रीमान् पवन निजी कम्पनीमा जागिर गर्छन् । उनीहरूका एक सन्तान छन् । कक्षा १२ सम्म पढेकी रमा अझै पढ्न चाहन्छिन्, तर दुई वर्षको छोरा हुर्काउने जिम्मेवारीले उनलाई फुर्सद दिएको छैन । ‘छोरोलाई हुर्काउनै पर्‍यो । अब यसलाई हुर्काएपछि सोचौँला,’ उनी भन्छिन्, ‘पढ्न त मन छ । सक्छु होला, खै अब हेरौँ !’

रमाको दिनचर्या पनि घरकै काममा बित्छ । कहिलेकाहीँ मूलघरबाट सासूससुरा बिरामी भएर आउँदा उनलाई झनै भ्याइनभ्याइ हुन्छ । ‘हामीले उहाँलाई केयर नगरे कसले गर्छ ? अरू छोरा छैनन्,’ उनले भनिन् ।

घरका एक्ला छोरा पवन जागिरे भएकाले सासूससुरा र परिवारको सबै जिम्मेवारी रमामाथि आइपर्छ ।

सम्झना र रमा हाम्रो समाजको यथार्थ चित्रण गर्ने ती बुहारी हुन्, जसले आफ्नोभन्दा बढी परिवारको जिम्मेवारी बोकेका छन् । परिवार र सन्तानको हेरचाह, श्रीमानको ख्याल राख्नु उनीहरूका लागि पहिलो कर्तव्य बनेको छ । तर, उनीहरूको यो अथक कामको मूल्याङ्कन कत्तिको भइरहेको छ ? नेपाली समाजमा यस्ता सेवामूलक कामको कदर कसरी हुने गरेको छ ?

  • अदृश्य श्रमको व्यापकता तर बेवास्ता

सम्झना र रमाले काठमाडौँको सहरी समाजको प्रतिनिधित्व गर्छन्, जहाँ महिलाको घरेलु श्रमलाई ‘काम’को रूपमा गनिँदैन । ग्रामीण भेगमा त यस्ता महिलाको संख्या झनै ठुलो छ, जसले गर्ने घरायसी सेवामूलक कामको कदर भएको पाइँदैन । घर सफा पार्नु, सन्तानलाई पढाउनु, घाँस–दाउरा गर्नु, पानी–पँधेरो गर्नु, परिवारका सदस्यको स्याहारसुसार गर्नु, पाहुनाको सत्कारदेखि खाना बनाउने र भाँडा माझ्नेसम्मका अनगिन्ती काममा नेपाली समाजमा महिला नै अघि सर्ने गर्छन् । यी काम बिहानदेखि रातिसम्म निरन्तर चलिरहन्छन्, जसले गर्दा महिलाहरू सधैँ व्यस्त र थाकेका हुन्छन् । सार्वजनिक बिदा, चाडपर्व वा पारिवारिक जमघटहरूमा समेत महिलाहरूलाई झनै धेरै कामको चाप हुन्छ, जुन पुरुष सदस्यहरूमा बाँडफाँट नहुँदा अझ कठिन हुन्छ ।

यी दैनिक घरेलु कामको प्रत्यक्ष तलब वा पारिश्रमिक हुँदैन र यिनीहरूको आर्थिक मूल्याङ्कन पनि गरिँदैन । यसले गर्दा यस्ता कामको परिवार, समाज र सिङ्गो देशकै अर्थतन्त्र चलायमान हुन कति योगदान छ भन्ने महसुस गरिएको हुँदैन । यस्ता सेवामूलक कामविना घरमात्र होइन, समाज र राष्ट्रको सामान्य क्रियाकलापमै गम्भीर असर पर्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को तथ्याङ्कअनुसार विश्वभर लगभग ७ करोड घरेलु श्रमिक छन्, जसमध्ये ८० प्रतिशतभन्दा बढी महिला छन् । यो तथ्याङ्कले घरेलु श्रमको ठुलो हिस्सा महिलाले ओगटेको देखाउँछ र यसको धेरैजसो भाग अनौपचारिक र अदृश्य नै रहन्छ ।

अदृश्य श्रमको प्रभाव

महिलाहरूले घरपरिवारमा सेवामूलक कामको पूरै जिम्मेवारी लिइदिएकै कारण पुरुषहरू बढीजसो घरबाहिरको काम, आर्थिक क्रियाकलाप, आय आर्जन, रोजगारी, व्यापार, व्यवसाय, सहभागिता, नेतृत्व, सामाजिक वा राजनीति जस्ता क्रियाकलापमा सहभागी हुन पाएका छन् । यसले लैङ्गिक असमानतालाई झनै गहिरो बनाउँछ । पछिल्ला वर्षमा महिलाहरूको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सहभागिता बढ्दै गए पनि उनीहरूको घरभित्रको कार्यभार भने अझै पनि बाँडिन सकेको छैन ।

यसको प्रत्यक्ष असर महिलाको व्यक्तिगत विकासमा परेको छ । महिलाहरूले पढ्ने, सिक्ने, आफ्नो बारेमा सोच्ने, शारीरिक र मानसिक आराम लिने, घुम्ने, पत्रिका पढ्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, सोसल मिडिया हेर्ने, आफ्ना विचार भावनाहरू साटासाट गर्ने, नयाँ कुरा देख्ने, जान्ने वा भनौँ– रहर वा इच्छा पूरा गर्ने समय नै पाएका हुँदैनन् । यसले उनीहरूको स्वास्थ्य, शिक्षा र समग्र जीवनस्तरमा नकारात्मक प्रभाव पार्छ ।

नेपालमा महिला साक्षरता दर बढेको देखिए पनि ग्रामीण क्षेत्रमा अझै पनि धेरै महिला शिक्षाको अवसरबाट वञ्चित छन् । आर्थिक कमजोरी र परम्परागत मान्यताका कारण छोरीलाई पढाउनेतर्फ अभिभावकको अभिरुचि कम हुनु, घरधन्दामा सघाउनुपर्ने बाध्यता र सानै उमेरमा विवाह हुनुजस्ता कारणले महिलाको शैक्षिक विकासमा बाधा पुगेको छ ।

स्वास्थ्य सेवामा पहुँचको कमी र बारम्बारको गर्भाधानले महिला स्वास्थ्यलाई थप जोखिममा पारेको छ ।

  • नीतिगत खाडल र सामाजिक सोच

नेपालको संविधानले सबै नागरिकलाई समानताको हक प्रत्याभूत गरेको छ । महिला, अल्पसंख्यक र विपन्न वर्गका लागि विशेष अधिकारको व्यवस्था पनि संविधानमै छ । राष्ट्रिय लैङ्गिक समानता नीति, २०७७ मार्फत महिलाको सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरणलाई राष्ट्रिय विकासको केन्द्रमा राखिएको छ । संविधानको प्रस्तावनामा लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सङ्कल्प गरिएको छ ।

यति हुँदाहुँदै पनि घरभित्रको कामलाई ‘स्वाभाविक’ वा ‘महिलाको कर्तव्य’ भन्ने पितृसत्तात्मक सोचले गर्दा यो क्षेत्र नीतिगत रूपमा सम्बोधन हुन सकेको छैन ।

आफ्ना लागि आफैँ खानासमेत बनाउन नसक्ने वा नजान्ने पुरुषहरू परिवारबाटै तयार गरिँदा यो समस्या झन्–झन् ठुलो बनिरहेको छ । राष्ट्रिय लैङ्गिक समानता नीति, २०७७ को कार्यान्वयन कार्ययोजनाले लैङ्गिकमा आधारित श्रम विभाजनको परम्परा परिवर्तन गरी श्रम बजारमा महिलाको सहभागिता वृद्धि भई अर्थतन्त्रमा महिलाको योगदानको मूल्याङ्कन भएको हुने लक्ष्य लिएको छ, तर यस्ता लक्ष्य कार्यान्वयनमा आउनु अझै बाँकी छ ।

  • राजनीतिक नेतृत्व मौन

यसप्रति एमाले नेतृ तथा पूर्वशिक्षामन्त्री विद्या भट्टराईले सार्वजनिक रूपमै चासो राखेकी छन् । करिब डेढ महिनाअघि फेसबुकमा उनले लेखेकी थिइन्– ‘गृहिणी होइन, गृह व्यवस्थापन हो । महिलाहरूले गृह व्यवस्थापन गरेर नै परिवार सुखी भएको उदाहरण हामीसँग छ । यो महिलाहरूको सिप र कला हो । यो शब्दलाई होच्याउनु भनेको सम्पूर्ण महिलाहरूमाथि गरिने अवमूल्यन हो ।’

यदाकदा राजनीतिक तथा नेतृत्व तहबाट यस्ता विषय समेटिन्छन् । भट्टराईले पनि यसलाई मूल मुद्दाकै रूपमा चासो देखाएकी हुन् ।

तर, अन्य प्रतिष्ठित तथा सरकारी उच्च ओहोदामा रहेकाहरूबाट भने यस मुद्दालाई खासै स्थान दिइएको पाइँदैन । नेपालजस्तो महिला सशक्तीकरणको अभ्यास गर्दै गरेको देशमा महिलाहरूले गर्ने घरभित्रको काम अर्थात् सेवामूलक योगदानको विषयले खासै प्राथमिकता पाउने गरेको छैन । यद्यपि, संविधानले राज्यको नीतिअन्तर्गत घरआधारित कामलाई समेत आर्थिक योगदानका रूपमा गणना गरिने उल्लेख गरेको छ, जसको व्यावहारिक कार्यान्वयनको खाँचो छ ।

  • ‘सेवामूलक कार्यलाई अर्थतन्त्रसँग जोड्नुपर्छ’

घरायसी तथा सेवामूलक अर्थतन्त्रको महत्त्वलाई औपचारिक रूपमै उजागर गर्नुपर्ने आवाज पछिल्ला दिनमा भने जोडतोडले उठ्न थालेका छन् । यससँग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रम पनि बढ्न थालेका छन् । ‘केयर इकोनोमी’ अर्थात् सेवामूलक अर्थतन्त्र फैलिँदै गएकाले विकसित देशहरूझैँ महिला र पुरुषको समान सहभागिताले मात्र यो सम्भव हुन सक्ने बलियो तर्क अहिले बढ्न थालेको छ ।

‘केयर इकोनोमी’ विकसित देशहरूमा अर्थतन्त्रको ठुलो हिस्सा बनिसकेको अवस्थामा नेपालजस्ता कम विकसित देशहरूले भने यसलाई बुझाउन सकेका छैनन् । जापान, दक्षिण कोरिया, सिङ्गापुरजस्ता एसियाका विकसित देशहरूले ‘केयर इकोनोमी’ लाई बुझेका छन् र यसलाई आफ्नो राष्ट्रिय अर्थतन्त्रमा महत्त्व दिएका छन् ।

विश्व श्रम संगठनका अनुसार विश्वको करिब ६० प्रतिशत जनसंख्या अनौपचारिक क्षेत्रमा कार्यरत छन्, तर प्रायः उदयीमान र विकासोन्मुख देशहरूमा यस्तो अर्थतन्त्र बढी देखिन्छ ।

यद्यपि विकसित मुलुकका अर्थतन्त्रको समेत महत्त्वपूर्ण हिस्साको रूपमा अनौपचारिक अर्थतन्त्र रहेको पाइन्छ । नेपालको समग्र अर्थतन्त्रमा पनि अनौपचारिक अर्थतन्त्रको हिस्सा उल्लेख्य छ । कुल गार्हस्थ्य उत्पादनमा करिब ४३ प्रतिशत यस्तो अर्थतन्त्रको योगदान रहेको मानिन्छ ।

नेपालमा कृषि क्षेत्रमा संलग्न महिलाहरूको ठुलो संख्या आफ्नै परिवारको घरखेतमा काम गर्छन्, तर उनीहरूको श्रम र योगदानलाई गणना गरिँदैन । गरिबी, औपचारिक श्रम बजारभन्दा टाढा, शिक्षा र चेतनाको कमी र परिवारको जीवनयापनजस्ता कुराले उनीहरू बाध्यात्मक हिसाबले अनौपचारिक क्षेत्रमा काम गरिरहेका छन् । यस्तो क्षेत्रमा प्रवेश गर्न तुलनात्मक हिसाबले सहज हुने हुँदा महिलाहरूले यस्तो काममा रुचि राख्ने गर्छन् ।

  • अनौपचारिक अर्थतन्त्र

धेरैले अनौपचारिक अर्थतन्त्रलाई छाया अर्थतन्त्र, गैरकानुनी अर्थतन्त्र, कालो अर्थतन्त्र वा भूमिगत अर्थतन्त्र भने पनि यो त्यस्तो नभएको बताउँछन् त्रिभुवन विश्वविद्यालयका केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक शिवराज अधिकारी । ‘अनौपचारिक अर्थतन्त्र भनेको कुनै हिसाबले सरकारसँग नजोडिएको अर्थतन्त्र भनेर बुझ्नुपर्छ । नजोडिएको भन्नाले व्यक्तिगत लेखा नम्बरबाट होस् वा कुनै रजिस्ट्रेसनबाट होस् वा कुनै कर तिर्ने विधिबाट होस्,’ उनले भने, ‘कुनैबाट नजोडिएको भन्ने बुझ्नुपर्छ ।’

कृषि नेपालको अर्थतन्त्रको मूल क्षेत्र भए पनि मानिसहरू आफ्नै तवरले सक्रिय हुने गरेका र सरकारसँग नजोडिने उनी बताउँछन् । ‘मानौँ कसैले आफ्नै बारीमा साग उमारेर उपभोग गरेको रहेछ भने त्यो देशको कुल गार्हस्थ्य उत्पादनमा त जोडिन्छ तर अनौपचारिकमै रहन्छ । किनकि कृषि उत्पादन गर्दा दर्ता गर्नु पर्दैन वा त्यसबापत कर वा राजस्वका विषयमा जोडिएका हुँदैनन्, कुनै बीमा वा सामाजिक सुरक्षामा समाविष्ट गरिएको हुँदैन,’ उनले प्रस्ट पारे ।

  • सुरक्षा र अधिकारको सवाल

तर, घरेलु श्रमिक मञ्चकी अध्यक्ष मीना तिमिल्सिना भने सेवामूलक अर्थतन्त्रको विषय र यसको आर्थिक पाटो मात्र हेरेर नपुग्ने बताउँछिन् । उनका अनुसार देशभरका घरेलु कामदारको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । भन्छिन्, ‘हाम्रा हजारौँ दिदीबहिनीलाई पहिला त सुरक्षा दिनुपर्छ । उनीहरूलाई काम गर्ने वातावरण दिनुपर्छ ।’

घरेलु कामदारहरू, विशेषगरी वैदेशिक रोजगारीमा जानेहरू, श्रम शोषण र शारीरिक हिंसाको सिकार हुने गरेको तथ्य बारम्बार बाहिर आउने गरेका छन् । यसका लागि सरकारले घरेलु कामदारलाई उचित तालिम दिएर पठाउनुपर्ने र उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा तिमिल्सिना जोड दिन्छिन् ।

संयुक्त राष्ट्रसंघले घरेलु कामदारको अधिकारका लागि नयाँ महासन्धिअन्तर्गत समान सुरक्षा, समान व्यवहार र शोषणविरुद्ध संरक्षणको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

नेपाली महिलाहरूको अदृश्य श्रम र योगदानलाई स्वीकार नगरेसम्म, यसको आर्थिक मूल्याङ्कन नगरी र घरायसी कामको बोझ पुरुष र महिला दुवैले समान रूपमा बाँडफाँट नगरेसम्म समाजमा वास्तविक लैङ्गिक समानता हासिल गर्न सकिँदैन । यो केवल महिलाको मुद्दा मात्र नभई समग्र राष्ट्रको आर्थिक समृद्धि र सामाजिक न्यायको आधारस्तम्भ हो ।

अबको समय अदृश्य श्रमलाई दृश्यमान बनाई, त्यसको कदर गर्दै महिलालाई व्यक्तिगत र सामाजिक जीवनमा पूर्ण रूपमा सहभागी गराउने एउटा ठोस र निर्णायक कदम चाल्न आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धीरज देवकोटा
धीरज देवकोटा
लेखकबाट थप